कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिबका निम्ति कसैले त सोचोस्

काठमाडौँ — कान्तिपुरमा आइतबार प्रकाशित ‘गरिबका सबै कार्यक्रममा अनियमितता’ शीर्षक समाचार पढ्नुपर्दा बडो दुःख लाग्यो  ।

गरिबका निम्ति कसैले त सोचोस्

प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा देशमा चार आवधिक, एक मध्यावधि र दुई संविधानसभाका गरी सातवटा आमचुनाव भैसकेका छन् । यसका अतिरिक्त स्थानीय तहका तीन निर्वाचन सम्पन्न भएर हाल देशका सम्बद्ध सबै निकायमा निर्वाचित जनप्रतिनिधि विराजमान छन् । सबै राजनीतिक दलले गरिब जनताको हितखातिर राजनीति गरेको दाबी गर्दै आएका छन् । जनताकै लागि भनेर बेलाबेला ऊनीहरूले गरिबसँग विश्वेश्वर, ग्रामीण स्वावलम्बन कोष, गरिबी निवारण कोष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमजस्ता कार्यत्रम ल्याएका पनि छन् । तर यी सबैजसो कार्यक्रमबाट लाभान्वितचाहिँं सत्तासिन दलका आसेपासे र नातेदार भइरहेका छन् ।


प्रभावकारी अनुगमन नभएकै कारण राज्यको अर्बौं रकम बालुवामा पानी हालेसरह भएको छ । राजनीति सेवा होइन, पेसा भएको छ । ऐन–कानुनका कुन छिद्र प्रयोग गर्दा आफ्नो गोजी भरिन्छ भन्नेमा सबैतिरका नेता–कार्यकर्ताको ध्याउन्न रहने गरेको छ । यसले गरिब सधैं गरिब र धूर्त नेता–कार्यकर्ता सधैं धनी हुने गरेका छन् । हरेक निर्वाचनमा मेरो (झापा निर्वाचन क्षेत्र नं. ५, कमल गापा–२) टोलकी एउटी दलित महिला सूर्य चिह्नमै भोट खसाल्ने गर्छिन् । उनको परिवारमा आठ भोट छन्, स्थानीय तहका लागि ती निर्णायकजस्तै हुन्छन् । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र पनि हो यो । यो गाउँपालिकाको अध्यक्षमा सूर्य चिह्नवालाले नै जितेका हुन् । पञ्चायतदेखि नै अनवरत रूपमा वामपन्थीहरूलाई भोट हाल्दै आएकी ती महिलाले ठूलो वरको रुखमा ओत लागेर जीवन निर्वाह गरिरहेकी छन् । उमेरले ८१ नाघिसकेकी ती महिला केपी ओली प्रधानमन्त्री बन्दा निकै खुसी थिइन् । विडम्बना, उनी सधैं एकपेट खान र शरीर छोप्ने लुगा अनि ओतका निम्ति सबैलाई गुहार्दै रात परेपछि वरको रूखको फेदमुनि रात काट्न विवश छिन् । अरू बेला सबैजसोले उनलाई ‘दलित,’ ‘लाटीकी आमा,’ ‘मुसेकी आमा’ भन्दै नकार्ने गर्छन् । चुनावका बेला भने उनलाई ढोग्नेको लर्को लाग्छ । उनको उद्धारका निम्ति गाउँपालिका लगायत अन्य निकायमा गुहार मागे पनि कतै सुनुवाइ हुनसकेको छैन । ती महिला गरिब अपहेलनामा पर्ने गरेको यथार्थको एउटा दृष्टान्त मात्र हुन् । यस्ता निरीह जनताको संख्या दिनानुदिन बढिरहेको छ । गरिब भूमिहीन जनताका निम्ति राजनीति गरेको ठोकुवा गर्ने वामपन्थीहरूको शक्तिशाली सरकारलाई यिनीहरूको सारथी बन्नबाट केले रोकिरहेको छ ?
– यज्ञराज न्यौपाने, पेप्सिकोला, काठमाडौं

प्रकाशित : वैशाख ९, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?