कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्ध प्रहरीद्वारै बाटो अतिक्रमण

प्रहरीहरूले जे गर्दा पनि छुट दिने प्रवृत्तिले कानुनी राजलाई गिज्याउँछ  । त्यस्तै एक दृश्य बौद्ध प्रहरीमा देखिएको छ  ।

जसले प्रहरीप्रति प्रश्न उब्जाएको छ । महानगरीय प्रहरीको बौद्ध वृत्तले देखादेखी गल्ती गरेको छ । त्यसबारे बौद्ध जोरपाटीका जनताले प्रश्न गरेका छन् । बौद्ध प्रहरीले टाढाबाटै देखिनेगरी मुख्य बाटोको करिब १५ फिटजति मिची घर बनाएको छ । जसले गर्दा बौद्धनाथ छुने बाटो बढाउन सकिएको छैन । प्रहरीको दायाँ–बायाँ पर्ने सबैतिरको बाटोमा पर्ने घर पर्खाल सडक विभागले भत्काइसकेको छ । बौद्ध प्रहरीले अहिलेसम्म आफ्नो भवन भत्काएको छैन ।

प्रहरीको उक्त भवन देख्नासाथ आम बटुवा अगुवाले बाटो बिराएको टिप्पणी गर्छन् । सर्वसाधारणले बाटोमा परेको घर–पर्खाल भत्काउनुपर्ने तर प्रहरी प्राशसनले नपर्ने ? के प्रहरीलाई त्यो छुट र उन्मुक्ति कानुनले दिएको हो ? होइन भने सबैका घर भत्काइसक्दा बौद्ध प्रहरीको भवन किन भत्काउन सुरु नगरेको ? सरकारले चावहिलदेखि जोरपाटीसम्मको मुख्य सडकमा केन्द्रदेखि ११–११ मिटर खाली गरी बाटो बढाउने निर्णय गरेको छ । ९० प्रतिशत बाटो बनिसक्यो । बौद्ध प्रहरीले सरकारको ऊक्त निर्णयलाई चुनौती दिइरहेको छ । अरुलाई बाटो नमिच, अतित्रमण नगर, बाटोमा पर्ने घर भत्काइहाल भन्नुपर्ने प्रहरी स्वयम्ले सबैले देख्नेगरी कानुनको उल्लंघन गर्नु विडम्बना हो । यस्तो कार्यले अरुलाई कानुन पालना गर भन्ने नैतिक आधार प्रहरीसँग रहँदैन । यसले नकारात्मक सन्देश गइरहेको छ ।

– गोपाल देवकोटा, गोकर्णेश्वर– ८, काठमाडौं

प्रकाशित : वैशाख ३०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?