संसद्को मर्यादा राख

कान्तिपुर संवाददाता

संसद् बैठक प्रायः सधैं खाली देखिन्छ  । उपस्थित सांसदहरू खाली कुर्सीलाई आफ्ना र राष्ट्रिय समस्या सुनाउन बाध्य छन्  ।

सांसदहरू किन गैरजिम्मेवार हुँदै गइरहेका छन् ? उनीहरूमा नैतिक जिम्मेवारीको कमी वा सभामुखको कार्यक्षमताको कमी, के हो ? जसका कारण संसद् बैठक प्रायः खाली नै हुन्छ । चुनावका बेला जनताका घरदैलो पुगेर गरेका वाचातर्फ सांसदहरू किन संवेदनशील बन्न सकिरहेका छैनन् ? सांसदहरू जनताका नभई मात्र पार्टीका कार्यकर्ता बन्न पुगेका छन् तब त पार्टीले ह्वीप जारी गरेको समयमा बाहेक उनीहरूको संसद् बैठकमा मतलब भत्ताका लागि मात्र पुग्ने गरेका छन् । यो समस्या कसरी र कसले व्यवस्थापन गर्ने ? आगामी दिनमा उनीहरूको उपस्थितिलाई आधार बनाएर उनीहरूको तलब भत्ताको व्यवस्थापन गर्ने हो ? वा सभामुखले कानुनी हतियार देखाउने ? समाधान छिटो खोजिनुपर्छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आलु उत्पादन घट्याे

आलु उत्पादनमा आत्मनिर्भर तेह्रथुममा लामो खडेरी र असिना पानीले यस वर्षको खेतीमा क्षति
कान्तिपुर संवाददाता

तेह्रथुम — हिँउदे र बर्खे आलु उत्पादनमा आत्मनिर्भर भएको तेह्रथुममा यस वर्षको उत्पादन भने घटेको छ । आलु उम्रिने समयमा लामो खडेरी परेको र गोड्ने समयमा असिना आएर बोटमा क्षति पुर्‍याएकाले उत्पादन घटेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका ४ चित्रेमा आफू खन्दै किसान ।तस्बिर : चन्द्र कार्की/कान्तिपुर

कृषि ज्ञान केन्द्र र कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले किसानका खेतबारीमै पुगेर रोग प्रतिरोधात्मक र बढी उत्पादन दिने आलुका जात छनोट र खेतीका लागि सिफारिस गरिदिए पनि पर्याप्त सिंचाई सुविधा नहुँदा आलु उत्पादनमा गिरावट आएको किसानको भनाइ छ ।

लेकाली क्षेत्रमा बढी खेती हुने आलु बाली सिँचाइका लागि आकासे पानीको भर पर्नुपर्दा यो वर्ष उत्पादन घटेको टुटेदेउरालीका किसान भीम गुरुङले बताए । आलु उम्रिएपछिको खडेरी र गोडमेलको समयमा परेको असिनाले क्षति पुर्‍याएकाले उत्पादन घटेको उनले बताए ।

बारीमा आलु कम फलेकाले खेताला लगाएर दिनभर खन्दा पनि थोरै मात्र संकलन हुने गरेको किसानको भनाई छ । यो वर्ष जंगली जनावर दुम्सीले पनि आलु खाएर क्षति गरेको किसानले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लाबाट ६८ करोड ५१ लाख रुपैयाँभन्दा बढीको आलु उत्पादन भएर जिल्ला बाहिर निर्यात भएको थियो । गत वर्ष जिल्लामा ३४ हजार २ सय ५५ मेट्रिकटन आलु उत्पादन भएको थियो । यो वर्ष किसानले बढी क्षेत्रफलमा आलु खेती गरेको भए पनि उत्पादन भने घटेको कृषि प्राविधिक रामजुगन यादवले बताए ।

आलु उत्पादनमा पछिल्ला वर्ष तेह्रथुम आत्मनिर्भर हुँदै गएको थियो । तर यस वर्ष मौषम अनुकुल नभएकाले उत्पादनमा गिरावट आएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा ३० प्रतिशत आलु उत्पादन घटेको सम्पर्क कार्यालयले जनाएको हो ।

कृषि अनुसन्धान केन्द्र पाख्रीवासले तेह्रथुमसहित कोसीका पहाडी जिल्लाका किसानलाई आलु खेती तर्फ आकर्षित गर्न उच्च गुणस्तरको स्रोतबीउको प्रयोग, रोग अवरोधक जातको सिफारिस, जातीय शुद्धता, भौगोलिक अवस्थाअनुसार जातको छनोट लगायतका काममा किसानलाई सहयोग गरिरहेको छ । कृषि ज्ञान केन्द्रले खुमल रातो २, खुमल सेतो १, जनकदेव, आइपीवाई ८ र खुमल लक्ष्मी जातका आलु रोप्न किसानलाई प्रोत्साहित गरेको थियो ।

यी जातका आलु डढुवा रोग अवरोधी हुन् । तर कार्यालयले सिँचाइ प्रविधि तर्फ ध्यान पुर्‍याउन नसक्दा सोचे जस्तो उत्पादन लिन नसकिएको छथर गाउँपालिका आङदीमका किसान लक्ष्मण भट्टराईले बताए । आलुको बजार मूल्य राम्रो भएको र बिक्रीका लागि बजारको समेत समस्या नभएकाले धेरै किसान बर्खे आलुको व्यावसायिक खेतीमा लागेका छन् । कृषि ज्ञान केन्द्रले भू–बनोट र मौषमअनुसार खेती गरिने आलुको जात छनोट गरिदिए पछि किसानलाई सजिलो भएको छ ।

आव ०७०/७१ मा २ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरिएकोमा ०७५/७६ मा आइपुग्दा क्षेत्रफल बढेर २ हजार ९ सय हेक्टर पुगेको सम्पर्क कार्यालयले जनाएको छ । आलुको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको देखेर किसानलाई तालिम, उन्नत बीउ र रोगव्याधी नियन्त्रण जस्ता प्रविधि समेत सिकाइरहेको कार्यालयले जनाएको छ । कार्यालयले यो वर्ष किसानलाई आलुको बियाँबाट समेत खेती गर्ने प्रविधि र बीउ वितरण गरेको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT