कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वायुपंखी घोडाझैं विकासे दौड

मनसुनी वर्षा सुरु भएसँगै मुलुकभर विकासे दौडको होडबाजी चल्ने गर्छ  । आर्थिक वर्ष सुरु भएदेखि झन्डै ११ महिनासम्म सम्बन्धित पदाधिकारी कानमा तेल हालेर बस्ने प्रवृत्ति कहिल्यै रोकिन सकेन  ।

वायुपंखी घोडाझैं विकासे दौड

‘जब पर्‍यो राति, अनि बूढी ताती’ भनेझैं जेठ लागेपछि उनीहरूको चटारो सुरु हुन्छ । चाहे निर्माण क्रियाकलाप होस् या अन्य विविध कार्यक्रमको विषय नै किन नहोस्, अधिकांश कामको किनारा असारमा मात्र लाग्ने गर्छ । हतारमा गरिएका कतिपय कामले दुनियाँ हँसाउने गरेको सन्दर्भ पनि हामी भुल्न सक्दैनौं । स–साना गतिविधि र कागजी प्रक्रिया पुर्‍याएर जबर्जस्ती काम सकेको देखाउने गरेको सर्वसाधारणलाई थाहा पनि हुँदैन । कागजमा शतप्रतिशत प्रगति, उपलव्धि भने सधैं न्यून देखिनुलाई कागजी विकास नभनी के भन्ने ?


यही समयमा सडक निर्माण, सुधार, बिजुली, खानेपानी सम्बन्धी कामले बाक्लो बस्ती भएको काठमाडौं उपत्यकाजस्तो ठाउँ सधैं कोलाहालमय हुने गरेको पाइन्छ । समयमा पुग्ने हिसाबले घरबाट हतार–हतारमा निस्केका विद्यार्थी, कर्मचारी, अति जरुरी कामले हिंँडेका, बिरामी बोकेका सवारी साधन, एम्बुलेन्सको गन्तव्य सधैं अनिश्चित बन्ने गर्छ । पानी परेपछिको गाईजात्रा बयान गरिनसक्नुको हुन्छ ः घुँडासम्म आउने ढल मिसिएको फोहोर पानी, हिलो चिप्लो, नदेखिने खाडल र त्यहाँबाट उछिट्टिने पानीले सवारी चालक एवं पैदल यात्रुको बेहाल हुने गर्छ । वर्षात्को पानीमा गरेको पिच, साना–ठूला निर्माण कार्य छोटो समयमै बग्ने, तहस–नहस हुने यथार्थ हरेक वर्षदेखिने गरेकै हो । पानीले विध्वंस मच्चाएर सबैतिर तहस–नहस बनाएपछि नेपाल भ्रमण वर्ष २०२० को लागि निर्माण कार्यमा फेरि अर्बौं रुपैयाँ खर्च लाग्ने हेक्का सत्ताधारीमा नहुनु, आम जनताको मर्का नबुझी दुःख दिएर मख्ख पर्नु विडम्बना हो ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : असार २५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?