कसले कसलाई ढाँट्यो ?

कान्तिपुर संवाददाता

भारतीय राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई तरकारी तथा फलफूलको विषादी चेकजाँज नगर्नु भनी आएको पत्रबारे आफू अनभिज्ञ रहेको प्रधानमन्त्री ओलीको भनाइले संशय पैदा गराएको छ  । यस्ता महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीलाई समेत थाहा नदिने मन्त्रालयका कर्मचारीहरूले कसरी जिम्मेवारी निर्वाह गर्लान् ? प्रधानमन्त्रीलाई उनको सचिवालय, सल्लाहकारहरूका साथै मन्त्रालयका सचिवहरूले असहयोग गरिरहेका रहेछन् भन्ने प्रस्ट हुन्छ  ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उपहास गरेको र स्वेच्छाचारी ढङ्गबाट अगाडि बढ्न खोजेको यसले देखिन्छ । हुन त प्रधानमन्त्रीको कुरा त्यति धेरै सत्य हुँदैन । उनले अरूलाई उल्लु बनाएर आफू चोखिने बाटो खोजेका पनि हुन सक्छन् ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा
.....
प्रधानमन्त्री ओलीका भनाइ सुन्दा लाग्छ, देश माफियाले चलाइरहेका छन् । उनलाई चलाउने बलियो समूह छ । त्यही घेराभित्र उनी छन् । व्यक्तिगत स्वार्थले नै मानिस स्वार्थ समूहको घेरा बाहिर निस्कन सक्दैन । जहाँ गयो, ढाँट्न सिपालु ओलीको क्याबिनेटमा प्रायः उनीजस्तै ढँटुवा प्रवृत्तिका छन् । यस्तो कार्यशैलीले प्रधानमन्त्री ओलीलाई असफलतातर्फ धकेलिरहेको छ । काम नगर्ने, ढाँट कुरामात्र बढी गर्ने बानीले हानि बाहेक केही गर्दैन । आफ्नो चाकडी गर्ने बाहेक अरूलाई शत्रुझैं व्यवहार गर्ने, विपक्षीको कुरा नसुन्ने, तल्लो स्तरका गालीका कारण ओली अलोकप्रिय बन्दै गइरहेका छन् ।
– निश्चल नेपाल, मण्डन देउपुर–१०, काभ्रेपलाञ्चोक

प्रकाशित : असार २७, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

रिस कक्षाकोठाबाहिर

कान्तिपुर संवाददाता

सजायको नाममा शिक्षकले विद्यार्थीलाई मृत्यु नै हुनेगरी पिट्नु बालअधिकार हनन गर्नु हो  । बालबालिकालाई पिटेर अनुशासनमा राख्छु भन्नु मुर्खता हो  ।

मृत्यु नै हुनेगरी बालबालिकालाई पिट्नु संविधान विपरीत कार्य हो । बालबालिकालाई कुनै पनि किसिमको सजाय तथा यातनाबाट संरक्षण गर्नुपर्ने कुरा बालअधिकार महासन्धिमा उल्लेख छ । यसलाई सरकारले अनुमोदन गरेको छ । तर बालबालिकामाथि विभिन्न बहानामा हिंसा भइरहेका छन् । हिंसाकै कारण बालबालिकाको मृत्यु भएका समाचार आइरहन्छन् ।
ज्ञानको ज्योति देखाउने गुरुको पिटाइले शिष्यले मर्नुपर्ने अवस्था आउनु दुर्भाग्य हो । बालबालिकाको कलिलो दिमागले गरेका गल्तीमा ज्यानै जानेगरी कुटपिट गर्ने मूर्खहरूलाई के भन्ने ? आवेग, उत्तेजना र रिसको भुमरीले हैन, धैर्य र सहिष्णुताले बालबालिकालाई खुसी पार्न सक्नुपर्छ । पिटाइ वा सजायले बालबालिकालाई असर गर्छ । तिनले गल्ती नगर्ने होइनन्, गर्छन् । गल्ती गर्ने उमेरै हो, तिनको के दोष ? गलतै गरेको छ भने पनि सच्याउन लगाउने हो । कुट्ने, पिट्ने र ज्यानै लिने होइन । अनुशासनको नाममा घरमा, विद्यालयमा या कुनै पनि स्थानमा बालबालिकालाई यातना दिने काम आपराधिक मनोवृत्ति हो । त्यसैले बालबालिकालाई राम्ररी पढाऊ । किन पिट्छौ ? सजाय दिन र पिट्न बन्द गर ।
– गोविन्द विक, कपन, काठमाडौं

प्रकाशित : असार २७, २०७६ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्