कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेहाल बाटो

केही दिनको अध्ययन भ्रमणपछि म शनिबारमात्र चितवनको चेपाङ बस्तीबाट फर्केको छु  । इच्छाकामना गाउँपालिका पुग्न पृथ्वी राजमार्गको हुग्दी बजारबाट कच्ची मोटर बाटोमा करिब १५ किलोमिटर यात्रा गर्नुपर्छ  ।

यस पहाडी क्षेत्रको मुख्य केन्द्र हात्तीबाङ बजार हो । हुग्दीबाट हात्तीबाङसम्म नियमित गाडी चल्छन् । सडकको अवस्था भने राम्रो छैन । निकै जोखिम मोल्दै जिप तथा साना ट्रकहरू चल्छन् । यात्रुहरू ठाउँ–ठाउँमा ओर्लेर गाडी हलुको नबनाएसम्म उकालो चढ्न कठिन छ । बाटो चिप्लो हुँदा त झनै तनाव । बिहीबार र शुक्रबारको अविरल वर्षाले १५ किमिमा कम्तीमा चार दर्जन ठाउँमा बाटो भत्किएको छ । जिपहरू बल्ल–बल्ल पास हुन्छन्् । यस्तोमा यात्रा गर्दा कुनै पनि बेला दुर्घटना निम्तिन सक्छ । थाहा हुँदाहुँदै यात्रा जारी छ । एउटा बाध्यता । सबैलाई दुई–तीन किमि हिँड्न पनि नसक्ने बानी बसेको छ । पहाडी कच्ची सडकको अवस्था भने कम्तीमा असार, साउन र भदौमा ढुक्क हुने खालका छैनन् ।


बर्खायाममा बाटोले धोका दिनसक्छ भन्ने थाहा हुँदाहुँदै पनि हाम्रो ध्यान गएको छैन । इच्छाकामनामा मात्र होइन, लगभग सातै प्रदेशका सबै नगर तथा गाउँपालिकामा यो लागू हुन्छ । सबैको ध्यान जानुपर्ने मूलपक्ष यी हुन् :


१) सडक बनेपछि पहिलो काम नाली बन्नुपर्ने हो, किन भएन ?
२) बाटोमा जथाभावी डोजर र स्काभेटर चलाउँदा जमिन थर्किएर भूस्खलनको सम्भावना बढेको छ । यसमा ख्याल कहिले गर्ने ?
३) सडकको माथिल्लो भागमा ‘स्लोप मेन्टेन’ गर्न सकियो भने माटो खस्न कम हुन्छ र पैह्रो नियन्त्रण पनि धेरै हदसम्म हुनसक्छ । यसतर्फ ध्यान कहिले जाने ?
४) सडकको कुनै भागमा हल्का क्षति हुनासाथ उही समयमा मर्मत–सम्भार गर्न सकियो भने क्षतिको दर घटाउन सकिन्छ । तर किन जहाँ पनि ‘धेरै भत्कियोस्’ भनेर पर्खने ठेकेदारी प्रथा बढ्दै छ ?
५) स्थानीय तहमा बनेका उपभोक्ता समितिहरू पनि ठेक्कापट्टा सम्पन्न गर्नतर्फ मात्र उन्मुख छन् । किन आफ्नो बाटो भनेर माया गर्न छाडे ?
डोजरमुखी कागजी स्थानीय उपभोक्ता समिति बनाएर झारा टार्ने विकासे कामको अन्त्य नगरेसम्म हाम्रा सडक अझ बिग्रेर जानेछन् । धनजनको क्षति अझ बढ्नेछ ।
– चेतनाथ हरित, नयाँबानेश्वर, काठमाडौं–३

प्रकाशित : असार ३०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?