कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेडिकल शिक्षामा मनपरी

‘जनताको छोराछोरीबाट लेखिएको समाजवाद उन्मुख संविघानले निशुल्क स्वास्थ्य शिक्षालाई मूलमन्त्र मानेको छ  ।

मेडिकल शिक्षामा मनपरी

नागरिकका अभिभावक बन्नुपर्ने संविघानका पहरेदार भने संविघानको मर्म कुल्चेर स्वास्थ्यशिक्षा धराशायी बनाउन तल्लिन छन् । मेडिकल कलेजमा वर्षौंदेखि भइरहरेका विकृतिबारे नियमनका लागि आवाज उठ्दा पनि जिम्मेवार पक्ष पन्छिरहेको छ । अगुवाहरूले बाटो बिराएको सन्दर्भमा एक मेडिकल विद्यार्थीले भोगेका धरातलीय यथार्थ लेख्दैछु ।

शुल्क सम्बन्धमा
माथेमा कार्यदलको सुझाव अनुरुप एमबीबीएसमा ३८ लाखदेखि ४२ लाखसम्म लिन पाउने प्रतिवेदन सरकारलाई बुझाइएपछि म हाम्रो कलेजको नयाँ सत्रमा भर्ना हुनआएका विद्यार्थीको अवस्था बुझ्न गएको थिएँ । मेरै अगाडि आएको फोनमा कलेजका कर्मचारीले एक अभिभावलाई भने, ‘आउनुहोस् न मिलाएर गरौंला ।’ पछि थाहा भो, प्रतिविद्यार्थी होस्टेल अनि खाना बाहेक ६२ लाखसम्म लिइएको रहेछ । अझ सरकारले कोटा घटाएको बहानामा प्रत्येक वर्ष सकिएपछि अतिरिक्त १ लाख शुल्क बुझाउनैपर्ने बाध्यकारी नियम भर्ना भइसकेपछि विद्यार्थीलाई जानकारी दिइएछ । सरकारको निर्देशनलाई पैतालामुनि राखेर निजी मेडिकलहरू आफैं शीर्षक बनाई पैसा असुल्दै आइरहेका छन् । विद्यार्थीबाट सम्भव भएसम्म एकमुष्ट रकम लिने अनि तोकिएको समयमा नदिए चर्को ब्याज दिएमात्र परीक्षामा सामेल गराउने हर्कतले अनावश्यक यातना दिन्छ । सरकारबाट पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीबाट यो वा त्यो बहानामा अतिरिक्त शुल्क तिर्न दबाब आइरहन्छ ।

अध्यापन सम्बन्धमा
पूर्णतः प्रयोगात्मक हुनुपर्ने मेडिकल पढाइमा १५० जनासम्मलाई एउटै कक्षामा राखेर पढाइएको मैले भोगेको छु । एनाटोमी पढ्न अपरिहार्य हुने क्याडाबरको संख्या चाहिनेजति कहिल्यै पाइएन । विद्यार्थी अनुपातको बिरामी अनुगमनको बेलामा बाहेक कहिल्यै देखिएन । न्यून संख्यामा रहने प्राध्यापकहरूले समयमै कोर्स नसकाउँदा आफैं पढेर परीक्षामा सामेल हुनुपर्ने हरेकको नियति नै छ । मेडिकल कलेज सञ्चालनका निम्ति चाहिने प्राध्यापकको केवल अनुगमनका क्रममा ल्याइन्थे । यस्ता विषयमा आवाज उठाए छानी–छानी प्रयोगात्मक परीक्षामा फेल पारिदिने चलन छ ।

अन्य समस्या
नजिकै घर भएका विद्यार्थीलाई पनि होस्टेल बस्नैपर्ने कलेजको बाध्यकारी नियमले अभिभावकलाई थप आर्थिक भार परिरहेको छ । कलेजको हाताभित्र खोलिएका पसलमा बाहिरको तुलनामा दुई गुना बढीसम्म मूल्य राखिन्छ र त्यहींबाट सामान किन्न बाध्य पारिन्छ । । विद्यार्थीसँग अर्बौं उठाउने कलेज एमबीबीएसको अन्तिम वर्षताका गरिने इन्टर्नसिपमा कम पैसा दिएर २४ घन्टासम्म काममा खटाउँछ ।

समाधान
केही वर्ष पहले मेडिकल कलेजमा हुने गरेका अनियमिताबारे समाजमा चर्चा कमै हुन्थो । डा.केसीको आन्दोलनले चिकित्सा क्षेत्रका विकृति बाहिर आउने क्रम अझै जारी छ । जिम्मेवार निकायले गम्भीर पहलकदमी नलिएसम्म विद्यार्थीले अनुभूत गर्ने खालको परिवर्तन आउन मुस्किल छ । मेडिकल कलेजले विद्यार्थीसँग असुलेका अवैध रकम महिना दिनभित्र फिर्ता गर्ने सहमति भएको भनी पाँच महिना बढी भैसक्यो, तर उपलब्धि शून्य छ । मेडिकल शिक्षा अनुगमन गर्ने शक्तिशाली आयोगमा उही विवादित व्यक्तिलाई बसाउने रवैयाले सुधारका बाटो पहिल्याउन अझै कुर्नुपर्ने संकेत गर्छ । डा.केसी अनशन बस्ने बित्तिकै एकजुट हुने समाजले अरु बेलामा पनि दबाब सिर्जना नगर्दा सरकार लगामबिना दौडिरहेको छ । सेवाभाव लिएर मेडिकल क्षेत्रमा प्रवेश गरेमा विद्यार्थीलाई लुट्न सिकाउने कलेजमाथि अनुसन्धान गरी खारेजीसम्म जानसके त्यो चिकित्सा क्षेत्र सुधारको कोशेढुंगा हुने थियो ।
– सुदन अधिकारी, मेडिकल विद्यार्थी

प्रकाशित : असार ३०, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?