कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यमन्त्री कता छन् ?

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव जुनसुकै सरकारमा अटाउन सक्ने फरक क्षमता भएका सदाबहार नेता हुन्  । तर यसपालि उनले ठोस काममा उदासीनता र लापरबाहीका कारण असफल मन्त्रीको संज्ञा पाएका छन्  ।

उनले मन्त्रालय सम्हालेयता स्वास्थ्य क्षेत्र झन् थला पर्दै गएको छ । संघीय संरचनामा स्वास्थ्य परिभाषित हुनसकेको छैन । उनी मन्त्रालयमा भन्दा देशभित्र र बाहिर पार्टी कार्यक्रमहरूमा समय बिताइरहेका छन् । जबकि स्वास्थ्य क्षेत्र अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । बालबालिकाको खोप, औषधि वितरण, स्वास्थ्य बिमा कार्यक्रम, बाल तथा आमा सुरक्षाजस्ता संवेदनशील कार्यक्रम तीव्रतासाथ अघि बढ्नसकेका छैनन् । स्वास्थ्य मन्त्रालय स्वास्थ्यकर्मी समायोजनको प्रक्रिया, हेल्थ असिस्टेन्ट, नर्स, अहेवको माग लगायतका अनेक विवाद र असन्तुष्टिले मुछिएको छ ।


चिकित्सा शिक्षा सुधारको माग लिएर अनशन बसेका डा. केसीसँगको सम्झौता कार्यान्वयनमा समेत मन्त्री यादवको अरुचि देखिन्छ । संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हक माने पनि जनस्वास्थ्य ऐनअनुसार नियमावली बन्नसकेको छैन । प्रजनन स्वास्थ्य सम्बन्धी ऐन, प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिकाको हालत उस्तै छ । निर्मूल भइसकेका रोगहरू स्वास्थ्य क्षेत्रमा बेथितिका कारण पुनः फैलिन थालेका रिपोर्टहरू प्रकाशित भएका छन् । क्षयरोग, कालाजर, कुष्ठरोग, दादुरा इत्यादि ट्र्याक बाहिर गइसकेका छन् । बालबालिकाको खोप पहुँच र भिटामिन एको कार्यक्रम पनि निष्प्रभावी हुँदै गएको तथ्यांकहरूमा उल्लेख छ ।
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

प्रकाशित : श्रावण ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?