कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयको उपकुलपति कस्तो हुनुपर्छ ?

भदौ ५ मा हाम्रा सातवटा विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिँदैछ  । राजनीतिक भागबन्डाभन्दा बाहिर बसेरका नयाँ जोश र जाँगरका सक्षम व्यक्तिलाई उक्त पदमा नियुक्ति गर्नुको साटो फेरि पनि दलीय भागबन्डाको कसरत सुरु भएको छ  ।

पुरानै सोच र प्रवृत्ति भएका व्यक्तिहरू यी विश्वविद्यालयको विकासमा नयाँपन देखाउन असमर्थ भैसके । त्यो हामीले देखिसक्यौं, भोगिसक्यौं । सरकारले उपकुलपति चयन गर्न शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । आकांक्षी व्यक्तिहरूले भने राजनीतिक दलसम्बद्ध नेताकोमा दौडधुप तीव्र पारेको देखिँदैछ । यहाँ काम गर्ने सक्षम व्यक्तिभन्दा चाकडी बढी गर्नेको कदर भैरहेको देखिन्छ । यस पटक विश्वविद्यालयमा त्यस्तो नहोस् । सधैं भागबन्डामै महत्त्वपूर्ण संस्था चलाउने हो भने प्रतिभाशाली र नयाँपन पस्कने सोच राख्ने व्यक्तिले कहिले स्थान पाउने ? भागबन्डामा नियुक्ति खानेले जहिल्यै दलकै सोझो गरेको देखिन्छ । विश्वविद्यालय
बनाउन चिन्तन गरेको देखिँदैन ।
कुनै राजनीतिक आस्था भएको व्यक्ति उपकुलपतिमा आउनै हुँदैन भन्ने कदापि होइन । उनीहरू स्वच्छ छवि भएका, इमानदार र सक्षम भने हुनुपर्छ । विश्वविद्यालय कुनै राजनीतिक दलको भ्रातृ संस्था होइनन् । जनताको करबाट सञ्चालित सार्वजनिक संस्था हुन् । यी संस्थाहरू भताभुङ्ग हुँदा आम नागरिकको मन दुख्छ । विगतमा राजनीतिक नियुक्तिको चलन चल्यो होला । तर नराम्रो कामलाई निरन्तरता किन दिने ? अबबाट केही नयाँ र राम्रो काम थाल्दा हुँदैन र ?
– सुन्दर शर्मा, उपप्राध्यापक


विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीमा नियुक्तिमा राजनीतिक हस्तक्षेप नहोस् भन्ने सबैको चाहना छ । विश्वविद्यालयको अभिभावक उपकुलपति भएकाले उक्त पदको नियुक्तिमा सरकार गम्भीर हुनुपर्छ । देशलाई शिक्षा क्षेत्रका विकृतिहरूलाई पहिचान गरी निर्मूल गर्न सक्ने उपकुलपति चाहिएको छ । औद्योगिक क्रान्ति ४.० को चुनौतीहरू बुझेको र र भोलिको शिक्षा कस्तो हुनुपर्छ, जानेको दूरदृष्टि भएको व्यक्ति उपकुलपति बनाइनुपर्छ । उपकुलपति तथा अरु पदाधिकारी छनोट गर्दा अन्य देशका प्रख्यात विश्वविद्यालयहरूमा हुने प्रक्रियालाई अवलम्बन गर्नुपर्छ । ‘बोर्ड अफ ट्रस्टी’ बनाएर छनोट प्रक्रिया अघि बढाउनुपर्छ । राजनीतिक हस्तक्षेपबाट बचाउन बोर्ड अफ ट्रस्टी सक्षम हुनुपर्छ । यसको भूमिकाबारे उच्चशिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि प्रस्ट उल्लेख छ ।
– प्रा.मनिष पोखरेल, काठमाडौं विश्वविद्यालय, धुलिखेल

प्रकाशित : भाद्र ३, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?