कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा निरन्तर हिमपात (फोटोहरु)

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा निरन्तर हिमपात भइरहेको छ । मंगलबार अपरान्हदेखि भएको हिमपात रोकिएको छैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका बस्ती, सडक, गोरेटो तथा घोडेटो बाटोमा साढे १ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

माथिल्लो मनाङको बस्तीमा साढे १ फिट हिउँ जमेको होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलाशबाबु तिवारीका अनुसार माथिल्लो क्षेत्र जान आएका पर्यटक हिमपातका कारण रोकिएका छन् । ‘मौसममा सुधार नभएसम्म सुरक्षाको दृष्टिकोणले गन्तब्यमा नजान पर्यटकलाई आग्रह गरेका छौं,’ उनले भने ।

पछिल्लो समय पुस २३ गतेदेखि हिमपात नभएकोमा मंगलबार अपरान्हदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार जिल्लाका सवै भागमा हिउँ परेको छ । तल्लो क्षेत्रको नासों गाउँपालिकास्थित धारापानीसम्म हिउँ परेको छ । चिसोका कारण साँझबिहान समेत तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । राति माइनस १८ डिग्रीसम्म झरेको छ ।

हिमपातपछि चामेदेखि माथिल्लो मनाङ सम्मको बाटो अवरुद्ध छ । धारापानी क्षेत्रदेखि चामेसम्म पनि सवारी आवागमन हुन नसकेको उनले बताए । ‘हिमपातको समय नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना र सबै सरकारी कार्यालयलाई सतर्क रहन निर्देशन गरिसकेका छौं । हिमाली भेगमा हिमपात पनि एउटा प्रकोप हो,’ उनले भने ।

तस्बिर सौजन्यः ब्रिज गुरुङ/एक्याप मनाङ

प्रकाशित : माघ ९, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्