कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ल्होछार महोत्सव सुरु [फोटोफिचर]

विना थापा

कास्की — मञ्जुश्री सम्वत् २८५५ औँ सोनाम ल्होसारको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा प्रथम ल्होसार महोत्सव सुरु भएको छ । झ्या ल्हो (चरा वर्ग) पूरा भएर  फाग ल्हो (बँदेल वर्ग) को सुरुवात भएको अवसरमा ल्होछार (नयाँ वर्ष) महोत्सवको आयोजना गरिएको हो ।

आयोजक तामाङ घेदुङ संघ नालामुख पोखरा भए पनि केन्द्र, जिल्ला र सबै एकाइको सहकार्यमा पहिलो पटक महोत्सवको रूपमा मनाउन लागेको सङ्घका अध्यक्ष लगुराम तामाङले बताए । तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको तामाङले जानकारी दिए । 

जनजाति म्युजियम, तामाङ संस्कृतिसँग सम्बन्धित स्टल र विभिन्न जनजातिको भेषभुषा झल्कने सामग्रीहरूको प्रदर्शन गरिने कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिए । त्यसैगरि घरमा प्रयोग गरिने सामानको स्टल, बाल उद्यान, विभिन्न प्रकारका फुड स्टल समेत रहने तामाङले बताए । 

महोत्सवमा लोकदोहोरी, विद्यालय स्तरीय नृत्य, कमेडी नृत्य, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य लगायतका प्रतियोगिता रहेका छन् । कलाकारहरूको लोकदोहोरी, पप आधुनिक कन्सर्ट समेत रहने छन् । कार्यक्रमको उद्घाटन तामाङ घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले गरेका थिए । 

महोत्सव सुरु हुनु अघि पोखराको चिप्लेढुङगादेखि झाँकी सहित आफ्नै भेषभुषामा सजिएर निस्किएको र्‍यालीमा सहभागीहरू महेन्द्रपुल हुँदै नयाँबार महोत्सवस्थलमा पुगेका थिए । महोत्सव ९ दिनसम्म चल्नेछ ।    

प्रकाशित : माघ १९, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्