ठडियो य, र, ल, व

दामोदर न्यौपाने, तस्बिर : इलिट जोशी

काठमाडौँ — बज्रायानी दर्शनमा य र ल व को अर्थ छ । यही दर्शनको आधारमा काष्ठमण्डका चार थाम राखिएका छन् । यी चार थाम आइतवार ठड्याइएको छ । वैदिक र तान्त्रिक पुजा गरेर यसलाई ठड्याइएको हो । काष्ठमण्डपको थाम र गजुरलाई विशेष रुपमा लिइन्छ । वैदिक विधि अनुसार बज्रयानी सम्प्रदायका बज्रचार्य र तान्त्रिक पुजा राजोपाध्यायले गरेका थिए । संस्कृतिविद् यज्ञमान पति बज्राचार्यका अनुसार य, र, ल, व को प्रयोग भएको थियो काष्ठ मण्डपमा । य को अर्थ हावा हो । र अर्थ आगो, ल को अर्थ माटो (पृथ्वी) र व अर्थ पानी वा तरलता हो । हावा नचली आगो बल्दैन । आगो नबली भाँडा तात्दैन । भाँडो नतानी पानी उम्लिदैन । ‘हावामाथि आगो, आगोमाथि भाँडो, भाडोमाथि पानी, पानीमाथि हावा,’ बज्राचार्य भन्छन्, ‘हावाबाट हावै बन्यो । हाम्रो चुल्होको सिद्धान्त पनि यही । बज्रायानी सिद्धान्त पनि यही हो ।’


प्रकाशित : माघ २७, २०७५ १८:४७

नेपाली वर्णमालामा ३६ वटा अक्षर हुन्छन् । हरेक अक्षरको एउटा आदर्श छन् बज्रयानी दर्शनमा । क देखि ज्ञ सम्मकै अर्थ छन् । ३६ वटा अक्षरको ज्ञान भएपछि निपुण भइन्छ । ‘पहिला विहारमा यही पढाइ हुन्थ्यो,’ बज्राचार्य भन्छन्, ‘अहिले हरायो ।’हनुमानढोका दरबार क्षेत्रको देगुतले मन्दिर अगाडी तयार पारिएको थाम बोकेर काष्ठमण्डप लगिएको थियो । काष्ठमण्डप गद्दि बैठक अगाडी मरु टोलमा पर्छ । चार वटा थाम नेवार समूदायका चार जातीले बोकेका थिए । परम्परागत शैलीमै थाम बोकिएको थियो । नेवार समूदायका सबै जात जाती जम्मा भएर बाजागाजा सहित थाम बोकिएको थियो ।

चारवटा थाम लाकासीमा अड्याइन्छ । लाकासी भनेको एक ढुंगाले अर्काे ढुंगालाई जोडिन्छ । यो पिँधमा हुन्छ । यो आधुनिक निर्माण विधिमा टाइप विम जस्तै हो । लाकासीमा प्वाल खोपिएको हुन्छ । त्यो प्वाललाई इलो भनिन्छ । त्यही प्वालमा थामको चुकुल राखिन्छ । काष्ठमण्डप भत्कनुको मुख्य कारण जीर्णाेद्वार गर्दा ध्यान नदिएर हो । इलोमा राख्दा काठ कुहिंदैन । लाकासीमा समस्या भएर हो । २०२३ सालमा जिर्णोद्वार गर्दा लाकासीको इलोमा चुकुल राख्न छुटाइएको थियो । ‘त्यही भएर भत्कियो,’ पुरातत्वविद सुदर्शनराज तिवारी भन्छन्, ‘हाम्रा चुकुल प्रणाली बलिया छन् । राम्रोसँग मिलाएर नराखेर मात्रै यी भत्किएका हुन् ।’ जिर्णाेद्वार गर्दा यसको मौलिकता मासिएको थियो । कतै सिमेन्ट प्रयोग भएका थिए । कतै माटोको साटो चुना सुर्की प्रयोग भएका थिए । जगमा समेत सिमेन्ट हालिएको पाइयो छ । ‘पहिला भएका गल्ती पनि हामी यो बेला सच्याउदै छौँ,’ काष्ठमण्डप पुर्ननिर्माण समितिका संयोजक राजेश शाक्य भन्छन्, ‘यो पुर्ननिर्माणको बेला हो । सच्याउने बेला हो । विगतमा भएका गल्ती समेत सच्याउने मौका हो यो । हामी यो मौकाको सदुपयोग गरेर काष्ठमण्डपलाई नमुना बनाउने योजनामा छौँ ।’

Citizen

काष्ठमण्डप माटोको जडानले बनेको हो । अहिले पनि त्यही जडानमै बनाउन लागिएको शाक्यले जानकारी दिए । समितिले माटो झिक्ने ठाउँ पनि खोजिसेको छ । यसका लागि ताहाचालमा माटो भेटिएको शाक्यले जानकारी दिए । ‘किर्तिपुर, इचकुनारायण, सितापाइला लगायत ठाउँमा खोजियो,’ शाक्यले भने, ‘काष्ठमण्डपमा प्रयोग भएको जस्तो माटो ताहाचालमा भेटियो ।’यहाँ कस्तो माटो प्रयोग भएको रहेछ भनेर प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘माटो, बालुवा र मसिनो बालुवको मिश्रणले बनेको पाइयो,’ शाक्य भन्छन्, ‘माटोबाट छिंडी, चोटो र बुइगल गरी चार तले घर बलियो हुन्छ । सिमेन्टको भन्दा पनि बलियो हुन्छ माटोको घर । राज्यले नीति राम्रो नबनाएर मात्रै हो हाम्रो प्राचीन निर्माण सामग्री बलियो छैन भनियो । परीक्षण गर्ने हो भने चार तलासम्मको लागि हाम्रा प्राचीन निर्माण सामग्री बलिया छन् ।’काष्ठमण्डपमा जुन इँटा प्रयोग भएका थिए, त्यही स्वरुपको राख्ने योजना समितिले बनाएको छ । काष्ठमण्डपमा सादा इँटा प्रयोग भएका थिए । यहाँ प्रयोग भएकै जस्तो इँटा दक्षिण बाराही इँटा भट्टालाई दिइएको छ । उपत्यकामा प्राचीन इँटा बनाउने भट्टा यही हो । ‘२२/१५ र ५ सेमीको इँटा प्रयोग भएका रहेछन्,’ शाक्य भन्छन्, ‘यही साइजका बनाउन दिएका छौं ।’

काष्ठमण्डप ‘मरु सत्तल’ को नामले चिनियो । काष्ठमण्ड मात्रै हैन, योसँग बनेको डबली पनि ‘मरु दबु’ को नामले चिनियो । काष्ठमण्डपसँगै बनेका ढुंगेधारा पनि मरुहिटी का नामले चिनिए । नेवारी भाषामा मरु भनेको छैन हो । ‘यो मरुसँग बज्रयानी संप्रदायको दर्शन जोडिएको छ,’ बज्राचार्य भन्छन्, ‘केही पनि छैन भन्नुको अर्थ त्यहाँ दर्शन छ । केहीपनि छैन भन्नु बज्रयानी दर्शन हो ।’ बौद्ध धर्मभित्र हिनयान, बज्रयान र महायान गरी तीन वटा संप्रदाय छन् । त्यसमध्ये काष्ठमण्डको निर्माता लीलाबज्र बज्रयान संप्रदायका हुन् । ‘काष्ठमण्डप बनाउँदा यही बज्रयान दर्शन प्रयोग भएको छ,‘ बज्राचार्य भन्छन् । केही पनि छैन भन्नुको अर्काे अर्थ यसको लम्बाइ, चौडाइ उचाइ सबै बराबर छ भन्ने पनि हो । यसको लम्बाइ, चौडाइ र उचाइ ३६ हात छ । जगको इँटा पनि ३६ सोलकै छन् । यो सत्तल बनाउँदा ३६ अंकलाई प्राथमिकता दिइएको छ । ‘यो पनि बज्रयानी दर्शन हो,’ बज्राचार्य भन्छन्, ‘३६ लाई महत्व दिनु पनि बज्रयानी सिद्धान्त हो ।’ यही य, र, ल, व खम्बामा अडिएको थियो काष्ठमण्डप । चार वटा ठूला खम्बामा अडिएको थियो । यो खम्बाले धानेको थियो । ‘शक्ति लडेपछि सबै लड्यो,’ बज्राचार्य भन्छन्, ‘अरु मन्दिरका केही भाग रहे । तर काष्ठमण्डप तलैदेखि गयो ।’

वसन्तपुर क्षेत्रको मात्रै नभइ उपत्यकाकै पुरानो सम्पदा हो काष्ठमण्डप । । तीन तले यो सत्तल सातौं शताब्दीमा बनाएको मानिन्छ । बज्राचार्यका अनुसार यति बेला यो ठाउँमा बस्ती बसेकै थिएन । पुरानो वस्ती साँखु हो । साँखुबाट कोही पनौती गए । कोही बनेपा गए । कोही भक्तपुर आए । कोही काठमाडौंको विशालनगर आए । विशालनगरमा आगलागी भएपछि अहिलेको वसन्तपुर क्षेत्रतिर वस्ती बढेको बज्राचार्य बताउँछन् । ‘त्यतिबेलाको अग्लो घर यही थियो, बज्राचार्य भन्छन्, ‘उपत्यकाको चारैवटा भञ्जाङबाट देखिन्थ्यो काष्ठमन्डप ।’ बज्राचार्यका अनुसार त्यतिबेला नेपाली कागजको विकास भइसकेको थियो । औषधीयुक्त गुण भएको हड्तालले कागजलाई मोर्दा रहेछन् । त्यस्तो कागजमा डायरी लेख्ने चलन रहेछ । ‘त्यतिबेला डायरी लेख्ने चलन रहेछ,’ बज्राचार्य भन्छन्, ‘डायरीमा म फलानो ठाउँमा बस्ने, पलानो काम गरें भनेर लेख्दा रहेछन् । त्यही डायरीको आधारमा काष्ठमन्डपको इतिहास पत्ता लागेको हो ।’काष्ठमण्डप बनेपछि अग्ला संरचना बनाउने होडबाजी चल्न थाल्यो । महेन्द्र मल्लले तलेजु भवानी मन्दिर बनाए । धार्मिक रुपमा बेजोड नुमना हो तलेजु भवानी । पृथ्वीनारायण शाहले नौ तले दरबार बनाए । भीमसेन थापाले धरहरा बनाए । पश्चिमा सभ्यताको परिचय दिने यो धरहरा भीमसेन स्तम्भ भनेर पनि चिनियो ।

एउटै रुखको काठबाट बनेको यो सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । नेपाल भाषा एकेडेमीका प्राज्ञ यज्ञमान पति बज्राचार्यका अनुसार राम्रो जति काठको काष्ठमण्डप बनाइयो । नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेवारी भाषामा ‘सिखों’ भन्छन् । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ । त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’ बज्राचार्य भन्छन् । काष्ठमण्डप बनाएर पनि काठ अझै सकिएन । बाँकी रहेको काठले अर्काे सत्तल बन्यो । त्यो हो— सिंल्य सत्तल । नेवारी भाषामा सिं भनेको काठ र ल्य भनेको बाँकी हो । सिंल्य सत्तल काष्ठमण्डपको दक्षिणतिर छ । यो सत्तल भुकम्प आउनु अघि नै जिर्णाेद्वार भइरहेको थियो । भुइँचालोले यो भने भत्किएन । ‘यो सत्तलको काम अहिले पनि भइरहेको छ,’ श्रेष्ठले भने ।

सिंल्य सत्तल बनाएर पनि थुप्रै काठ बाँकी बस्यो । त्यो बाँकी बसेको काठपछि काम लाग्ला भनेर काष्ठ मण्डपकै छेउमा पुरे । त्यहाँ डबली (दबु) बनाए । त्यो दबु मञ्चका रुपमा प्रयोग हुन्छ । यसलाई ‘मरु दबु’ पनि भनिन्छ । भुइँचालो आएपछि संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले निरीक्षण गर्‍यो । ‘विशेष क्यामेराले हेर्दा ५ मिटर तल काठ देखियो,’ बज्राचार्य भन्छन्, ‘त्यतिबेला काठ गाडेको थियो भनेर इतिहासमा लेखिएको कुरा पुष्टि भयो ।’

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिप दुर्घटनामा गर्भवतीसहित १३ जना घाइते

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, २ भतवतीतर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको बोलेरो जीप रगुगंगा-३ पिप्लेको बगैंचामुनी घुम्तीमा सडकबाट तल खस्दा गर्भवती महिला सहित जिपमा सवार १३ यात्रु घाइते भएका छन् । 



दुर्घटनामा गम्भीर घाइते रघुगंगा गाउपालिका–३ पिप्लेकी सरस्वती (काली) दमिनी लाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा रिफर गरिएको छ। परियारको अन्दाजी ३५ हप्ताको गर्भ रहेको अस्पतालले जनाएको छ।

‘घाईतेमध्ये एक महिलाको करङहरु भाँचिएर फोक्सोमा गाडिएको र छातीभित्र रक्तश्राप भैरहेकाले अवस्था गम्भीर छ’ बेनी अस्पतालका डा. नवराज बास्ताकोटीले भने, ‘गम्भीर घाईते महिलाको भिडियो एक्सरे हेर्दा उनी ३२ देखि ३५ हप्ताको गर्भवती हुन।’

दुर्घटनामा परी जललजा गाउँपालिकाकी २२ वर्षीया सृजना जिसी र उनका १ वर्षीय छोरा आभान जिसी, बेनी नगरपालिका–८ की दुर्गा पौडेल, रघुगंगा–२ भतवतीका कर्णबहादुर कार्की, आरोसी घर्ती, डिलबहादुर सार्की, सम्झना भण्डारी, गोविन्द शर्मा, रघुगंगा–३ पिप्लेका राजकुमारी मल्ल, सजनी मल्ल, सरोज बस्याल र चालक गोपी परियार छन्। घाइतेहरुको अवस्था सामान्य रहेको बेनी जिल्ला अस्पतालले जनाएको छ।

‘दुर्घटनाको कारण खुलेको छैन। उकालो र चिप्लो सडकमा गाडीले लोड थेग्न नसकेको वा ब्रेक फेल भएको अनुमान गरेका छौं। चालक घाइते रहेकोले सोधपुछ गर्न बाँकी छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर गुरुङले भने, ‘जिप सडकदेखी करिब एक सय मिटर तल झरेर रुखमा अल्झेको छ।’

प्रकाशित : माघ २७, २०७५ १७:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT