कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठडियो य, र, ल, व

दामोदर न्यौपाने, तस्बिर : इलिट जोशी

काठमाडौँ — बज्रायानी दर्शनमा य र ल व को अर्थ छ । यही दर्शनको आधारमा काष्ठमण्डका चार थाम राखिएका छन् । यी चार थाम आइतवार ठड्याइएको छ । वैदिक र तान्त्रिक पुजा गरेर यसलाई ठड्याइएको हो । काष्ठमण्डपको थाम र गजुरलाई विशेष रुपमा लिइन्छ । वैदिक विधि अनुसार बज्रयानी सम्प्रदायका बज्रचार्य र तान्त्रिक पुजा राजोपाध्यायले गरेका थिए । संस्कृतिविद् यज्ञमान पति बज्राचार्यका अनुसार य, र, ल, व को प्रयोग भएको थियो काष्ठ मण्डपमा । य को अर्थ हावा हो । र अर्थ आगो, ल को अर्थ माटो (पृथ्वी) र व अर्थ पानी वा तरलता हो । हावा नचली आगो बल्दैन । आगो नबली भाँडा तात्दैन । भाँडो नतानी पानी उम्लिदैन । ‘हावामाथि आगो, आगोमाथि भाँडो, भाडोमाथि पानी, पानीमाथि हावा,’ बज्राचार्य भन्छन्, ‘हावाबाट हावै बन्यो । हाम्रो चुल्होको सिद्धान्त पनि यही । बज्रायानी सिद्धान्त पनि यही हो ।’

नेपाली वर्णमालामा ३६ वटा अक्षर हुन्छन् । हरेक अक्षरको एउटा आदर्श छन् बज्रयानी दर्शनमा । क देखि ज्ञ सम्मकै अर्थ छन् । ३६ वटा अक्षरको ज्ञान भएपछि निपुण भइन्छ । ‘पहिला विहारमा यही पढाइ हुन्थ्यो,’ बज्राचार्य भन्छन्, ‘अहिले हरायो ।’हनुमानढोका दरबार क्षेत्रको देगुतले मन्दिर अगाडी तयार पारिएको थाम बोकेर काष्ठमण्डप लगिएको थियो । काष्ठमण्डप गद्दि बैठक अगाडी मरु टोलमा पर्छ । चार वटा थाम नेवार समूदायका चार जातीले बोकेका थिए । परम्परागत शैलीमै थाम बोकिएको थियो । नेवार समूदायका सबै जात जाती जम्मा भएर बाजागाजा सहित थाम बोकिएको थियो ।

चारवटा थाम लाकासीमा अड्याइन्छ । लाकासी भनेको एक ढुंगाले अर्काे ढुंगालाई जोडिन्छ । यो पिँधमा हुन्छ । यो आधुनिक निर्माण विधिमा टाइप विम जस्तै हो । लाकासीमा प्वाल खोपिएको हुन्छ । त्यो प्वाललाई इलो भनिन्छ । त्यही प्वालमा थामको चुकुल राखिन्छ । काष्ठमण्डप भत्कनुको मुख्य कारण जीर्णाेद्वार गर्दा ध्यान नदिएर हो । इलोमा राख्दा काठ कुहिंदैन । लाकासीमा समस्या भएर हो । २०२३ सालमा जिर्णोद्वार गर्दा लाकासीको इलोमा चुकुल राख्न छुटाइएको थियो । ‘त्यही भएर भत्कियो,’ पुरातत्वविद सुदर्शनराज तिवारी भन्छन्, ‘हाम्रा चुकुल प्रणाली बलिया छन् । राम्रोसँग मिलाएर नराखेर मात्रै यी भत्किएका हुन् ।’ जिर्णाेद्वार गर्दा यसको मौलिकता मासिएको थियो । कतै सिमेन्ट प्रयोग भएका थिए । कतै माटोको साटो चुना सुर्की प्रयोग भएका थिए । जगमा समेत सिमेन्ट हालिएको पाइयो छ । ‘पहिला भएका गल्ती पनि हामी यो बेला सच्याउदै छौँ,’ काष्ठमण्डप पुर्ननिर्माण समितिका संयोजक राजेश शाक्य भन्छन्, ‘यो पुर्ननिर्माणको बेला हो । सच्याउने बेला हो । विगतमा भएका गल्ती समेत सच्याउने मौका हो यो । हामी यो मौकाको सदुपयोग गरेर काष्ठमण्डपलाई नमुना बनाउने योजनामा छौँ ।’

काष्ठमण्डप माटोको जडानले बनेको हो । अहिले पनि त्यही जडानमै बनाउन लागिएको शाक्यले जानकारी दिए । समितिले माटो झिक्ने ठाउँ पनि खोजिसेको छ । यसका लागि ताहाचालमा माटो भेटिएको शाक्यले जानकारी दिए । ‘किर्तिपुर, इचकुनारायण, सितापाइला लगायत ठाउँमा खोजियो,’ शाक्यले भने, ‘काष्ठमण्डपमा प्रयोग भएको जस्तो माटो ताहाचालमा भेटियो ।’यहाँ कस्तो माटो प्रयोग भएको रहेछ भनेर प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘माटो, बालुवा र मसिनो बालुवको मिश्रणले बनेको पाइयो,’ शाक्य भन्छन्, ‘माटोबाट छिंडी, चोटो र बुइगल गरी चार तले घर बलियो हुन्छ । सिमेन्टको भन्दा पनि बलियो हुन्छ माटोको घर । राज्यले नीति राम्रो नबनाएर मात्रै हो हाम्रो प्राचीन निर्माण सामग्री बलियो छैन भनियो । परीक्षण गर्ने हो भने चार तलासम्मको लागि हाम्रा प्राचीन निर्माण सामग्री बलिया छन् ।’काष्ठमण्डपमा जुन इँटा प्रयोग भएका थिए, त्यही स्वरुपको राख्ने योजना समितिले बनाएको छ । काष्ठमण्डपमा सादा इँटा प्रयोग भएका थिए । यहाँ प्रयोग भएकै जस्तो इँटा दक्षिण बाराही इँटा भट्टालाई दिइएको छ । उपत्यकामा प्राचीन इँटा बनाउने भट्टा यही हो । ‘२२/१५ र ५ सेमीको इँटा प्रयोग भएका रहेछन्,’ शाक्य भन्छन्, ‘यही साइजका बनाउन दिएका छौं ।’

काष्ठमण्डप ‘मरु सत्तल’ को नामले चिनियो । काष्ठमण्ड मात्रै हैन, योसँग बनेको डबली पनि ‘मरु दबु’ को नामले चिनियो । काष्ठमण्डपसँगै बनेका ढुंगेधारा पनि मरुहिटी का नामले चिनिए । नेवारी भाषामा मरु भनेको छैन हो । ‘यो मरुसँग बज्रयानी संप्रदायको दर्शन जोडिएको छ,’ बज्राचार्य भन्छन्, ‘केही पनि छैन भन्नुको अर्थ त्यहाँ दर्शन छ । केहीपनि छैन भन्नु बज्रयानी दर्शन हो ।’ बौद्ध धर्मभित्र हिनयान, बज्रयान र महायान गरी तीन वटा संप्रदाय छन् । त्यसमध्ये काष्ठमण्डको निर्माता लीलाबज्र बज्रयान संप्रदायका हुन् । ‘काष्ठमण्डप बनाउँदा यही बज्रयान दर्शन प्रयोग भएको छ,‘ बज्राचार्य भन्छन् । केही पनि छैन भन्नुको अर्काे अर्थ यसको लम्बाइ, चौडाइ उचाइ सबै बराबर छ भन्ने पनि हो । यसको लम्बाइ, चौडाइ र उचाइ ३६ हात छ । जगको इँटा पनि ३६ सोलकै छन् । यो सत्तल बनाउँदा ३६ अंकलाई प्राथमिकता दिइएको छ । ‘यो पनि बज्रयानी दर्शन हो,’ बज्राचार्य भन्छन्, ‘३६ लाई महत्व दिनु पनि बज्रयानी सिद्धान्त हो ।’ यही य, र, ल, व खम्बामा अडिएको थियो काष्ठमण्डप । चार वटा ठूला खम्बामा अडिएको थियो । यो खम्बाले धानेको थियो । ‘शक्ति लडेपछि सबै लड्यो,’ बज्राचार्य भन्छन्, ‘अरु मन्दिरका केही भाग रहे । तर काष्ठमण्डप तलैदेखि गयो ।’

वसन्तपुर क्षेत्रको मात्रै नभइ उपत्यकाकै पुरानो सम्पदा हो काष्ठमण्डप । । तीन तले यो सत्तल सातौं शताब्दीमा बनाएको मानिन्छ । बज्राचार्यका अनुसार यति बेला यो ठाउँमा बस्ती बसेकै थिएन । पुरानो वस्ती साँखु हो । साँखुबाट कोही पनौती गए । कोही बनेपा गए । कोही भक्तपुर आए । कोही काठमाडौंको विशालनगर आए । विशालनगरमा आगलागी भएपछि अहिलेको वसन्तपुर क्षेत्रतिर वस्ती बढेको बज्राचार्य बताउँछन् । ‘त्यतिबेलाको अग्लो घर यही थियो, बज्राचार्य भन्छन्, ‘उपत्यकाको चारैवटा भञ्जाङबाट देखिन्थ्यो काष्ठमन्डप ।’ बज्राचार्यका अनुसार त्यतिबेला नेपाली कागजको विकास भइसकेको थियो । औषधीयुक्त गुण भएको हड्तालले कागजलाई मोर्दा रहेछन् । त्यस्तो कागजमा डायरी लेख्ने चलन रहेछ । ‘त्यतिबेला डायरी लेख्ने चलन रहेछ,’ बज्राचार्य भन्छन्, ‘डायरीमा म फलानो ठाउँमा बस्ने, पलानो काम गरें भनेर लेख्दा रहेछन् । त्यही डायरीको आधारमा काष्ठमन्डपको इतिहास पत्ता लागेको हो ।’काष्ठमण्डप बनेपछि अग्ला संरचना बनाउने होडबाजी चल्न थाल्यो । महेन्द्र मल्लले तलेजु भवानी मन्दिर बनाए । धार्मिक रुपमा बेजोड नुमना हो तलेजु भवानी । पृथ्वीनारायण शाहले नौ तले दरबार बनाए । भीमसेन थापाले धरहरा बनाए । पश्चिमा सभ्यताको परिचय दिने यो धरहरा भीमसेन स्तम्भ भनेर पनि चिनियो ।

एउटै रुखको काठबाट बनेको यो सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । नेपाल भाषा एकेडेमीका प्राज्ञ यज्ञमान पति बज्राचार्यका अनुसार राम्रो जति काठको काष्ठमण्डप बनाइयो । नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेवारी भाषामा ‘सिखों’ भन्छन् । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ । त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’ बज्राचार्य भन्छन् । काष्ठमण्डप बनाएर पनि काठ अझै सकिएन । बाँकी रहेको काठले अर्काे सत्तल बन्यो । त्यो हो— सिंल्य सत्तल । नेवारी भाषामा सिं भनेको काठ र ल्य भनेको बाँकी हो । सिंल्य सत्तल काष्ठमण्डपको दक्षिणतिर छ । यो सत्तल भुकम्प आउनु अघि नै जिर्णाेद्वार भइरहेको थियो । भुइँचालोले यो भने भत्किएन । ‘यो सत्तलको काम अहिले पनि भइरहेको छ,’ श्रेष्ठले भने ।

सिंल्य सत्तल बनाएर पनि थुप्रै काठ बाँकी बस्यो । त्यो बाँकी बसेको काठपछि काम लाग्ला भनेर काष्ठ मण्डपकै छेउमा पुरे । त्यहाँ डबली (दबु) बनाए । त्यो दबु मञ्चका रुपमा प्रयोग हुन्छ । यसलाई ‘मरु दबु’ पनि भनिन्छ । भुइँचालो आएपछि संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले निरीक्षण गर्‍यो । ‘विशेष क्यामेराले हेर्दा ५ मिटर तल काठ देखियो,’ बज्राचार्य भन्छन्, ‘त्यतिबेला काठ गाडेको थियो भनेर इतिहासमा लेखिएको कुरा पुष्टि भयो ।’


प्रकाशित : माघ २७, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्