कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाले खुलाए थोराङ्ला

आश गुरुङ

लमजुङ — हिमपात केही मत्थर भएको थियो । फेब्रुअरी २४ तारिख (फागुन १२) मा एक हुल युवा थोराङला भञ्ज्याङ (५,४१६ मिटर उचाई) खुलाउन माथिल्लो मनाङबाट त्यसतर्फ हिँडे ।

मनाङबाट याकखर्क हुँदै बेसक्याम्प पुगेका उनीहरु हाइक्याम्पबाट उकालो लाग्दै थिए । एक्कासी हिमपात भएपछि उनीहरु थोराङला भञ्ज्याङ पुग्न सकेनन् । हिमपात भइरहकै समय ५ दिनपछि गाउँ फर्किए । त्यही टोली २ सातापछि आइतबार मनाङबाट निस्किए । १४ जना युवासँगै ११ जना पर्यटक र एकजना पथ प्रदर्शक पनि गए । युवाहरु अघिअघि, पर्यटक पछिपछि गए ।


आइतबार उनीहरु याकखर्क पुगे । दोस्रो दिन थोराङला फेदी । तेस्रो दिन हाइक्याम्प पुगे । तेस्रो दिन नै उनीहरु हाइक्याम्पबाट माथिल्लो क्षेत्रसम्म पुगे । पुनः फर्केर हायक्याम्पमै बसे । चौथो दिन मंगलबार उनीहरु थोराङला पास गरेर मुक्तिनाथ पुगेको कर्म दोर्जे गुरुङले बताए । उनीहरुले सावेल लिएर गएका थिए । केहीले लट्ठी लिएर गएका थिए । 'बाटोमा हिउँ छेंड्न नसक्नु थियो । कति ठाउँमा साबेलले फाल्यौं । कति ठाउँमा हातखुट्टैले हिउँ फाल्यौं,' उनले भने । हिँड्ने बाटो रेकी गर्दै गएपछि पर्यटक पनि त्यही बाटो पछ्याउँदै आएको उनले बताए । कर्मसँगै गएका ढोक्पा गुरुङ, लन्डुप गुरुङ, बीसबहादुर गुरुङ लगायत युवा जोमसोमबाट पोखरा भएर बेंसीसहर हुँदै मनाङ फर्किने क्रममा छन् ।


गत माघ ९ गतेदेखि चक्रीय अन्नपूर्ण पदमार्गको थोराङला भञ्ज्याङ बन्द भएको थियो । सयौं पर्यटक फर्किएका थिए । हिमपातका कारण पदमार्ग बन्दका समय माघ २१ र २२ गतेबाहेक अरु समय पर्यटकले थोराङला पास गर्न सकेनन् । उनीहरु बीचबाटोबाटै फर्किन बाध्य भएका थिए । डेढमहिनापछि खुलेको थोराङला पास हुँदै सोमबारदेखि पर्यटक मुस्ताङतर्फ जान थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए ।













सबै तस्बिर सौजन्यः कर्म दोर्जे गुरुङ
प्रकाशित : फाल्गुन २९, २०७५ १३:३५

प्रतिक्रिया
पठाउनुहोस्