कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिसिद्धिमा देवी नाच [तस्बिरहरु]

प्रशान्त माली

ललितपुर — मुलुकका हिमाली र पहाडी क्षेत्रमा होली मनाउँदा हरिसिद्धिमा भने बुधबार हरिसिद्धि भवानी देवी नाच देखाइएको छ । हरिसिद्धि भवानी देवीका पुजारी ८२ वर्षीय राइटर महर्जन, छुस्याः, पोंगा बाजा बजाउने ५६ वर्षीय शालिकराम महर्जन र ६९ वर्षीय नारायण महर्जन निधारमा तिलक, शिरमा बेताली (देवगणले लगाउने टोपी), शरीरमा द्यः अनि धुजी लं (विषेश प्रकारको लुगा) लगाएको अवस्थामा भेट भए ।

उनीहरु जस्तै देवगणको भूमिका खेल्ने अन्य २६ जना गुठीयार पनि उस्तै भेषमा थिए । पुजारी महर्जन भन्छन्, 'हरिसिद्धिका देवगणले जात्रा पर्वका बेलामात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्य पर्वको रुपमा लिने गर्दछन् ।' उनका अनुसार नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ । त्यस १८ भागमा दृश्य देखाइन्छ ।

'नाचको प्रारम्भ जोडीबाट हुन्छ,' उनले भने, 'जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् ।' नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाकः (काठको ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाकःमा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।

अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । 'यस नाचमा सन्तान नहुने भक्तजनमध्ये जसले पहिलो पटक देवता ढोक्न सफल हुन्छ । उसको छोरा पाउने जनविश्वास रहेको पुजारी महर्जनले बताए । त्यसैले तमन्ना द्योको दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ । ठेचोकी गीता महर्जनको माइती हरिसिद्धि हो । उनी प्राय: प्रत्येक वर्ष व्रत बस्न हरिसिद्धि पुग्ने गर्छिन् । यस पटक पनि व्रत बसेकी उनी भन्छिन्, 'तनमनले व्रत बसेमा मनोकांक्षा पूरा हुन्छ ।' नाचमा गुरु वाल्मीकी र शिष्य भारद्धाजको भेषमा पनि नृत्य देखाइयो । ब्राम्हण (बुद्धिसेन) को नाचमा परम्पराअनुसार दात माझेको र नुहाएको अभिनय पनि नाचमार्फत देखाइयो ।

यस नाचलगतै महादेव अवतरण भयो । ब्राह्मणलाई विक्रमादित्य राजाका मन्त्री वीरसेन (बुद्धिसेन) मानेको दृश्य देखाइयो । पुजारी भन्छन्, 'नाचमार्फत परम्परागत रीतिथिती बुझ्न सकिन्छ ।' एक शक्तिस्वरुपा देवीको पूजाआराधना गरेमा सबैको कल्याण हुनेमा उनको विश्वास छ ।काठमाडौंमा मनाइने इन्द्रजात्रामा पुलु किसी (स्वर्गका राजा इन्द्रको बहान एरावत् हात्ती) को नाच देखाइन्छ । हरिसिद्धि पनि हात्तीको नाच देखाइन्छ । हरिसिद्धिमा इन्द्रको बहानको रुपमा नभई महादेव र धिन्चो माजु (देवता)ले हात्तीलाई धपाएको अभियनको रुपमा नृत्य प्रस्तुत गर्छन् । यसका लागि डबलीमा निलो मुकुट गाढा नीलो शरीर भएको हात्तीको साथमा पहेलो मुकुटमा सिकुचा नाम गरेको महादेव र धिन्चो माजु प्रवेश गर्छन् । त्यसपछि सेतो मुकुटको कौमाद्य (महादेव) र रातो मुकुटको अग्निदेवताको नृत्यमा अग्नि देवताले कौमाद्यः लाई पच्छ्याउदै नृत्य देखाइन्छ । अनि राजासिंह, मन्त्री, नारदको नृत्य हुन्छ । महर्जन भन्छन्, 'यो विक्रमादित्यमाथि विजय प्राप्त गर्ने विषयमा त्रिशूलधारी नारद आइपुगी सहमति जनाएको दृश्य हो । त्यसपछि विश्वमित्र ऋषि कुटीमा यज्ञ गरिरहेको, रामले पहरा दिइरहेको र यज्ञको गन्धले कुटीतिर आएको मारीच राक्षस आएको दृश्य देखाइन्छ । अनि राम र राक्षसबीच भएको युद्ध हुन्छ ।' अन्तमा सुग्रीवले बाली वध गरेको, नारदले सुग्रीव र ताराको पुनः विवाह गरिदिएको र मालीले माला ल्याई हनुमानलाई दिएको दृश्य नाचमार्फत देखाइएको छ । नाच वाद्य वादनमा दमोखिं, प्वांगा, भुस्याहा, छुस्याहा र ताः हुन्छ । नाच प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा देखाइन्छ ।तस्बिर : अनिश रेग्मी

प्रकाशित : चैत्र ६, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्