कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

तरकारी बोकेका गाडीमा मध्यराति अनुगमन

राजु चौधरी

काठमाडौँ — पाछिल्लो समय बजारमा तरकारीको भाउ उच्च बिन्दुमा पुगेको छ । बजार मूल्य अनुगमन तथा नियन्त्रण गर्ने जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण विभागको तथ्याङ्क अनुसार अहिले गोलभेडाको मूल्य ५ वर्षयताकै बढी हो ।

व्यवसायीले भारतको लोकसभा निर्वाचनका कारण मूल्य बढेको बताउँदै आएका छन् । सरकारी निकाय भने मूल्य बढ्नु रहस्यमय भएको तर्क गर्छन् । राजधानीको कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । उक्त बजारमा दैनिक ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ । मूल्य अचाक्ली बढेपछि आइतबार राति विभागको अनुगमन टोलीले विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मुख्य नाका थानकोट चेकपोष्टमा विशेष अनुगमन गरेको छ । आइतबार राति १० देखि ४ बजेसम्म भएको अनुगमनमा तरकारी बोकेका करिब २० वटा ट्रकमा जाँच गरेको छ ।

अनुगमनका क्रममा व्यवसायीहरुले विगतकै कैफियत दोहोर्याउदै आएको पाइएको छ । 'सबैको कैफियत प्रकृति एउटै छ । साविक बिलबिजक जारी भएको छैन । किसानबाट कतिमा खरिद भयो । त्यो तरकारी कहाँ कतिमा बिक्री हुन्छ, बिलबिजक नै छैन,' अनुगमन टोली सयोजक एवं निरीक्षण अधिकृत पवन प्याकुरेलले भने, 'बिलबिजक नै जारी नहुँदा किसान र उपभोक्ता ठगिने देखिन्छ ।'

व्यवसायीहरुले आफ्नो सूचनाका लागि तरकारीको परिमाण मात्रै सानो डायरी -कपी)मा लेख्ने गरेको पाइएको छ । केहीले तरकारी व्यवसायीको नाममा जारी भएको सामान्य इस्टमिट बिल मात्रै लिएका छन् । यसले किसानसँग कौडीको भाउमा उठाउने र उपभोक्तालाई बढी मुल्य असुल्ने मनसाय देखिने अनुगमन सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

'पूरै आपरदर्शी व्यवसाय भएको छ । किसानबाट उठाएएर ल्याएका छन् । बिचौलिया भए पनि आफूलाई किसान दाबी गर्दै आएका छन्,' तिमिल्सिनाले भने, 'बिचौलिया हावीले बजारमा समस्या देखियो । कुन किसानबाट खरिद र कहँा कतिमा बिक्री गर्ने जानकारी नै छैन ।'

चालकहरुका अनुसार किसानले राम्रो काक्रोको प्रतिकिलो मूल्य ३० र अलि बिग्रेको १० रुपैया पाउँछन् । तर, कालीमाटीमा काक्रोको मुल्य ६५ रुपैया निधारण गरिएको छ । कालीमाटीभन्दा बाहिरको पसलमा करिब ८०/९० रुपैयामा बिक्री हुँदै आएको छ ।

किसान पनि बिचौलियका तह धेरै हुदाँ समस्या भएको बताउँछन । 'हामीले कतिमा बिक्री गरेको केही जानकारी हुँदैन । प्रतिकिलो ३०/४० मा बिक्री भएको तरकारी आफै खरिद गर्दा ५०/६० रुपैया किलो पर्छ । उपत्यकामा १ सय रुपैयासम्म बेच्छन् भन्ने सुनेका छौ,' मध्यरातमा तरकारी बोकेको ट्रकसँगै आएकी धुनिबेशी २-छत्रदेउराली भगवती मोक्क्तानले भनिन्, 'विभिन्न तहमा बिचौलियाले नाफा खान्छन् । त्यसैले उपभोक्तालाई महंगो र किसानलाई सस्तो ।'


प्रकाशित : जेष्ठ ६, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्