खोटाङमा यसरी मनाइयो धान दिवस (तस्बिरहरु)

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औं धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोलेबारी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो ।

प्रकाशित : असार १५, २०७६ १९:१६

धान दिवसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतका विभिन्न कार्यालय प्रमुखहरु सहभागी भएका थिए । नगरप्रमुख रिजालले जोत्नुका साथै धान रोपेर दिवस मनाएका हुन् । नगर उपप्रमुख राईले धान रोप्नुका साथै हिलो खेलेर रमाइलो गरिन् ।

असारे भाकाको साथमा बालबालिकादेखि तन्नेरी र पाकाहरु समेत रमाएका छन् । यो वर्ष लामो खडेरीले धान रोपाइ प्रभावित भएकाले धान रोपाइ हुन सकेको छैन । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार यो वर्ष १० प्रतिशत मात्र धान रोपिएको छ । जिल्लामा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अर्गानिक अभियान सुरु गरेकाले रसायनिक मल भन्दा कम्पोष्ट मल प्रयोग गर्न नगरप्रमुख रिजालले अनुरोध गरे । ‘नगरक्षेत्र अर्गानिक बन्ने भएकाले रसायनिक मललाई विस्थापित गर्दै कम्पोष्ट मल प्रयोगमा जोड दिनुपर्छ ।’ नगरपप्रमुख रिजालले भने,‘यसका लागि कम्पोष्ट मल उत्पादनको चरणमा पुगेको छ ।’ नगरप्रमुख रिजालले थपे,‘अब पाँच वर्षभित्र नगरपालिका पूर्ण रुपमा अर्गानिक हुने छ ।’

दिवसकै अवसरमा कोलेबारी कृषि सहकारी संस्थालाई नगरप्रमुख रिजालले कृषि आधुनिक औजार हस्तान्तरण गरेका छन् । कम्माइन मेसिन (धान, मकै, कोदो पिस्ने), कन्सिलर मिसिन (मकै छोडाउने), ओइडिङ मेसिन (जोख्ने) र पावर टिलर (जोत्ने) हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
पठाउनुहोस्

कतारमा अलपत्र नेपाली भन्छन्-  ‘हामीलाई नेपाल फर्कन सहयोग गर्नुहोस्’

डम्बरसिं राई

खोटाङ — कतारमा अलपत्र ७ नेपाली अझै समस्याको सामना गरिरहेका छन् । मे २२ तारिख अर्थात् जेठ ८ गते त्यहाँ पुगेका उनीहरुले नेपाल फर्कन सहयोग मागेका छन् । मेनपावर कम्पनीले संझौताअनुसार काम नदिएकाले उनीहरु अलपत्र परेका हुन् । उनीहरु कतारको दोहा नज्मा भन्ने ठाउँमा छन् । दुई दिनअघिसम्म भने दोहाको अल्सादमा थिए ।

अलपत्र पर्नेहरुमा खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री छन्। त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुनिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान समेत अलपत्र परेका छन्।

उनीहरु काठमाडौंको गोगंबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालिमार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए। ‘हामीलाई १२ देखि १४ सयसम्म तलब दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिए’ तामाङले भने–‘तर त्यसको बदला कतार ल्याएर हामीलाई अलपत्र पार्‍यो।’ तामाङले अनुरोध गरे–‘हामी नेपाल फर्कन चाहन्छौं, सहयोग गर्नु पर्‍यो।’

त्यहाँस्थित दूतावास जाने खर्चसमेत नहुँदा थप समस्यामा परेको उनीहरुले बताएका छन्। ‘दूतावास जाने खर्च पनि छैन।’ तामाङले भने–‘अब के गर्ने भन्ने नै थाहा छैन।’ आफूहरु अलपत्र परेको समाचार आएपछि तीन दिनदेखि सन्देश केसी नामको व्यक्ति आएर नेपाल पठाउँने आश्वासन दिए पनि अहिलेसम्म नपठाएको तामाङले सुनाए। ‘समाचार आएपछि सन्देश केसी भन्ने एजेन्ट आएर नेपाल फर्काउने आश्वासन दिएको छ।’ तामाङले भने–‘डुबेको पैसाको कुरा गर्दा यसको जिम्मेवारी नहुने भन्छ।’

यसबारेमा नेपाली दूतावासमा फोन गर्दासमेत बेवास्ता गरेको तामाङले गुनासो गरे। खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्माले आफूहरुको तर्फबाट सहयोग हुने बताए पनि पछिल्लो समय भेट हुन नसकेको तामाङको भनाइ छ।

प्रकाशित : असार ६, २०७६ २०:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT