गर्मी छल्न मुहानपोखरी

तस्बिर : अंगद ढकाल

भक्तपुर — गर्मी बढेसँगै भक्तपुर चाँगुनारायण नगरपालिका मुहानपोखरीमा रहेको झरनामा पुगेर रमाउने युवकयुवती संख्या बढेको छ । उपत्यका र आसपासका जिल्लाबाट समेत युवाहरु तथा परिवार सहित झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । भक्तपुरको नगरकोट बसपार्कबाट करिव ६ किमी पूर्वमा पर्छ मुहानपोखरी । मुहानपोखरीसम्म सजिलै सवारीसाधन पुग्छन् । मुहानपोखरीबाट भने २० मिनेट उकालिएपछि झरनामा पुग्न सकिन्छ । सार्वजनिक बिदामा झरनामा रमाउने र घुम्न जानेहरुको भीड लाग्छ ।


प्रकाशित : असार २२, २०७६ ११:३५

प्रतिक्रिया
पठाउनुहोस्

काँचो माटो

कान्तिपुर संवाददाता

यता केही दिनदेखि रजियाको शरीरमा फूर्ति कम देखिन थालेको थियो  । उनी उदास उदास रहन थालेकी थिइन्  ।

प्यारप्यार बोलिरहनुपर्ने ऊ कम बोल्थिन् । यो किनिदिनू र त्यो किनिदिनू भनेर हैरान पार्ने उनी अचेल शान्त देखिन्थिन् । सधैं भाइ निदाइसक्दा पनि आमालाई पर्खिरहेकी हुन्थिन् । दुई/चार दिनदेखि भाइसँगै बेलुकै सुतिसकेकी हुन्थिन् । रजियामा आएको यो परिवर्तन आमाको आँखाबाट लुक्न सकेन । उहाँ झसङ्ग हुनुभयो । के भएको होला भनी गम्न थाल्नुभयो । रजियालाई उठाएर सोध्नुपर्ला भन्ने सोच्नुभयो । उठाउनुभएन । एकातिर घरधन्दा अर्कोतिर रजियाको बदलिएको चाला १ उहाँ दोधारमा पर्नुभयो ।


घरधन्दाभन्दा छोरीको माया लाग्यो । निधारमा छाम्नुभयो । ज्वरो आएको त होइन । मुटुको चाल थाहा पाउन छातीमा छाम्नुभयो । खरखर कागज बजेको आवाज आयो । के रहेछ भनी जान्ने मन भयो । रजियाले थाहा नपाउने गरी झिक्नुभयो । रजियाको हस्ताक्षरमा लेखिएको थियो, ‘......।’
पढेर उहाँ छानाबाट खसेजस्तै हुनुभयो । कागजलाई जहाँको त्यहीँ राखिदिनुभयो । असरल्ल लुगाहरू मिलाइदिनुभयो । रजिया र उसको भाइलाई ओढ्ने ओढाइदिनुभयो । कोठा पनि चिटिक्क सफा पार्नुभयो । रजिया र उसको भाइलाई मन पर्ने भिन्डी र करेलाको तरकारी पकाउनुभयो । भात र दाल पनि पकाउनुभयो ।


भान्सा र सुत्ने कोठा एउटै थियो । यसैले रजियाले आमाको चालचुल थाहा पाइसकेकी थिइन् । तैपनि थाहा नपाएजस्तो गरी
पल्टिरहिन् । भाइ त फ्वाँफ्वाँ निदाइरहेकै थियो । आमाको आँखा छलेर सर्टको खल्तीको कागज चेक गर्नुभयो । त्यो जहाँको त्यहीँ थियो ।
खाना पकाइसकेर आमाले रजिया र भाइ दुवैको गालामा म्वाइँ खानुभयो । भाइले त थाहा पाएन । रजियाले थाहा पाएर पनि नपाएजस्तो गरिरहिन् । दुवैको गोडा तल बसेर हेरिरहनुभयो । त्यही बेला भर्खर उठेजस्तो गरी रजिया उठिन् । आफ्नो अगाडि आमालाई पाएर खुसी भइन् । भाइलाई पनि उठाइन् ।


संयोगले त्यस दिन बुबा पनि चाँडै आउनुभयो । सबैजनाले सँगै खाना खाए । केही बेर सँगै टेलिभिजन हेरे । त्यसपछि सुते । भोलिपल्ट रजिया र उमको भाइ निद्राबाट बिउँझिए । उनीहरू दुवैले आमाबाबुलाई आँखाअगाडि पाए । दुवैले दुवैको मुख धोइदिएर कपडा फेरिदिनुभयो । बिहानको चिया र खाना पनि सबैले सँगै खाए । दुवैले दुवैलाई पालैपालो स्कुलको पढाइदेखि लिएर साथीभाइसम्मको हालचाल सोध्नुभयो । दिदीभाइ अचम्ममा परे ।


त्यस दिनदेखि आमाबुबा दुवैजना रजिया र उसको भाइसँग घुलमिल हुन थाल्नुभयो । रजियाको हराएको फूर्ति फर्केर आयो । उनी ट्याउँट्याउँ गर्न थालिन् । यो ल्यादिनू र त्यो ल्यादिनू भन्न थालिन् । आमाबुबाले पनि सकेसम्म दुवैको चाहना पूरा गर्न थाल्नुभयो ।
त्यसपछिको एक दिन रजियाले सर्टको खल्ती छामिन् । त्यहाँ कागज जहाँको त्यहीँ र जस्ताको तस्तै थियो । खोलेर हेरी । लेखिएको थियो, ‘मलाई कसैले माया गर्दैनन् ।’उनले कागज च्यातचुत पारिन् । डस्टबिनमा हालिन् । त्यही बेला फुत्त आमा आउनुभयो । उहाँले सोध्नुभयो । रजियाले बिग्रेको कागज च्यातेको भनिन् । आमाले लामो सास फेर्नुभयो । उहाँ थचक्क भुइँमा बस्नुभयो । रजियालाई च्याप्प समातेर म्वाइँ खानुभयो । उनी फुत्त उम्केर भाइसँग खेल्न गइन् ।

धीरकुमार श्रेष्ठ

प्रकाशित : असार २२, २०७६ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्