कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले खेदेपछि... [फोटोफिचर]

बाढीको कहर
शिव पुरी

रौतहट — तराई/मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या ठूलो छ । यस वर्ष मात्र बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाइसकेका छन् । १ जना बेपत्ता छन् । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदी बस्ती पस्दा जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।

जिल्लामा बाढीबाट झन्डै ७० हजार घर प्रभावित भएको छ भने ७ हजार मानिस विस्थापित भएको प्रारम्भिक अनुमान छ । ४ सय घर पूर्ण रूपमा ध्वस्त भएको छ । जिल्लाको ईश्नाथ नगरपालिका र दुर्गाभगवति गाउँपालिकामा बाढीको बितण्डा धेरै नै देखिएको छ । दुर्गाभगवती गाउँपालिका ५ स्थित बडहर्वा गाउँमा झण्डै ४ सय घरधुरी छन् । तीमध्ये ३ सय ३८ घर बाढीले डुबान र केही बगाएर लगेको छ । अहिले २ सय घर परिवार वागमती नदीको बाँधमा त्रिपाल टाँगेर बसेका छन् ।

विस्थापितमध्ये अधिकांशको त्रिपाल च्यातिएर कामै नलाग्ने छ । बाढीको त्रासले चार दिनदेखि पीडितहरु अनिँदो छन् । अधिकांशले खान पाएका छैनन् । अन्न डुबाएपछि थप समस्या छ । बस्ती नजिकको विद्युत्‌ ट्रान्सफर्मर ढलेको छ । विस्थापितलाई शुद्ध खानेपानी समस्या छ । २०४८ सालदेखि यो बस्तीका मानिस वागमती नदीबाट भागेको भागै छन् । अहिले त्यही बाँधको भर परेर विस्थापित कष्ट संगले त्रिपाल टाँगेर बसेका छन् ।

गएको शुक्रबार रातिको बाढीले घर डुबानमा परेपछि उनीहरु माथि उक्लेर रातभर जाग्राम बसे । प्राकृतिक बिपत्तिले कतिसम्म गर्छ भन्ने यो गाउँ उदाहरण बनेको छ । २०४८ सालमा बडहर्वा गाउँ पहिलो पटक बागमतीमा आएको बाढीले डुबानमा पार्‍यो । त्यसबेला झण्डै ५ सय बिघा जमिन बगायो । ५ जनाको मृत्यु भयो । त्यसपछि उनीहरु केही पर आएर बसे । २०५० सालको बाढीले फेरि गाउँ डुबानमा पार्‍यो । त्यसपछि उनीहरु बाँधको आडैमा आएर बसे ।

२०७४ सालमा बागमती नदीको बाढीले सिंगो गाउँ डुबानमा पार्‍यो । त्यस बेला ६ जनाको मृत्यु भएको थियो । अहिले फेरि यति ठूलो बिपत्ति ल्यायो,’ पीडित ईन्द्रजी दास भन्छन्, ‘प्रकृतिक प्रकोपले पनि खेदेको खेदै गर्‍यो । अब राहतभन्दा पनि सुरक्षित बासको ब्यवस्था गरिदिए हुन्थ्यो ।

प्रकाशित : असार ३१, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्