कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्खे सडकमा सवारी सास्ती (फोटोफिचर)

अनिश तिवारी

सिन्धुपाल्चोक ' — वर्षाका कारण जिल्लाका ग्रामिणदेखि मुख्य सडकखण्ड क्षतिग्रस्त अवस्थामा पुगेपछि स्थानीय सास्ती भोग्न बाध्य बनेका छन् । राजधानी जोड्ने मुख्य सडक भास्सिएको छ । सीमाक्षेत्र तातोपानीदेखि पश्चिम हेलम्बु, पाँचपोखरीसम्मका सडक हिलाम्मे बनेका छन् । सोमबार मेलम्ची फट्केश्वर, लप्सीफेदी हुँदै शंखरापुर नगरपालिकाको साँखु जोड्ने ३६ किलोमिटर सडकको अवस्था खराब देखिन्थ्यो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको चुनावक्षेत्र काठमाडौं, शंखरापुर नगरपालिका जोड्ने मुख्य सडक क्षतिग्रस्त बनेपछि डोरी लगाएर यात्रु बस तानिँदै थियो । करोडौंको बजेटको लागतमा कालोपत्रे गरिएपनि बर्खामै भलसँगै बग्ने गरेको स्थानीयले गुनासो गरे । ‘सडकमा आहिलेसम्म करोडौंको लागत भइसकेको छ, तैपनि बर्खामा भने हामीले सधैँ सास्ती भोग्नुपर्छ,’ हेलम्बु गइरहेका सवारी चालक दावादोर्जे हृयोल्मोले भने । कमसल कामले गर्दा गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुनाले सडकमा सास्ती हुने गरेको छ ।

जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने मात्रै ५५ सडकमा अधिकांस सडक बर्खालगत्तै अवरुद्ध हुने अवस्थामा पुगेका छन् । जिल्लाभरमा २५ सय किलोमिटर ग्रामिण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुईसय किलोमिटर कालोपत्रे गरिएको छ ।

‘ग्रामिण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन्, कतै भने मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । स्थानीय तहले खेलेका नयाँ सडक अर्न्तगतका सयौँ र अरनिको राजमार्ग, लामोसाघु चरिकोट सडक खण्डको केही भागमा पहिरोले हिलाम्मे बनाएको उनले सुनाए । जिल्लाका उत्तर पूर्वी भेगका सबै ग्रामिण सडकखण्ड बर्खासुरु भएसँगै बन्द हुन्छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रा समेत जोखिमपूर्ण बनेको छ ।

प्रकाशित : श्रावण २०, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्