कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्ला भवनले छेलिँदै नाम्जे

सीएनएनले विश्वकै पुग्नै पर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश

नाम्जे, धनकुटा — पहाडी हरियालीबीच बसेको चिटिक्क परेको बस्ती पछिल्लो समय कंक्रिटका अग्ला भवनले छेलिँदै गएको छ । ‘होमस्टे गाउँ’ भनेर परिचित साँगुरीगढी गाउँपालिकास्थित नाम्जे थुम्की गाउँका मौलिक घर अचेल ओझेलमा पर्न थालेका छन् ।

अग्ला भवनले छेलिँदै नाम्जे

सात वर्षको अवधिमा नाम्जेमा दर्जनौं आधुनिक होटल र रिसोर्ट निर्माण भइरहेका छन् । तीसँग सामान्य पुँजीमा सञ्चालन भएका होमस्टेले प्रतिस्पर्धा गर्दै आएका छन् । ढुंगा माटोका ससाना चिटिक्क परेका घर र उत्तरतर्फ देखिने हिमशृंखलाले मनोरम लाग्ने होमस्टे गाउँको माथिल्लो भागमा धमाधम निर्माण भइरहेका अग्ला भवन बनिरहेका छन् ।


विश्वका हेर्नै पर्ने तर ओझेलमा परेका उत्कृष्ट स्थलको सूची तयार गर्ने क्रममा सात वर्ष पहिले विश्वप्रसिद्ध अमेरिकी समाचार संस्था सीएनएनले यस गाउँलाई पनि प्राथमिकता राखेको थियो । सीएनएनले विश्वकै पुग्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेपछि उक्त गाउँ चर्चामा आएको थियो ।


नाम्जे गाउँमा रहेका होमस्टेको साख जोगाउन स्थानीय भने अझै जुटिरहेकै छन् । अधिकांश मगर समुदाय रहेको उक्त गाउँमा २२ घरमा होमस्टे सञ्चालनमा छन् । १९ वटा दर्ता छन् भने तीन दर्ताको प्रक्रियामा रहेको स्थानीय अनिल राना मगरले बताए ।


पर्यटन प्रवद्र्धनका लागि होमस्टेलाई व्यवस्थित गरिएको होमेस्ट व्यवस्थापन समितिका संयोजक समेत रहेका मगरले जानकारी दिए । अन्य घरमा समेत होमस्टे सेवा थप गर्दै जाने उनले बताए । ठूला भवनमा आधुनिक सुविधायुक्त होटल व्यवसाय सञ्चालन हुने गरे पनि होमस्टेले पाहुनाको ध्यान तान्न प्रयासरत रहेको उनको भनाइ छ ।


‘नाम्जे र आसपासका गाउँभरी होमस्टे विस्तार छ’, मगरले भने, ‘पर्यटकको आवागमन बढेसँगै हामी होमस्टे व्यवस्थापनमा सक्रिय छौं ।’ झट्ट नियाल्दा देख्न सकिने होमस्टे गाउँ ठूला भवनले छेलिएको स्थानीय सरिता रानाले बताइन् । होमस्टे गाउँको मौलिकता ठूला भवनले छेलिए पनि होमस्टेको चहलपहल कमी नआएको उनको तर्क छ । यसको व्यवस्थापनका लागि तारा गाउँ विकास समिति, पर्यटन कार्यालय लगायतले सहयोग जुटाएका छन् ।


होमस्टे तथा आत्माघर जाने बाटो निर्माणका लागि सहयोग जुटेको हो । स्वदेश तथा वाह्य मुलुक अमेरिका, भारत लगायतबाट पर्यटक नाम्जे गाउँ अवलोकनमा पुग्ने गरेको पर्यटन विकाससम्बन्धी कार्यरत संस्था पंचकन्या समूह स्रोतले जनाएको छ । क्षणक्षणमा हावाको चिसो सिरेटोसँगै बादलले छोपिने र क्षणभरमै उघ्रिने नाम्जेको विशेषता छ ।


प्राकृतिक सौन्दर्य र स्थानीय मगर समुदायको लोकप्रिय हुर्रा नाचप्रति पर्यटक लोभिने गर्दछन् । विशेषगरी मगर समुदायको वाहुल्य रहेको यहाँ अतिथिलाई आदरसत्कार गरी मिठो वचनले खाना र बास दिने परम्पराले पर्यटक तानिने स्थानीय टंक भुजेलको भनाइ छ ।


कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत भेडेटारबाट चार किलोमिटर दूरीमा रहेको यस गाउँमा मगर जातिको हुर्रा नृत्य, नमुनायोग्य होमस्टे, अतिथि सत्कार, आत्मा चौतारो, अर्गानिक खेति, पर्यटक लोभ्याउने भौगोलिक वनावट छन् । नाम्जे आसपासका क्षेत्रहरू भेडेटार, डाँडाबजार, राजारानी, लाप्चेटार लगायतका स्थानलाई पनि सिगार्न र पर्यटक आकर्षणका लागि स्थानीयले विभिन्न कसरत गर्दै आएका छन् ।


माघे संक्रान्ती महोत्सव

होमस्टे गाउँका रूपमा परिचित नाम्जेमा आगामी माघे संक्रान्ती पर्वका अवसरमा तीन दिने महोत्सव आयोजना हुने भएको छ । पुस ३० देखि माघ २ गतेसम्म प्रथम माघे संक्रान्ती महोत्सव आयोजना गरिने पत्रकार भेलामा जानकारी दिइएको हो । साँगुरीगढी गाउँपालिका ६ स्थित नाम्जेमा गाउँपालिका र स्थानीय १३ वटा संघसस्थाले संयुक्त रूपमा महोत्सव आयोजन गर्ने आयोजक समितिका संयोजक अनिलकुमार राना मगरले बताए ।


मगर समुदायको बाहुल्यता रहेको उक्त स्थानमा महोत्सवको पहिलो दिन हुर्रा नाच प्रदर्शन हुने भएको छ । दोस्रो दिन राई जातिको साकेला र तेस्रो दिन याम्फू राईको ढोल नृत्य गरिने उनले जानकारी दिए । महोत्सवमा मौलिक परिकार र सांस्कृतिक कार्यक्रम समावेश गरिने मूल आयोजक समितिका सचिव अशोककुमार मगरले बताए । महोत्सवमा २० स्टल रहनेछ ।

यस्तै भलिबल र फूटसल प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । महोत्सवमा कम्तीमा ३० हजार पर्यटक भित्र्याउने र १० लाखको खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


आत्माघर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङडाँडा, पाथीभरा मन्दिर, शंखेश्वर महादेव, नमस्ते झरना, ध्वजेडाँडा, ओख्रे भ्यु, साँगुरीगढी लगायत क्षेत्रको प्रचार प्रवद्र्धनमा महोत्सव फलदायी हुने आयोजकको दाबी छ ।

प्रकाशित : पुस २५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?