कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै प्रदेशमा ‘मौरी पर्यटन’ को माग

घारबाटै निकालेर ताजा चाकासहितको मह सेवन गराउन सके पर्यटकले सन्तुष्टि लिने र विदेशमा समेत नेपाली महको प्रचार हुने
मौरीलाई चिलाएर उपचार गराउने पद्धति ‘एपी थेरापी’ बाट रोगीको उपचार गराउन सकिने
चन्द्र कार्की

तेह्रथुम — देशभरका मौरीपालक किसानले सबै प्रदेशमा एपी टुरिजम (मौरी पर्यटन) कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । प्रदेशका बढी पर्यटक ओहोरदोहोर गर्ने र भ्रमणमा आउने स्थान छनौट गरी यस्तो कार्यक्रम सञ्चालन गर्न उनीहरूले माग गरेका हुन् ।

मौरी पर्यटन कार्यक्रममार्फत नेपाल घुम्न आएका पर्यटकलाई स्थानीय हावापानी र पुष्पसरबाट उत्पादन भएको मह सेवन गराउन र अन्य मौरीजन्य उत्पादन बिक्री गरी आम्दानी गर्न सकिने नेपाल मौरी पालक महासंघका अध्यक्ष शिवप्रसाद शर्माले बताए । विदेशी पर्यटकलाई घारबाटै निकालेर ताजा चाकासहितको मह सवन गराउन सके पर्यटकले सन्तुष्टि लिन सक्ने र विदेशमा पर्यटकले नेपाली महको प्रचार गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी हुने किसानको भनाइ छ ।


कार्यक्रम सञ्चालन गर्न सके किसान र सरकारलाई दोहोरो फाइदा पुग्ने अध्यक्ष शर्माको भनाइ छ । सरकारले ०७३ सालमा जारी गरेको मौरी कार्यक्रम कार्यान्वयन कार्यविधिमा तत्कालै सरकारी सहयोगमा मौरी पर्यटन कार्यक्रम सञ्चालन गरीने उल्लेख छ । तर कार्यविधि जारी भएको दुई वर्ष वितिसक्दा पनि सरकारले कार्यक्रम सञ्चालनतर्फ कुनै सुरसार नगरेको किसानको गुनासो छ ।


नेपाल व्यापार एकीकृत रणनीति २०१० मा महलाई निर्यातयोग्य बस्तुमा सूचीकृत गरिए पनि नेपालमा गुणस्तरीय मह उत्पादनको मापन गर्ने एक्रिकेटेड प्रयोगशाला नहँुदा उत्पादित महको निकासीमा समेत समस्या भइरहेको महासंघका उपाध्यक्ष देवी दाहालले बताइन् । पर्यटकलाई ग्रामीण क्षेत्रको भ्रमण गराई चाका सहितको मह सेवन गराउन सके विदेशीमाझ नेपालको उच्च फरकफरक हावापानीमा उत्पादन भएको महको औषधीय महत्त्व समेत विश्वभर फैलिने मौरी पालक किसानको भनाइ छ ।


मौरीलाई मानवीय रोगको उपचारमा समेत प्रयोग गरी लाभ लिन सकिने अवस्था हँुदाहुँदै यसतर्फ सरकार मौन रहेको भन्दै किसानले सरकारको आलोचना गरेका छन् । मौरीलाई चिलाएर धेरै रोगको उपचार गर्न सकिने पद्धति ‘एपी थेरापी’ उपचार विधिको तत्कालै काम सुरु गर्न मौरी पालक किसानको माग छ ।


नेपालका फरक हावापानीमा पाइने विभिन्न प्रजातिका मौरीलाई चिलाएर उपचार गराउने पद्धतिबाट रोगीको उपचार गराउनुपर्नेमा झापाका मौरी पालक किसान कृष्ण अधिकारीले जोड दिए । ‘नेपालका धेरै गाउँ एपी थेरापी केन्द्र बन्ने सम्भावना छ,’ उनले भने । सरकारले दुई वर्षअघि जारी गरेको कार्यविधिमा पर्यटकको बढी ओहोरदोहोर हुने, यातायातको सुविधा भएको र मौरी चरनको प्राकृतिक र मानव निर्मित क्षेत्र भएको र सम्भव भएसम्म होमस्टेको समेत व्यवस्था भएको स्थान छनौट गरी एपी टुरीजम जिल्ला वा क्षेत्र घोषणा गरिने उल्लेख छ । तर कार्यविधि जारी गर्ने बाहेक सरकारले कुनै पनि काम हालसम्म नगरेको भन्दै किसानले सो कार्यक्रम तत्काल लागू गर्न माग गरेका छन् ।


विदेशबाट आयात गरिएका मेलीफेरा जातको मौरीको रानु गुणस्तरीय नहुँदा मौरीपालक किसानले मह उत्पादनमा नोक्सान व्यहोरिरहेको किसानको भनाइ छ । गुणस्तरीय रानु, मजबुत गोला र गुणस्तरीय मह उत्पादनमा सरकारी सहयोगको आवश्यकता रहेको महासंघ प्रदेश नम्बर १ का अध्यक्ष बुद्धिनाथ तिम्सिनाले बताए । सरकारी स्तरबाट गुणस्तरीय रानु उत्पादन गरी किसानलाई वितरण गर्न उनले सरकार सँग माग गरे ।


सरकारले जारी गरेको कार्यविधिमा मौरी क्लिनिक सञ्चालन गर्ने उल्लेख छ । तर देशैभरका व्यावसायिक मौरी पालक किसानका मौरी विभिन्न रोग, किरा र संक्रमणले नास भइरहदा समेत कृषि विकास मन्त्रालय मुकदर्शक बनिरहेको चितवनका मौरीपालक किसान गीता देवकोटाले बताइन् । मौरीमा रोग, किरा र अन्य समस्याहरूका कारण नेपालमा वर्षेनी मह उत्पादनमा २० प्रतिशतले ह्रास आइरहेको सरकारी तथ्यांक छ ।


कृषकले मौरीमा देखा पर्ने यस्ता प्रकृतिका समस्या समाधान गर्न सकिरहेका छैनन् । त्यसले गर्दा नेपालमा उच्च स्तरको भरपर्दो मौरी उपचार केन्द्रको स्थापना हुनुपर्ने महासंघ अध्यक्ष शर्माले बताए । मौरी उपचार शिविर अथवा केन्द्र सरकारी स्तरबाट सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनले भनाइ छ । शिविर अथवा केन्द्र सञ्चालनमा आएमा किसानले पालेका मौरीमा कुनै रोग किरा वा अन्य समस्या देखा परे तुरुन्त उपचार हुने किसानको विश्वास छ ।


यस्ता शिविर अथवा केन्द्रमा विशेषज्ञको दरबन्दी हुनुपर्ने किसानको माग छ । निश्चित स्थानमा नियमित मौरी उपचार शिविर सञ्चालन भएमा किसानले रोग र समस्याग्रस्त मौरी गोलाको नमुना ल्याएर रोगको पहिचान गरी उपचार गराउन पाउने किसानको भनाइ छ । कृषिका अन्य क्षेत्रहरू गाईभैंसी, बाख्रा भेडा, कुखुरा, बंगुर, हाँस, माछा लगायतका लागि सरकारी स्तरबाटै उपचार केन्द्र सञ्चालनमा छन् । तर मौरीका लागि न त पर्याप्त विज्ञ र साधारण प्राविधिक छन्, न त उपचार शिविर वा केन्द्र नै ।


सरकारले चालु आर्थिक वर्षभित्रै मौरीका लागि पनि स्थानीय तहदेखि यस्तै संरचना निर्माण गर्नुपर्ने माग गरेका छन् । कार्यविधिमा हरेक हप्ता वा १५ दिनमा घुम्ती शिविरका रूपमा मौरी उपचार शिविर सञ्चालन गरिने उल्लेख गरिएको भए पनि हालसम्म एउटा पनि शिविर सञ्चालन नभएको झापाका अगुवा मौरीपालक मोहन तिम्सीनाले बताए ।


मौरीपालनका लागि चरन क्षेत्र विस्तारका लागि सरकारी स्तरबाट चिउरीका बिरुवा किसानलाई वितरण गरिने भनिएको छ । तर कृषि विकास मन्त्रालय मातहतका कुनै पनि कार्यालयले बिरुवा वितरण नगरेको किसानले आरोप लगाएका छन् । फूल फुल्ने जातका बिरुवाको विनाश भएका कारण मौरीलाई वर्षेनी चरण क्षेत्रको अभाव भइरहेको महासंघका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद गौतमले बताए ।


नेपालमा प्राकृतिक वन जंगलमा रहेका मौरीका चरन र त्यस क्षेत्रमा मौरीपालनका लागि लगाइने बालीनाली र बिरुवा बाट वर्षमा के कति मौरी गोला कति समयसम्म राखेर मह उत्पादन गर्न सकिन्छ भन्ने आधिकारिक आँकडा नहँुदा अन्धाधुन्ध चरनमा मौरी लगिरहेको किसानको भनाइ छ ।


चरन अभावमा मौरीको संख्या वर्षेनी घटदो अवस्था रहदा समेत सरकारी स्तरबाट प्रवद्र्धन र संरक्षणको कुनै काम नभएको सुर्खेतका किसान शिवराज भणडारीले बताए । पछिल्लो समय मौरी गोलाको संख्या घटदो रहेको तर मौरी पालक किसानको संख्या भनेवर्षेनी बढिरहेको महासंघले जनाएको छ । त्यसका लागि मौरी पालनको सम्पूर्ण जानकारी किसानलाई दिन सरकारी स्तरबाट मौरीपालन कृषक पाठशाला सञ्चालन गर्न पनि किसानले माग गरेका छन् ।


नेपालमा किसानले हाल स्थानीय जातका सेरेना र विदेशबाट आयात गरिएको उन्नत जातको मेलीफेरा जातका १ लाख ७० हजार गोला मौरी पालन गरिरहेको महासंघले जनाएको छ । वर्षमा भदौ, असोज, बैशाख, जेठ महिनामा मौरीको गोला विभाजन गर्ने सिजन हो ।


यी दुई सिजनमा यति संख्याको गोलाबाट विभाजन गर्दा एकै वर्षमा मौरी गोला संख्या बढेर ५ लाख १० हजार गोला पुग्नुपर्ने हो । तर मौरीको गोला वर्षेनी घटदो अवस्थामा छ । वन डडेलो, रोग किरा संक्रमण, चरन अभाव, प्राविधिक ज्ञानको अभाव, गृहत्याग लगायतका कारण वर्षेनी किसानसँग मौरी गोला संख्या घटिरहेको महासंघको भनाइ छ । मेलीफेरा जातको मौरी ०५० सालमा भारतबाट ल्याएर नेपालमा व्यावसायिक रूपमा पाल्न थालिएको हो ।


सेरेना जातको मौरी भने नेपालमा वर्षौंदेखि पालिदै आएको छ । उन्नत जातको एपिस मेलीफेरा जातको मौरीले एक वर्षमा एउटा गोला बाट ५० देखि ६० केजी मह दिने गरेको छ । स्थानीय एपिस सेरेना जातको मौरीले एक गोलाबाट वर्षमा २५ देखि ३० केजी मात्र मह उत्पादन हुने गरेको सरकारी तथ्याङक छ ।


असोज, कात्तिक, मंसिर, फागुन, चैत र बैशाख महिनामा फूल फुल्ने बिरुवा बढी हुने र मौरीलाई चरन पर्याप्त हुने भएकाले मह राम्रो उत्पादन हुने गरेको किसानको भनाइ छ । तर बाँकी महिनामा मौरीलाई चरन अभाव हुने भएकाले यस्ता समयमा पनि फूल फुल्ने जातका बिरुवा रोपणमा सरकारी सहयोगको आवश्यकता रहेको झापाका पुराना मौरी पालक किसान अमरदिप भेटवालले बताए ।


उनले पूर्वको झापामा पहिलो पटक मेलीफेरा जातको मौरी भित्र्याएका थिए । झापामा भेटवालाई मौरीका पिताका रूपमा मौरीपालक किसानले सम्मान गर्छन् । मौरीपालन विकास शाखा गोदावरीका अनुसार नेपालमा हाल मुडे र खोपे अर्थात् परम्परागत घारमा ६९ हजार १ सय ६८ गोला मौरी किसानले पालिरहेका छन् ।


त्यस्तै ६० हजार गोला मौरी भने किसानले आधुनिक घारमा पालिरहेका छन् । परम्परागत बलियो र स्वस्थ एउटा गोलामा २० देखि ३० हजार मौरी संख्या हुन्छन् भने आधुनिक घारमा ५० देखि ६० हजार संख्यासम्म मौरी बस्छन् । संख्या बढी हुँदा मह उत्पादन छिटो हुने र रोग समेत कम लाग्ने किसानको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?