कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थाको भवनमा सरकारी अस्पताल

ओखलढुंगा — सोलुखुम्बुको जिल्ला अस्पताल संस्थाको भवनमा सञ्चालन हुँदै आएको छ । सरकारले वर्षौं पहिले १५ शय्या घोषणा गरेको अस्पताल संरचना अभावमा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा संस्थाको भवनमा सञ्चालन हुँदै आएको हो ।

संस्थाको भवनमा सरकारी अस्पताल

फाप्लु अस्पतालको स्वास्थ्य सेवा २०६० सालदेखि हिमाली स्वास्थ्यको भवनमा सञ्चालन हुँदै आएको थियो । उक्त भवन २०७२ को भूकम्पले भत्किएपछि पुन: दाताको सहयोगमा नयाँ भवन निर्माण गरी अस्पतालको सेवा सुचारु गरिएको छ । संस्थाको नाममा ‘सर एडमण्ड हिलारी फाउन्डेशन’ र ‘नेपाल माउन्टेन मोबाइल बेल्जियम’को सहयोगमा भवन निर्माण गरिएको संस्थाका अध्यक्ष ङिमातेण्डुप शेर्पाले बताए ।


भवन प्रयोग गरे बापत जिल्ला अस्पतालसँग कुनै शुल्क नलिएको उनले बताए । ‘हामीले जिल्ला अस्पतालको दुरावस्था देखेर सहयोग होस् र सर्वसाधारणले उपचार सेवा सहज रूपमा पाउन् भनेर दाता खोजेर सञ्चालनका लागि भवन दिएका हौँ ।’ उनले भने, ‘यसमा हाम्रो निजी र संस्थागत स्वार्थ जोडिएको छैन ।’


विवादमा भवन

जिल्लाकै केही सरोकारवालालले उक्त संस्थाले अस्पतालको अवस्था देखाएर दातालाई रकम मागी आफ्नो जग्गामा करोडौंको भवन ठडाएको आरोप लगाएका छन् । उनीहरूले संस्थाको नाममा रहेको जग्गा कित्ता नं. १८९० मा मात्र नभएर व्यक्ति ङवाङ दोर्जी शेर्पाको नाममा रहेको १८५३ नम्बरको जग्गामा समेत भवन निर्माण भएको आरोप लगाएका छन् ।


‘एउटा दातृ निकायले सहजै त्यत्रो रकम अस्पताल प्रयोजनका लागि हुने गरि कसरी दिन सक्छन् ?’ नाम गोप्य राख्ने शर्तमा एक सरोकारवालाले भने, ‘सरकारी अस्पतालको अवस्था देखाएर दातालाई रकम मागेको हो । घर बनाउने बेला व्यक्ति र संस्थाको जग्गामा बनाइएको छ ।’


फाप्लु अस्पताल प्रमुख डा. मिङमाछिरि शेर्पाले भवन निर्माणका लागि दातासँग जिल्ला अस्पतालको कुनै सम्झौता नभएको बताए । उनले आफ्नो अस्पतालको भवन नभएको कारण संस्थाको भवनबाट सेवा सुचारु गरेको बताए । ‘भूकम्पपछि अस्पतालकै जग्गामा भवन बनाउनका लागि तयारी पनि गरिएको थियो ।’ डा. मिङमाले भने, ‘तर हामीले बनाउने भनेको जग्गामा जोखिमको रातो स्टिकर लागेपछि हामी हिमाली स्वास्थ्यको भवनमा बस्न बाध्य भयौँ ।’


हिमाली स्वास्थ्यका अध्यक्ष ङिमातेण्डुप शेर्पाले समेत संस्थाको जग्गामा भवन बनेको र कुनै व्यक्तिको जग्गामा नबनेको बताए ।


‘यदि कुनै व्यक्तिको जग्गा अन्जानवश परेको भए हामीले सहजै रूपमा संस्थाको नाममा नामसरी गर्न सक्छौँ ।’ उनले भने, ‘संस्था पनि सरकारकै एउटा पाटो भएकाले हामीले सामाजिक हित विपरीत काम गरेका छैनौँ ।’

प्रकाशित : माघ ७, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?