कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट अभावमा कृषि सडक अलपत्र

परियोजनाले १० वटा फार्म, नर्सरी, सहकारी र डेरी उद्योगमा ३ करोड ८९ लाख ६० हजार २ सय १८ रुपैयाँ लगानी

तेह्रथुम — कृषिजन्य वस्तुको उत्पादन र बजार पहुँच विस्तारका लागि जिल्लामा ७ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । डेनमार्क सरकारको सहयोगमा उन्नती समावेशी वृद्धि कार्यक्रमले चार वर्षको अवधिमा किसान समेतको साझेदारीमा रकम लगानी गरेको हो ।

लगानी गरिएका केही आयोजना परियोजना समाप्त भएपछि अधुरै छन् । आयोजनाको समयावधि डिसेम्बर अत्यमा समाप्त भएको छ । कार्यक्रमअन्तर्गत जिल्लामा अलैंची, दूध, अदुवा र चियाको मूल्य शृंखलामा आधारीत भएर रकम लगानी गरिएको उन्नति परियोजनाका कृषि व्यवसाय विज्ञ रमेश भण्डारीले बताए ।


परियोजनाले जिल्लाका १० वटा निजी फार्म, नर्सरी, सहकारी र डेरी उद्योगमा गरी ३ करोड ८९ लाख ६० हजार २ सय १८ रुपैयाँ लगानी गरेको हो ।


यो रकममा किसानले साझेदारीका रूपमा थप ३ करोड ११ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ लगानी गरी वस्तुको उत्पादन र बजार विकासमा काम चार वर्षसम्म काम गरेको थियो । परियोजनाले बजार विकास अवधारणामा सन् २०१४ देखि ०१८ डिसेम्बर अन्त्यसम्म काम गरेको थियो । उत्पादित बस्तुको बजार विकासको माध्यमबाट गरिवी न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले चार वर्षसम्म काम गरिएको भण्डारीले बताए ।


परियोजनाले जिल्लामा उन्नती कोष, सिधा सहयोग र सडक यातायात गरी तीन क्षेत्रमा काम गरेको थियो । परियोजनाको सहयोगमा निर्माण भइरहेका जिल्लाका अधिकांश सडक अहिले अलपत्र अवस्थामा छन् । उन्नतिको सहयोगमा निर्माण भइरहेका धेरैवटा ग्रामीण सडक परियोजना कार्यालय यहाँबाट हिँडेपछि बजेट अभावमा रोकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । कार्यक्रमअन्तर्गत परियोजनाले लालीगुराँस नगरपालिकाको सोल्मामा रहेको केप्छाकी बहुउद्देशीय नर्सरी फार्मलाई गुणस्तरीय अलैंचीका विरुवा उत्पादनका लागि १६ लाख ८४ हजार ५ सय ५८ हजार अनुदान दिएर सहयोग थियो ।


फार्ममा कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा अलैंचीका बिरुवा उत्पादन भएका छन् । यो फार्ममा पूर्वाधार र प्रविधि विकास, तालिम र बेर्ना उत्पादनमा प्राप्त रकम खर्च भएको फार्म सञ्चालक युवा किसान टेकबहादुर केप्छाकी मगरले बताए ।


प्राप्त रकममा मगरले १३ लाख ६४ हजार ५ सय ५७ रुपैयाँ आफ्ना तर्फबाट थप लगानी गरेका छन् । अहिले उनको नर्सरीमा २० लाख स्वस्थ अलैंचीका बिरुवा हुर्किरहेका छन् । परियोजनाले छथर गाउँपालिकाको ओख्रेमा रहेको छथर दुग्ध सहकारी संस्थालाई १ करोड २७ लाख ३४ हजार ५ सय रुपैयाँ अनुदान दिएर दूध उत्पादन र बजारीकरणमा सहयोग गरेको जनाएको छ ।


यो सहकारीमा ५ सयको हाराहारीमा दूध उत्पादक किसान संलग्न छन् । सहकारीले प्राप्त रकमबाट चिस्यान केन्द्र स्थापना, चिलिङ भ्याट, जेनेरेटर, मिल्क एनालाइजर मेसिन र दूध ढुुवानीका लागि टयाक्टर खरिद गरेको सहकारीका अध्यक्ष बुद्धिमान खुलालले बताए । १ करोड ७ लाख १८ हजार ५ सय सहकार्य गरेको संस्थाले किसानलाई भेला गरेर दूध डेरी फार्म व्यवस्थापनका लागि समेत तालिम दिएको छ । किसान र फार्मको व्यवस्थापनपछि अहिले दूध उत्पादन दोब्वरले बढेको अध्यक्ष खुलालले बताए ।


त्यस्तै सार्वजनिक दुग्ध उत्पादक सहकारी संस्था फुलेक, मुसाङखेल दुग्ध उत्पादक सहकारी संस्था मुसाङखेल, तीनजुरे दुग्ध उत्पादक सहकारी संस्था सोल्मा, म्याङलुङ दुग्ध सहकारी संस्था म्याङलुङ र छथर दुग्ध परिकार उद्योग हमरजुङलाई क्रमश: १३ लाख ४९ हजार ५ सय, २६ लाख ८१ हजार, २२ लाख ४५ हजार २ सय ५०, ११ लाख ३० हजार ५ सय र १९ लाख ७६ हजार २ सय ५० रुपैंया अनुदान दिएर सहयोग गरेको छ ।


परियोजनाले जिल्लाका ६ वटा दुग्ध उत्पादक सहकारी संस्था र दुग्ध परिकार उद्योगको क्षेत्रमा उत्पादन र बजार विकास अवधारणमा काम गरेको थियो ।

प्रकाशित : माघ ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?