कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभाको एक वर्ष, अघि बढ्न खाका तयार

विराटनगर — जनअपेक्षा अनुसार काम गर्न नसके पनि अब अघि बढ्ने खाका तयार भएको प्रदेश सांसदको अनुभव छ । प्रदेश १ संसद सञ्चालन भएको एक वर्षको अनुभवका आधारमा अबका दिनमा गर्नुपर्ने कामका लागि सहज भएको उनीहरूको अनुभव छ । 

प्रदेशसभाको एक वर्ष, अघि बढ्न खाका तयार

धनकुटाबाट निर्वाचित सांसद निरन राई सर्वभौमसत्ता सदन हो भन्ने कुराको महसुस प्रदेशसभाका बैठकमा सहभागी हुँदा हुने गरेको बताउँछन् । जनअपेक्षाअनुसार काम गर्न नसके पनि अघि बढ्ने खाका भने बनेको उनको अनुभव छ । ‘जनताका अपेक्षाअनुसार त काम गर्न सकेका छैनौं तर जति गरेका छौं त्यसले गोरेटोबाटो खन्ने काम भने गरेको छ,’ उनले भने, ‘एक बर्षमा निकै परिपक्व भएका छौं, अबका दिनमा अझ सबल प्रस्तुति सबैबाट हुन्छजस्तो लाग्छ ।’ भएका गल्तीलाई सुधार्दै अघि बढ्ने उनले बताए ।


सभामुख प्रदिपकुमार भण्डारीको बुझाइ पनि उस्तै छ । ‘एक वर्षले हामीलाई धेरै शिक्षा दिएको छ,’ उनले भने, ‘हिजो भएका कमीकमजोरीलाई सुधार्दै अघि बढ्ने प्रण सबैले गरेका छौं ।’ ‘साँघुरो सदन कक्ष सबैजना सिक्दै अघि बढ्दै एक वर्ष सिकाइमा नै बित्यो,’ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने, ‘सांसदका अगाडिको टेबल छैन, समर्थन गर्न होस् या विरोध गर्न ताली बजाउनुपर्ने अवस्था छ । सबै पक्षवाट कमीकमजोरी भएका छन्, भोलिका दिनमा आत्माआलोचना गर्दै सवैले सुधार गर्ने हो भने राम्रोसँग चल्न सकिन्छ ।’


प्रदेश सदनमा प्रवेश गरेको एक वर्ष बित्दा पनि सांसदको आचरणमा भने खासै सिकाइ देख्न सकिँदैन । तेस्रो बैठकको पहिलो दिन माघ २० को सदन चलिरहदा बीचमा सांसदहरूबीचको कानेखुसी सभामुख बसेको स्थानसम्म सुन्ने गरेको थियो । कसैका मोबाइलका घन्टी बजिरहेका थिए भने सभामुखले बोलिरहँदा मोबाइलबाट सेल्फी र फोटो खिच्नेको संख्या निकै थियो । प्रदेशसभाले तोकेको कोटसमेत नलगाई केही सांसद सहभागी भएका थिए । एक वर्षअघि प्रदेश १ को पहिलो बैठक बसेको थियो । प्रदेश १ प्रमुख गोविन्द तुम्बाहाङले २०७५ माघ २२ का लागि ‘प्रदेश सभाको प्रथम बैठक’ आह्वान गरेका थिए । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले गरेका थिए । माघ २९ मा नेकपाका सांसद प्रदिपकुमार भण्डारी सभामुखमा निविरोध निर्वाचित भए ।


त्यसपछि प्रदेशसभाका बैठकहरू कानुन बनाउन केन्द्रित भए । चैत १९ गतेको बैठकमा प्रस्तुत ‘प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४’ पारित भयो । यो नै पहिलो विधेयक थियो । प्रदेश सभाबाट पहिलो अधिवेशनवाट ११ वटा विधेयक पारित भएका थिए । प्रदेश सभाको पहिलो अधिवेशन २०७४ माघ २२ गतेबाट २०७५ बैशाख २६ गतेसम्म बस्यो । यो अवधिमा जम्मा २२ दिनमा ३९ पटक प्रदेश सभाका बैठक बसेका थिए । फागुन १४ गतेको बैठकबाट ११ सदस्यीय प्रदेश सभा नियमावली मस्यौदा समिति गठन भएको थियो । संशोधनपछि ‘प्रदेश नं १ को प्रदेश सभा नियमावली २०७४’ सर्वसम्मतिले पारित भयो ।


चैत २८ मा न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सदस्यहरूको मनोनयन गरियो । तर अहिलेसम्म सात समितिहरू सभापतिविहीन छन् । दोस्रो अधिवेशन २०७५ जेठ १७ बाट असोज २३ सम्म चल्यो । दोस्रो अधिवेशनले १२ वटा विधेयक पारित गर्‍यो ।

प्रकाशित : माघ २३, २०७५ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?