कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साक्षर जिल्ला घोषणा तयारी

कान्तिपुर संवाददाता

उदयपुर — उदयपुरलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको १२ वटा मापदण्ड पूरा गरिसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । 

आइतबार एक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साक्षर जिल्ला घोषणा गर्नेछन् । अनौपचारिक शिक्षा समिति उदयपुरले शुक्रबार पत्रकार सम्मेलन गरेर साक्षर जिल्ला घोषणा तयारी पूरा भएको जनकारी गराएको हो ।


घोषणासँगै सदरमुकाम गाईघाट बजारस्थित भगवती मन्दिर परिसरमा रहेको साक्षर स्तम्भको समेत अनावरण गरिने जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए ।


साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतले आफू र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न, सामान्य हिसावकिताव राख्न सक्नुपर्छ ।


त्यसैगरी मोबाइल र क्यालकुलेटरबाट अंक र अक्षर चिनेर प्रयोग गर्न, १ देखि १ सयसम्म गणना गर्न, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बनाउन जस्ता कार्य गर्न सक्नुपर्छ । केन्द्रले तोकेको मापदण्डभन्दा १ दशमलव ३२ प्रतिशत बढी साक्षर भइसकेको परियारले बताए ।


‘तथ्यांकअनुसार जिल्लामा ९६ दशमलव ३२ प्रतिशत सर्वसाधारण साक्षर भइसकेका छन्,’ प्रमुख परियाले भने, ‘उदयपुरमा १५ देखि ६० वर्ष उमेर समूह १ लाख ७४ हजार १ सय ८ जना रहेकामध्ये हालसम्म १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भइसकेका छन् ।’ बाँकी ६ हजार ४ सय २ जनालाई आगामी १ वर्षभित्रमा साक्षर बनाइसक्ने लक्ष्य लिइएको उनले बताए ।


शिक्षा कार्यालयले आफू मातहतमा रहेका निकायबाट घरधुरी सर्वेक्षण गरी तथ्यांक निकाले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख हरिहर धितालले बताए । साक्षर हुँदा मानव सूचाकंमा उदयपुर जिल्लालाई अव्बल बनाउन अभियानले सहयोग मिल्ने बताइएको छ ।


समृद्ध नेपाल निर्माणका लागि सरकारले साक्षरता बनाउन गरेको लगानीलाई सार्थक बनाउनुपर्ने समिति प्रमुख परियाको धारणा छ । साक्षरता शिक्षा २००४ सालबाट प्रारम्भ भएको हो । यससगै २०१३ बाट योजनाबद्ध रूपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गरिएको समन्वय इकाई प्रमुख धितालले बताए ।


कोही पनि नेपाली जनता शिक्षाबाट वञ्चित नहुन भन्ने हेतुले सरकारले २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापना गरी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?