कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वसन्तपुर–म्याङलुङ सडकमा खाल्डैखाल्डा

कान्तिपुर संवाददाता

तेह्रथुम — वसन्तपुर–म्याङलुङ सडक खण्डको ठाउँठाउँमा खाल्डा परेपछि सवारी ओहोरदोहोरमा समस्या भएको छ । सडककै कारण दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सडक दुर्घटना सचेतना अभियान सञ्चालन गरेको छ ।

वसन्तपुर–म्याङलुङ सडकमा खाल्डैखाल्डा

जिल्ला सदरमुकाम जोड्ने एक मात्र वसन्तपुर म्याङलुुङ २६ किलोमिटर सडकको अवस्था बिग्रिएर ज्यान गुमाउने र सास्ती भोग्ने बढ्न थालेपछि यो सडक भएर सवारीमा यात्रा गर्न जिल्लावासी डराउन थालेका छन् । करोडौं रकम खर्च गरेर पटकपटक कालोपत्रे र मर्मत गरिएको यो सडकमा हिउँदको समयमा पनि सवारी ओहोरदोहोर गर्न निकै समस्या छ । सडककै कारण सवारी नचल्दा धेरै जिल्लाबासीले अकालमा ज्यान गुमाइरहेको पूर्वजनप्रतिनिधि किशोरचन्द्र दुलालले बताए ।


सामान्य वर्षा हुनासाथ हिलो हुने यो कच्ची सडकमा सवारी दुर्घटनाको संख्या पनि वर्षेनी बढदो रहेको जिल्ला ट्राफिक प्रमुख सुवास केसीले बताए । मर्मतसम्भारको काम गुणस्तरीय नहुँदा चित्रे–म्याङलुङ खण्ड सडक पैदल यात्रु समेत हिँड्न नसक्ने गरी भत्किएको छ । क्षमताभन्दा बढी भार भएका सवारीले पनि सडक भत्काउने गरेका छन् ।


तराईबाट पहाडमा आउने निर्माण सामग्रीहरू सिमेन्ट, रड, बालुवा, इँटा, गिटी, पुल तथा सडकका भारी सामान, विद्युतका सामान, स्काभेटर, लोडर, डोजरजस्ता अत्यधिक भार बोकेर आउने सवारीले पनि सडकलाई भत्काउने गरेको छ । त्यस्तै पहाडबाट पूर्वी तराई निर्यात हुने गोलिया, तरकारीलगायत बढी भार बोकेर गुड्ने सवारीले पनि पहाडको यो सडक भत्काउन मद्दत पुर्‍याएका छन् ।


सडकमा परेका खाल्डाका कारण सवारी बीच बाटैमा हप्तौसम्म थन्किरहेको यातायात कर्मचारी दयाराम ढकालले बताए । साना सवारी यो सडकमा गुढ्न सक्ने अवस्था छैन । सडकमा प्रत्येक दिन क्षति बढिरहेको भए पनि यसको रोकथाम र मर्मत सम्भारको पहल कतैबाट पनि भएको छैन ।


सडक मर्मतसभारको जिम्मा लिएको सडक डिभिजन कार्यालय निर्माण व्यवसायीका अगाडि लाचार देखिएका छन् । बढी भार लिएर गुड्ने सवारीलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने बाहेक अन्य कारवाही गरेको देखिँदैन । सामान्य जरिवाना तिरेको भरमा यातायात व्यवसायीले सडकको भौतिक अवस्था नै विग्रने गरी सामान लिएर गुडिरहेका छन् ।


समयमा सडक मर्मत नगर्ने, मर्मत गरेको सडक पनि तीन महिनाभन्द बढी समय नटिक्ने, मर्मतसम्भारका काममा गुणस्तरहीन सामग्री प्रयोग गर्ने जस्ता कारणले वर्षेनी सडकको अवस्था जीर्ण बन्दै गएको छ । सडक मर्मतसम्भारको नाममा करोडौं खर्च भइरहे पनि ठेकेदारले राम्रो काम नगर्दा सडकको अवस्थामा सुधार हुन नसकेको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर अनुप सावादेनले बताए ।


सडकमा ठूलाठूला खाडल परेकाका कारण पूर्वी तराईदेखि वसन्तपुर हँुदै तेह्रथुमको म्याङलुङ, औंसीडाँडा, हलिमेला, संखुवासभाको गुफा, चैनपुर, खाँदबारी, मानेभन्ञ्याङ, ताप्लेजुङको साँघु लगायतका स्थानतर्फ हिँडेका सवारी ठाउँठाउँमा रोकिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?