कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यामोमाइल खेतीतर्फ किसान

कान्तिपुर संवाददाता

दमक — सामान्य लगानीमा राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान नगदे बाली ‘क्यामोमाइल’ खेतीतर्फ आकर्षित भएका छन् । उनीहरूले मकै र गहुँको खेती घटाएर क्यामोमाइल खेती सुरु गरेका हुन् । गौरादह नगरपालिका ५ मा यो वर्ष परीक्षणका लागि १० बिघामा क्यामोमाइल खेती गरिएको छ ।

क्यामोमाइल खेतीतर्फ किसान

जिल्लामा क्यामोमाइल खेती यो नै पहिलो हो । क्यामोमाइलको फूल मेसिनमा पेलेपछि तेल निकाल्न सकिन्छ । उक्त तेल सुगन्धित वस्तु उत्पादनका लागि विदेश निर्यात हुने गरेको छ । क्यामोमाइल तेल ४० हजार रुपैयाँ लिटरमा बिक्री हुने गरेको किसानको भनाइ छ । गौरादहस्थित नमुना एकीकृत खेती र स्थानीय भेषराज लोहनीले ५/५ बिघा जमिनमा क्यामोमाइल खेती सुरु गरेका हुन् ।


जडीबुडी समूहमा पर्ने क्यामोमाइलको अन्तर्राष्ट्रिय बजार राम्रो रहेको तथा मूल्य पनि राम्रो पाइने भएकाले यो खेती सुरु गरेको नमुना एकीकृत खेतीका अध्यक्ष बेदनिधि चापागाईले बताए । उनले गत वर्ष एक बिघामा क्यामोमाइल खेती गरेका थिए ।


उक्त खेतीबाट डेढ लिटर तेल उत्पादन भएको थियो । ‘उक्त तेल हामीले ४० हजार लिटरका दरले बिक्री गर्‍यौं’ चापागाईले भने, ‘राम्रो सम्भावना देखेपछि यो वर्ष खेती बढाएर ५ बिघामा लगाएका छौं ।’ क्यामोमाइल बर्खे धान काटिसकेपछि मंसिर अन्तिमतिर लगाइने गरिन्छ । क्यामोमाइलको फूल तीन पटकसम्म कटिङ गर्न सकिने चापागाईले बताए ।


उनको खेतीमा पहिलो पटक कटिङ गर्न मिल्ने गरी फूल फूलेको छ । उनीहरूले यो वर्ष प्रतिबिघा दुई लिटरभन्दा बढी तेल उत्पादन हुने गरी क्यामोमाइल खेती गरेको चापागाईंले बताए । काठमाडौंको एसेन्स नेपाल नामक् कम्पनीले नमुना एकीकृत खेतीको कार्यालय परिसरमा क्यामोमाइल प्रशोधन गर्ने मेसिन राखिको छ । ‘हाम्रै खेतीमा मेसिन राखेकाले क्यामोमाइल खेती गर्न अझै सहज भएको छ’ उनले भने ।


चौपायाले नखाने तथा जिल्लाको हावापानी पनि उपयुक्त भएकाले परीक्षण बर्षमै क्यामोमाइल खेती राम्रो सप्रिएको छ । उत्पादनपछि तुरुन्तै विक्री हुने भएकाले यो खेतीबाट किसानको जीवनस्तर उकास्ने सम्भावना रहेको सकुन्तला घिमिरेले बताइन । धान काटेर बाँझो रहने खेतमा क्यामोमाइल लगाएर आम्दानी लिन सकिने उनले बताइन । क्यामोमाइलको खेती गर्न सके विदेशी मुद्रा भित्र्याउन सकिने एसेन्स नेपालका प्रबन्ध निर्देशक कैलाश दीक्षितले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?