कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडित कर्मचारी नै निलम्बनमा

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले हातपात गरेका कर्मचारीलाई निलम्बन गरिएको छ । अस्पतालमा कार्यरत कार्यालय सहयोगी अमरबहादुर दाहाललाई बिहीबार निलम्बनको पत्र दिइएको हो ।

पोखरेलले आफ्नै कार्यकक्षमा सोमबार आफूलाई हातपात गरेको दाहालले आरोप लगाएका छन् । नसासम्बन्धी समस्याले पीडित दाहालले आफू कार्यरत रहेको मेडिकल वार्डबाट अन्य वार्डमा खटाइदिन आग्रह गरेका थिए । त्यही क्रममा उनीमाथि हातपात भएको थियो ।


‘नसासम्बन्धी रोगले हिंड्न समस्या भएको र मेडिकल वार्ड माथिल्लो तलामा रहेकाले चढ्न र ओर्लन समस्या भएको सुनाएर अरू वार्डमा सारिदिन आग्रह गरेको थिएँ,’ दाहालले भने, ‘मेरो कुरा नटुंगिंदै डाक्टर साहेबले दुई झापड हान्नुभयो र अभद्र गाली गर्दै गलहत्याएर कार्यकक्षबाट निकालिदिनुभयो ।’


घटना सार्वजनिक भएपछि डा. पोखरेलले दाहालसँग लिखित स्पष्टीकरण सोधेका थिए । २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस नगरेको भन्दै कार्यालय सहयोगी दाहाललाई एक महिनाका लागि निलम्बन गरिएको स्रोतले बतायो । अनाहकमा दुर्व्यवहार खेपेका कर्मचारीलाई उल्टै निलम्बन गरिएको भन्दै अस्पतालका अरू कर्मचारी पनि असन्तुष्ट बनेका छन् । दाहाललाई एक महिनाका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।


दाहालले तोकिएको समयमै प्रशासन फाँटका प्रमुख जनार्दन पौडेललाई स्पष्टीकरण बुझाउन गएको तर लिन नमानेको गुनासो पोखे । पौडेलले स्पष्टीकरण डा. पोखरेललाई नै बुझाउन भनेको उनले बताए ।


स्पष्टीकरणमा डा. पोखरेलबाट तोक लगाएर ल्याउन आफूले भनेको प्रशासन फाँट प्रमुख पौडेलले बताए । तर दाहालले त्यसो नगरेको उनको भनाइ छ । दाहालले अस्पतालमा आफ्नो ड्युटी २ बजेसम्म रहेको र डा. पोखरेल २ बजेपछि अस्पतालमा नबस्ने गरेकाले समयमा स्पष्टीकरण बुझाउन नसकेको बताए ।


मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेलले कार्यालय सहयोगी दाहाल कार्यकक्षमै आएर अशोभनीय रूपमा प्रस्तुत भएकाले धकेलेर बाहिर निकालिदिएको स्विकारे । कुटपिट भने नगरेको उनले दाबी गरे । ‘कार्यालय सहयोगी ११ औं तहका हाकिमलाई आएर एउटा वार्डबाट अर्कोमा खटाइदिनु भन्दै आउने हो ? उनले भने, ‘त्यसका लागि कार्यालयमा सिस्टम छ, त्यसैअनुसार आए भइहाल्थ्यो नि ।’

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?