कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद्‌मा उद्धारको व्यावहारिक अभ्यास

आनन्द गौतम

ताप्लेजुङ — तीनवटा घरको करेसामा दुई व्यक्ति डल्ला कुटेर माटो बनाउँदै थिए । उनीहरू धान रोप्ने तयारीमा थिए । परिवारका एक सदस्य घरभित्र खाजा बनाउने सुरसारमा थिए । घरमाथिबाट अचानक पहिरो झर्‍यो । पहिरोसँगै ढुंगा र काठका मुढा पनि बज्रिए ।

विपद्‌मा उद्धारको व्यावहारिक अभ्यास

पहिरोले तलको बस्तीका घर भत्कायो । घरभित्र बसेका गम्भीर घाइते भए भने बाहिर काम गरिरहेका एकजनालाई पहिरोले भेट्यो र सामान्य घाइते बनायो । काम गर्दै गरेकाहरू गुहार माग्न थाले । एफएम रेडियोले पहिरो गएको समाचार प्रसारण गर्‍यो । त्यही समाचार सुनेपछि सेना, प्रहरी र रेडक्रसको टोली उद्धारका लागि घटनास्थल पुग्यो ।


नजिकको गाउँका मान्छेहरू पहिरो गएको ठाउँमा पुगे । तर घाइते र पहिरोमा फसेकालाई उद्धार गर्न सकेनन् । उद्धार टोलीले घटनास्थल पुगेर अवलोकन गर्‍यो र थप जनशक्ति मगायो । स्थलगत पुगेको टोलीले रूखमा डोरी बाँधेर गम्भीर घाइतेलाई पहिरोको सुरु बिन्दु डाँडामा निकाल्यो ।


सामान्य घाइतेलाई डोरीले कम्मरमा बाँधेर माथिबाट तान्यो । गम्भीर अवस्था भएकालाई हेलिकप्टरबाट उपचारका लागि लैजानुपर्ने भयो । तर बीचमा खोलो थियो, पुल थिएन । खोलाको वारि हेलिकप्टर बस्ने ठाउँ थिएन । उद्धारकर्मीले हेलिकप्टर मगाए र खोलामा डोरी टाङन थाले । डोरीको मद्दतबाट घाइतेलाई तारेपछि हेलिकप्टरबाट उपचारका लागि पठाए ।


फेरि आगलागी भयो । झुरुप्प घर भएको बस्तीमा बालबालिकाले लाइटर सल्काउँदा आगो लाग्यो । घरका मान्छेले निभाउन सकेनन् । एकपछि अर्को घरमा फैलन थाल्यो । सुरक्षाकर्मीलाई खबर गरे । सुरक्षाकर्मीको टोली कोदालो, बाल्टीलगायत सामग्री लिएर घटनास्थलमा पुग्दा आगो फैलिइरहेको थियो ।


उनीहरूले दमकल बोलाए र आगलागी नभएका नजिकका घर भत्काउन थाले । दमकल आइपुगेपछि आगलागी नियन्त्रणमा आयो । त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिको टोली घटनास्थलको स्थलगत अवलोकनका लागि गयो । उक्त टोलीले क्षतिको विवरण संकलन गर्‍यो र राहत वितरण गर्‍यो ।


यो सबै घटना विपद्मा उद्धारका लागि गरिएको पूर्वाभ्यास हो । आगलागी, बाढीपहिरोजस्ता विपद्को बर्सेनि सामना गरिरहेका जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मीले पूर्वाभ्यास गरेका हुन् । सदरमुकाम फुङलिङको तोक्मेडाँडामा गरिएको अभ्यासमा आगो निभाउने दमकलदेखि घाइतेको उद्धार गर्ने एम्बुलेन्ससम्म साइरन बजाएर कुदाइएको थियो । यसले नगरवासीलाई झस्कायो ।


सदरमुकाम फुङलिङमा मात्रै अहिलेसम्म पाँच पटक आगलागी भइसकेको छ । सदरमुकामको मुख्य स्थान वीरेन्द्र चोक र प्रवेशद्वार तोक्मेडाँडाको आगलागीमा मात्रै एक अर्ब बढीको क्षति भएको थियो । शेर्पा टोल, टुक्रे, कफी हाउस छेउमा भएका आगलागीले थप क्षति पुर्‍यायो । गाउँका थुप्रै बस्तीमा यस्ता घटना भएका छन् । आगलागीले आर्थिक क्षति पुर्‍याइसकेको छ भने बाढीपहिरोले मानवीय क्षतिसमेत गरेको छ ।


प्रहरीको तथ्यांकअनुसार बर्खायाममा मानवीय क्षति नभएको कुनै वर्ष वर्ष छैन । चार वर्षअघि लिबाङ, खोक्लिङ, लिङतेप, खाम्लुङमा गएको पहिरोले ५९ जनाको ज्यान लिएको थियो । प्रत्येक वर्ष नयाँ ठाउँमा जाने पहिरोले जनधनको क्षति पुर्‍याउँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


त्यसैले स्थानीय सरकारका प्रमुखलाई समेत विपद्का लागि गर्नुपर्ने पूर्वतयारी र विपद्पछि गर्ने उद्धारका विषयमा जानकारी गराउन अभ्यास कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?