कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यका लागि मर्निङ वाक

जितेन्द्र साह

विराटनगर — ४५ वर्षीया शिक्षित गृहिणी गिर्जादेवी यादवको दिनको सुरुआत बिहान साढे चार बजेबाट हुन्छ । विराटनगरको ग्रामीण बस्ती जतुवाकी उनी देवरानी, जेठानी एवं छरछिमेकको समूहमा एक घण्टा डुलेर फर्कि घरको काममा लाग्छिन् । यादवले यस्तो दिनचर्या अपनाएको सात वर्ष भइसकेको छ ।

स्वास्थ्यका लागि मर्निङ वाक

‘छोराछोरी हुर्केपछि स्वास्थ्यका लागि समय निकाल्न थालेकी हुँ,’ उनले भनिन्, ‘मर्निङ वाकले शरीर चुस्त, दुरुस्त र फुर्तिलो हुँदोरहेछ, मनमा असल एवं सकारात्मक विचार आउँछ ।’ आफूलाई देखेर यादव समुदायका अन्य दिदीबहिनी पनि हिंड्न थालेको उनले जनाइन् ।


अर्का स्थानीय ६८ वर्षीया अहिल्या पोखरेलले दिनहुँ बिहान घुमफिरमा निस्कन थालेको १० वर्ष भएको बताइन् । ‘उच्च रक्तचाप र मधुमेहको रोगी भएकी हुनाले चिकित्सककै परामर्शअनुरूप ३०/४० मिनेट हिंड्छु,’ उनले भनिन्, ‘सडक खाली हुने र स्वच्छ हावामा सास फेर्न पाइने हुनाले बिहानीपखलाई रोजेकी हुँ । अत्यधिक वर्षा र जाडोको बेला भने घरभित्रै डुल्ने गरेको पोखरेलले बताइन् ।

पोखरेलको अनुसार दस वर्ष अघिको तुलनामा डुलुवाहरू बढेका छन् । ‘मैले सुरु गर्दा बिहान सडकमा यति धेरै जना देख्दैन्थेँ,’ उनले भनिन्, ‘अचेल त पैदल हिंड्नेले सडक भरिभराउ हुन्छ ।’


पोखरेलले भनेझैं बिहान चारदेखि सात बजेसम्म महानगर विराटनगरका सडकहरूमा सबै उमेरका एक्लै वा समूहमा हिंडिरहेको देखिन्छन् । ‘विराटनगर चाँडो सुत्छ, चाँडो जाग्छ,’ स्थानीय शान्तिचोकका ५४ वर्षीय रामकुमार लिम्बुले भने । क्यान्सरले गर्दा २०४९ सालमा बायाँ खुट्टा गुमाएका उनी बैसाखीकै सहाराले बिहान पाँच बजे एक्लै कोठाबाट निस्कन्छन् ।


‘चिकित्सकले क्यान्सरका रोगीका लागि मर्निङ वाक हितकर हुने भनेकाले बिस्तारै भए पनि हिंड्छु,’ लिम्बुले भने । पूर्वी पहाडबाट मधेस झरेका उनी एक खुट्टा गुमाउनुअघि बिजुली मिस्त्रीको काम गर्थे । अर्को खुट्टामा पनि समस्या नआउन् भनेर उनी सचेत भएका हुन् । बिहानी सडकमा सबै वर्ग, पेसा र तप्काका भेटिन्छन् ।


अरू बेला कर्मक्षेत्रबाहेक कतै नदेखिने अति व्यस्त प्राध्यापक, चिकित्सक, कर्मचारी एवं उद्योगी व्यवसायी पनि झिसेमिसे बिहानीमा सडकमा हिंडिरहेको वा दौडिरहेका हुन्छन् । तीमध्ये अधिकांश स्वस्थ भए पनि शरीरलाई बोझिलो हुन नदिन समय निकालेर डुल्न वा दौडन निस्केका हुन् । ‘बिहानीको सुरुआत राम्ररी भएमा दिनभरि रचनात्मक र ऊर्जाशील होइन्छ,’४७ वर्षीय विजय दाहालले भने ।


ट्राफिक चोकका व्यवसायी उनी दिनहुँ श्रीमतीसँग बिहानीपख घुम्छन् । विराटनगरका चर्चित नाक, कान र घाँटी रोग विशेषज्ञ डा. सञ्जीव ठाकुरले पनि पत्नी प्रा.डा. निशा घिमिरे, नाबालक छोरा संयम र मित्रजनसँग मर्निङ वाकलाई निरन्तरता दिइरहेका छन् ।

‘बिहानीको स्वच्छ हावामा घुमफिरले श्वासप्रश्वासको गुणस्तरमा वृद्धि भई शारीरिक एवं मानसिक स्वास्थ्यको व्यवस्थापनमा ठूलो सहयोग गर्छ,’ डा.ठाकुरले भने, ‘स्वच्छ खाना, राम्रो निद्रा र बिहानीको डुलाइले मोटोपना पनि बढ्न दिंदैन, यति भएपछि आधी रोग त त्यत्तिकै टाढा भाग्छ ।’


स्वास्थ्यप्रति सचेत रहँदै जीवनशैलीमा सुधारले सरल र सहज जीवन जिउन सकिने उनले औंल्याए । शरीरलाई स्वस्थ राख्ने मामिलामा प्रदेश १ का सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा.सरोज विशाल पनि सक्रिय छन् । उनी सदैव बिहानीको डुलाइसँगै योगाबाट दिनको आरम्भ गर्छन् । बिहानको हिंडाइ/दौडाइ शरीरका लागि सबैभन्दा श्रेष्ठ व्यायाम एवं रोगबाट मुक्त राख्ने प्रभावकारी उपाय भएको उनले बताए ।


‘खुला ठाउँमा गरिने हुनाले मर्निङ वाकलाई व्यायामहरूको महारानी भनिन्छ,’ डा.विशालले भने, ‘नियमित बिहानीपख हिंड्नेलाई जिम गइराख्नु पर्दैन ।’ विभिन्न शोधमा बिहानीको डुलाइले खराब कोलेस्ट्रल घट्ने, मुटु बलियो बन्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, रक्तचाप एवं मुटुको गति सामान्य रहने, हृदयघातको सम्भावना कम हुने, मांसपेशी र जोर्नीलाई बलियो बनाउने गरेको उल्लेख छ ।


‘शरीरको आवश्यकता एवं क्षमताअनुकूल नियमित हिंडाइ र क्याल्सियमयुक्त भोजनले जोर्नीहरूलाई सदैव दुरुस्त राख्छ,’ डा.विशालले भने । उनका अनुसार सूर्योदय अघि वातावरणमा अक्सिजनको मात्रा बढी र प्रदूषण कम हुने हुनाले शरीरमा पर्याप्त रक्त सञ्चार हुन्छ । ‘शरीरलाई शिथिल हुन दिंदैन, आलस्यलाई कम गर्छ,’ डा.विशालले भने ।


विभिन्न स्वास्थ्य सर्वेक्षण, अध्ययन एवं अनुगमनअनुसार मर्निङ वाक सही तरिकाले गर्नु पनि उत्तिकै जरुरी छ । ‘घरबाट निस्कनेबित्तिकै दौडिहाल्नु भएन, बिस्तारै पाइला चाल्नुस्, अनि गति बढाउनुस, थकाइ लागेमा आराम गर्नुस्,’ डा.विशालले भने, ‘फेरि अघि बढ्नुस् ।’


उनका अनुसार दिनहुँ ३ किमिसम्मको डुलाइलाई उक्तम मानिन्छ । ‘तर, यो व्यत्तिको शारीरिक अवस्था एवं विज्ञको परामर्शमा भर पर्छ,’ डा.विशालले भने, ‘कसैले चाँचाँडो हिंडेर १५ मिनेटमा पसिना निकाल्छन् भने कसैले बिस्तारै हिंड्दै आधी घण्टामा ।’

प्रकाशित : फाल्गुन २०, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?