कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी सवारी दुरुपयोग

डम्बरसिं राई

खोटाङ — जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग बढेको छ । स्थानीय तह र सरकारी निकायका सवारी साधन दुरुपयोग भएका हुन् । सरकारी कर्मचारी तथा जनप्रतिनिधिले स्वीकृतिबिनै सवारी साधन प्रयोग गर्ने गरेका छन् ।

जनप्रतिनिधिहरूले छोरा–छोरी तथा आफन्तलाई सवारी साधन उपयोग गर्न दिइएको पाइएको छ । त्यस्तै कर्मचारीहरूले पनि निजी कामका लागि सरकारी सवारी साधन दुरुपयोग गरिरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।


‘केही समयदेखि दुरुपयोग नियन्त्रण गरिएको छ,’ प्रजिअ पौडेलले भने, ‘जनप्रतिनिधिहरूको सन्दर्भमा चाहिँ उहाँहरूको नैतिक बन्धन हुनुपर्ने हो ।’ सवारी साधन कसले चलाउने कसले नचलाउने भन्ने जनप्रतिनिधिहरूले बुझ्नुपर्ने उनले बताए ।


जिल्लाका आठ पालिका र दुई नगरपालिकामध्ये अधिकांशले सवारी साधन किनेका छन् । उक्त पालिकाहरूमा पनि सवारी साधनको दुरुपयोग भइरहेको गुनासा आएका छन् । जनप्रतिनिधिका आफन्त, कर्मचारीका आफन्त लगायतले सवारी साधनको दुरुपयोग गरिरहेको गुनासा आएका हुन् ।


उक्त सवारी साधनहरूमा पालिका तथा अन्य सरकारी कार्यालयहरूले नै इन्धन खर्च ब्यहोर्नुपर्ने भएकाले आर्थिक भार पर्ने स्थानीयको गुनासो छ । जिल्लाको दस पालिकामध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १७ वटा मोटरसाइकल, दुई वटा गाडी छन् । यसमध्ये १५ वटा वडामा १/१ वटा र अन्य दुईवटा नगरपालिकाका जनप्रतिनिधिकै आसपासमा प्रयोग हुने गरेको गुनासो छ ।


प्रत्येक वडामा वितरण गरिएको मोटरसाइकल पनि जनप्रतिनिधिकै आफन्तसम्मले प्रयोग गर्ने गरेको गुनासो छ । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा एउटा स्कारपी गाडी र १९ वटा मोटरसाइकल खरिद गरिएको नगर प्रमुख इवन राईले बताए । मोटरसाइकल कर्मचारी तथा वडाध्यक्षहरूले प्रयोग गर्ने गरेको नगर प्रमुख राईले बताए ।


ऐँसेलुखर्क गाउँपालिकाले एउटा स्कारपी गाडी र १६ वटा मोटरसाइकल खरिद गरेको छ । यसमध्ये वडा अध्यक्ष, कर्मचारी लगायतले उक्त सवारी साधन प्रयोग गर्दै आएको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । रावाबेंसी गाउँपालिकामा एउटा स्कारपी गाडी र चारवटा मोटरसाइकल खरिद गरिएको छ ।


यसमध्ये स्कारपी गाडी पालिका अध्यक्ष लीलानाथ निरौलाले प्रयोग गर्छन् भने अन्य चार मोटरसाइकल चाहिँ पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतले प्रयोग गर्दै आएको अध्यक्ष निरौलाले सुनाए ।


केपिलासगढी गाउँपालिकामा १३ वटा मोटरसाइकल खरिद गरिएको छ । यसमध्ये पालिकामा पाँच र अन्य वडाहरूमा प्रयोग गरिदै आएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । जन्तेढुंगा गाउँपालिकाले दसवटा मोटरसाइकल गरिद गरेको छ । यसमा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, शिक्षा शाखाका कर्मचारीले प्रयोग गरिरहेको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंकर राईले बताए ।


यसबाहेक अन्य ६ वटै वडा अध्यक्षहरूले एक–एक वटा मोटरसाइकल प्रयोग गरिरहेको अध्यक्ष राईले बताए । सवारी साधन दुरुपयोग भएको भन्ने सन्दर्भमा वडा अध्यक्ष लगायतका अन्यले मोटरसाइकल चलाउन नजान्ने भएकाले समस्या भएको अध्यक्ष राईले बताए । गाडी खरिद गर्ने बजेटले ब्याकलोडर खरिद गरेर सबै वडामा सडक पुर्‍याइएको समेत अध्यक्ष राईले सुनाए ।


दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एउटा स्कारपियो, मोटरसाइकल छवटा छन् । त्यस्ता सवारी साधन अन्यले चलाउनु अनियमितत हुने भएकाले सम्बन्धित जनप्रतिनिधिले मात्र प्रयोग गर्ने गरेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले दाबी गरे ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?