कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ पर्यटकीय गन्तव्य

चन्द्र कार्की

तेह्रथुम — स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न फेदाप गाउँपालिकाले पर्यटन व्यवसाय प्रवर्द्धन अभियान सुरु गरेको छ  । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको खोजी गरी पूर्वाधार निर्माणमा समेत गाउँपालिका जुटेको हो  ।

पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा ५३ लाख रुपैंयाँ बढी बजेट छुट्याएको छ । गाउँपालिकाले वडा १ देखि ५ सम्मका पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन अध्ययन अवलोकन र नयाँ पर्यटकीय गन्तव्यको समेत खोजी थालेको गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले बताए ।


फेदाप गाउँपालिकालाई जिल्लाकै नमुना पर्यटकीय गाउँपालिका बनाउन वडा स्तरबाटै पर्यटकीय स्थलको पहिचान गर्न थालिएको अध्यक्ष चोङवाङको भनाइ छ । स्थानीय तहमा आफूहरू आएलगत्तै ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गरी संरक्षणका लागि समेत अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता नवीन चोङबाङले बताए ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पहिचान गरीे ग्रामीण स्तरमा ‘पर्यटन विकास र सम्भावना’ विषयक कार्यक्रम व्यापक रूपमा सञ्चालन गरिने प्रवक्ता चोङबाङको भनाइ छ । दक्षिण एसियाकै अग्लो भनिएको ह्यात्रुङ झरना (३६५ मिटर) यही गाउँपालिकामा छ । वडा ४ र ५ को सीमामा रहेको झरनाको पर्यटकीय विकासका लागि गाउँपालिकाले यो बर्ष २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यही झरनालाई केन्द्र भागमा राखेर आसपासका ७ स्थानका पर्यटकीय गन्तव्य समेत छनोट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीय विकास गर्न अभियानै संचालन गरिएको प्रवक्ता नवीनले बताए । पर्यटन क्षेत्रको विकासबिना गाउँपालिकाको आर्थिक समृद्धि नहुने सोचेर पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्च गरिएको उनले बताए ।


गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जात जाति र समुदायको संस्कृति, वेशभूषा, खानपान रहनसहन लगायतका विषयलाई समेत प्रर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिकाले जनाएको छ । पर्याप्त सम्भावना रहेर पनि पर्यटकीय विकासका दृष्टिले अपेक्षित विकास हुन नसकेकाले पर्यटन प्रवर्द्धनमा अभियान नै सुरु गरीएको गाउँपालिकाले जनाएको छ ।

गाउँ बस्तीका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोड्दै घरबास कार्यक्रमको विकाससमेत तत्कालै गरिने अध्यक्ष चोङबाङको भनाइ छ । त्यसका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।फेदाप गाउँपालिकाका प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचानलाई पर्यटन बजारमा ल्याउने उद्देश्यका साथ काम भैरहेको छ । ह्यात्रुङ झरना फेदाप गाउँपालिकाको मात्र नभएर तेह्रथुमको पर्यटकीय पहिचानको रुपमा रहेको छ । फेदाप गाउँपालिका धार्मिक एवं सांस्कृतिक रूपमा समेत अत्यन्त महत्त्वपूर्ण स्थल मानिन्छ ।


यहाँसम्म आएका पर्यटकले वारिपारिका रमणीय गाउँका साथै जातीय संस्कृतिको दृश्य हेर्न पाउँछन् । पर्यटकलाई लक्षित गरी केही बस्तीमा घरबास कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गाउँपालिकाले थालेको छ । घरवासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइने गाउँपालिको जनाएको छ । जिल्लामै आफ्नो गाउँपालिकालाई पर्यटन क्षेत्रमा अव्बल बनाउन एकीकृत पर्यटन गुरुयोजना समेत निर्माण गर्ने काम चलिरहेको छ ।

पहिलो चरणमा गाउँपालिकाले सबै वडामा कम्तीमा एउटा पर्यटकीय क्षेत्र पर्ने गरी नयाँ पर्यटकीय गन्तव्य स्थान छनोट गरेको छ । पहिरो नम्बरमा ह्यात्रुङ झरनालाई राखेको गाउँपालिकाले अन्य ६ वटा पर्यटकीय गन्तव्य स्थानको छनोट भर्खरै सम्पन्न गरेको छ ।अध्यक्ष चोङबाङका अनुसार १, २ र ३ नम्बर वडा समेट्ने ओयाक्जुङ जलजले र सिम्लेको सीमामा रहेको चिचिलिङ पोखरी र भ्यागुते ढुंगा, सोही वडामा रहेको गुल्डुङ डाँडा, वडा २ ओयाक्जुङमा रहेको मझौ गुफा र भैंसे पोखरी, वडा ३ जलजलेमा रहेको माङगेनायक पदमार्ग, गाउँपालिका केन्द्र रहेको वडा १ पोक्लाबाङ बजार केही माथी रहेको भगवती डाँडा मन्दिर क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य स्थान छनौट गरिएको छ । यी क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माण धमाधम भैरहेको गाउँपालिकाले जनाएको छ ।


छनौट गरीएका पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण, पहुँच सडक, मोटर बाटो निर्माण, पिउने पानीको व्यवस्था, घरबास कार्यक्रम, सुरक्षा व्यवस्था, धार्मिक क्षेत्रमा मन्दिर निर्माण तथा मूर्ति स्थापना, हावा हुन्डरी तथा पानी आउँदा बस्ने स्थान, बिश्राम स्थल, इन्टरनेट संजाल तथा बिजुली विस्तारलगायतका काम गरीने प्रवक्ता नवीनले बताए ।


‘गाउँपालिकाभित्र पर्यटकलाई देखाएर पैसा लिन सकीने प्रसस्तै संभावना छ’ गाउँपालिकाका प्रवक्ता नवीनले भने ‘पर्यटन क्षेत्र बाटै गाउँपालिकावासीको आर्थिक समृद्धि हामीले देखेका छौं ।’ आफ्नो गाउँपालिका संँग सीमा जोडिएका अन्य गाउँपालिका र नगरपालिकासँगसमेत सहकार्य गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न पहल थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?