कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्तबाटै असुरक्षित

डम्बरसिं राई

खोटाङ — एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्मा फागुन १७ पक्राउ परे ।

फागुन १३ गते दिउसो तीन चार बजेतिर घरैमा जबरजस्ती करण गर्न खोजेपछि पीडितको जाहेरीको आधारमा पक्राउ परेका हुन् । यद्यपि यो मुद्दा मिलाउने कोसिसले ढिलाइ भएको प्रहरीले संकेत गरेको छ । यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा महिला यौनजन्य अपराधलाई विश्लेषण गर्दा आफन्तबाटै असुरक्षित हुने गरेको खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।


उनका अनुसार यस आर्थिक वर्षमा भएका यौनजन्य अपराधका २० घटनामध्ये १८ वटा यौनजन्य अपराध आफन्त, छिमेकी तथा चिनेजानेबाटै भएको हो । दुईमध्ये एक जना प्रहरीबाटै र एक जना नचिनेका व्यक्तिबाट यौनजन्य अपराध भएको डीएस्पी केसीले सुनाए ।


सामाजिक सञ्जालको दुरूपयोग, आफन्त तथा अभिभावकको बेवास्ता, वैदेशिक रोजगारलगायतले अपराध मौलाएको डीएसपी केसीको भनाइ छ । ‘आफ्ना बालबालिकाप्रति अभिभावकहरूको बेवास्ताले यौनजन्य अपराधका घटना भएको पाइएको छ ।’ डीएसपी केसीले भने, ‘यसका साथै सामाजिक सञ्जालको दुरूपयोग र वैदेशिक रोजगारले समेत यौनजन्य अपराध भएको देखिन्छ ।’


कतिपय घटना सहमतिमै यौनसम्पर्क भएको तर अन्यले थाहा पाएपछि यौन अपराधमा परिणत भएको समेत पाइएको छ । श्रीमान् विदेशमा भएको र यौन चाहना पूरा गर्दा कसैले देख्यो भने यौनजन्य अपराधमा परिणत हुने गरेको स्थानीयको भनाइ छ । यद्यपि यो विषय भने पुष्टि नहुने डीएसपी केसीले सुनाए ।


यौनजन्य अपराध न्यूनीकरणमा जनचेतनाले मुख्य भूमिका खेल्ने डीएसपी केसीको दाबी छ । ‘अभिभावक तथा समाजले राम्रो भूमिका निर्वाह गर्‍यो भने यौनजन्य अपराध न्यूनीकरण सम्भव छ ।’ डीएसपी केसीले भने, ‘कतै घटना घटिहाले कानुनी बाटो अपनाउन मद्दत गर्नुपर्छ ।’ डीएसपी केसीले थपे, ‘पीडित आफैंले पनि कानुनी दायरामा ल्याउनुपर्छ ।’


पछिल्लो समय यौनजन्य अपराध बढेको नभई कानुनी दायरमा आएको डीएसपी केसीको तर्क छ । ‘यौनजन्य अपराध अहिले मात्र होइन पहिले पनि हुन्थ्यो ।’ डीएसपी केसीले भने, ‘सूचनाको पहुँच र कानुनी व्यवस्था र उपचारले गर्दा पनि यौनजन्य अपराध दायरामा आएको हो ।’


खोटाङमा यौनजन्य अपराध बढेपछि प्रहरीले सचेतना अभियानै सञ्चालन गरेको छ । विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरूमा लैंगिक हिंसा, साइबर क्राइम, लागू औषधलगायत विषयमा सचेतना अभियान सञ्चालन गरिएको छ । यसअन्तर्गत करिब ३५ ठाउँमा यो कार्यक्रम सम्पन्न भइसकेको डीएसपी केसीले सुनाए ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका सबै पालिकाहरूसँग सम्झौता भएको र त्यसैअनुसार अभियान भइरहेकाले यसले पनि यौनजन्य अपराध न्यूनीकरणमा सहज भएको डीएसपी केसीले सुनाए । यद्यपि स्थानीय तहले सामाजिक विकासअन्तर्गतका कार्यक्रमहरूप्रति भने चासो नदेखाएको स्थानीय बुद्धिजीवीहरूको गुनासो छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?