कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाग्यो फगुवा

जितेन्द्र साह

विराटनगर — मुलुकको धेरै भागमा बिहीबारबाट स्थानीय मौलिक संस्कृति एवं परम्पराअनुरूप होली पर्व सुरु भएको छ । देशभरि विभिन्न जाति तथा समुदायकाले होली मिलन समारोह र होली हंगामा कार्यक्रमको आयोजना गरिरहेका छन् ।

लाग्यो फगुवा

तर, तराई–मधेसका अधिकांश बस्तीमा सरस्वती पूजाकै दिनदेखि होली गायन सुरु हुने गरेको कमैलाई थाहा छ । यता यसलाई ‘होली महफिल’ पनि भनिन्छ । महाशिवरात्रिदेखि यसले गति लिइसकेको हुन्छ ।


‘माता सरस्वतीको आराधना गर्दै हाम्रो सांगीतिक फागु सुरु हुन्छ, ढोलक, हार्मोनियम, मृदंगा र खजेडीको धुनमा फगुवा गीत गाउँछौं,’ विराटनगर–१४ जतुवा बस्तीका ४७ वर्षीय मन्तलाल यादवले भने । उनले महाशिवरात्रिदेखि जमघट बढ्न थालेको बताए । यादवले भने, ‘शिवपार्वतीदेखि राधाकृष्णको पौराणिक होलीको बखान गर्दै लय बाध्छौं ।’

सीमावर्ती नेपालीहरूले पारिका शिवपार्वती एवं राधाकृष्णको मठमन्दिरसम्म पुगेर फागु गीत र जोगिरा सरर... गाउँदै आएको उनले बताए । ‘पौराणिक कथा र किंवदन्ती अनुसार आराध्य देवदेवीहरूले समेत होली मनाएको विश्वासका कारणले तिनै भगवानको नाम लिएर फागु गायन पनि सुरु हुन्छ,’ यादवले भने, ‘पारिका विहारीभन्दा सभ्य शैलीमा मनाउँछौं ।’

कृष्णकै वंशज मानिने यादव समुदायको होली उसै पनि ठूलो पर्व भएको उनकै दाजु ५९ वर्षीय सन्तलाल यादवले औंल्याए । पेसाले किसान दुवै दाजुभाइलाई यहाँ सामाजिक, धार्मिक एवं सांस्कृतिक गतिविधिको अभियन्ताका रूपमा चिनिन्छ । उनीहरूकै अगुवाइमा यहाँ मन्दिर एवं सामुदायिक भवनहरू निर्माण भएका छन् । मोरंगमै जतुवालाई यादव समुदायकै सबैभन्दा ठूलो बस्ती मानिन्छ ।

झन्डै ७ हजार मतदाताको बसोबास भएको यो यादव बहुल समुदायमा अधिकांश किसान छन् । प्रायः जसो परिवारले गाई वा भैंसी पालेका छन् । मोरङमा सबैभन्दा बढी गौशाला भएको क्षेत्रमध्येको जतुवा खानपीन र संस्कृतिको धनि पनि हो । ‘तर, हाम्रो समुदायका नयाँ पुस्तामा सहरबजारको कृत्रिम होलीको प्रभाव पर्न थालेको देख्दै छु, भारतीय र अँग्रेजी भाषाको डिजे संगीत घन्काएर माहोल नै अशान्त पार्ने प्रवृत्तिलाई लिएर चिन्तित छु,’ सन्तलालले भने, ‘यस्तो अराजक शैलीलाई बेलैमा लगाम लगाउन हामीले सांस्कृतिक जागरणको अभियान चलाएका छौं ।’

फागु र वसन्त ऋतुको आगमनको स्वागतमा साँझदेखि रातिसम्म सजिने होली महफिलमा स्थानीय युवापिँढीलाई सहभागि गराइ रहेको उनले जनाए । ‘हामी अग्रजबाट नयाँ पुस्तामा फागु संगीत र संस्कृतिको हस्तान्तरण होस् भन्ने चाहन्छौं,’ सन्तलालले भने ।

महानगरको एक प्रतिष्ठित कलेजमा विज्ञान संकायमा ११ कक्षामा अध्ययरत स्थानीय युवा सौरभ यादवले धेरै परम्पराअनुरूप र थोरै मात्र आधुनिक शैलीमा मनाउने गरेको बताए । ‘पढाइबाट समय निकालेर स्थानीय ठूलाबडासँग होली महफिलमा बस्छु, गाउँछु,’ उनले भने, ‘समयअनुरूप परिवर्तन स्वाभाविक भए पनि परम्परा र संस्कृति कहिल्यै मर्दैन ।’

महिलापुरुषले एक अर्काको भेषभूषामा गाउँदैनाँच्दै होली मनाउने गरेको स्थानीय गुरुकुलका शिक्षक उमेशलाल यादवले बताए । ‘होलीले महिलापुरुषबीच विभेद नभएको भन्दै समानताको सन्देश दिन्छ,’ उनले भने । उनका अनुसारचाहिँ राजनीतिले होलीको उल्लासमा प्रभाव पारेको छ ।

विभिन्न दल र संगठनमा विभाजित स्थानीयले बेग्लाबेग्लै समूहमा गाउने र मनाउने गरेकाले यस्तो भएको यादवको बुझाइ छ । ‘धर्म र संस्कृतिलाई राजनीतिबाट टाढा राख्नुपर्छ,’ उनले भने, ‘एकै थलोमा मनाएमा बढी रमाइलो हुन्छ ।’ मौलिक संस्कृति एवं परम्पराअनुरूप फगुवा मनाउने मामिलामा स्थानीय महिला पनि जागरूक छन् । पालैपालो हरेकको घरमा सजिने होली महफिलमा सहभागीको स्वागत गर्ने जिम्मेबारी उनीहरूकै हुन्छ ।

‘पुरुषहरूले गाउने हो, माहोल भने हामीले बनाइदिनुपर्छ, बस्नेखाने समस्त बन्दोबस्ती मिलाउने जिम्मेबारी हाम्रै हुन्छ,,’४० वर्षीया सरस्वती यादवले भनिन्, ‘खिर, पुरी, थरिथरिका तरकारी, पुवा र दहीवाडा पकाइ महफिल टोली र स्रोतालाई पस्किन्छौं ।’ यादवले भनेकी खानपिन सामग्री मधेस भेकमा होलीको विशेष परिकार पनि हुन् ।

महानगरपालिकाका तर्फबाट यादव जतुवाकी स्वास्थ्य स्वयं सेविका हुन् । बाल्यकालदेखि आफूले पनि मजाले होली मनाउने गरेको हुनाले यस बारेमा धेरै जानकारी भएको उनले बताइन् । उनको माइती झापाको दमक हो । पूर्वकै पहाडे बस्तीमा हुर्केबढे पनि मधेसको होलीको रंग विहेपछि यही गाउँमा अनुभव गरेको सरस्वतीले बताइन् ।

‘चारपाँच दिन अगावैदेखि यहाँको वातावरण होलीमय हुन्छ,’ सरस्वतीले भनिन् । स्वास्थ्यसम्बन्धी चेतनाका कारणले छोराछोरी र छरछिमेकका बालबालिकाले बजारबाट अर्गानिक रंग खोजेर ल्याइ खेल्ने गरेको उनले बताइन् । सरस्वतीले भनिन्, ‘स्थानीय युवायुवतीले गोकुल परम्परा बमोजिम मटा (माटाको घैला) फोड्छन् ।’

डेढ दसक अघिसम्मको तुलनामा होलीमा परिवर्तन आएको उनी स्वीकार्छिन् । ‘त्यो बेला यो बस्तीमा एक महिनासम्म रंग खेलेर मनाउँथ्यौं,’ उनले भनिन्, ‘दिनहुँको व्यस्तता र समय अभावले अचेल होलीको वास्तविक रौनक दुई/तीन दिन मात्र हुन्छ, तर उल्लास र उमंगकासाथ मनाउँछौं ।’

तराई–मधेसको रीत अनुसार विहेपछिको पहिलो फागु छोरीले माइतमा मनाउनुपर्ने हुनाले यतिखेर मधेसमा रमझम झनै बढी हुने गरेको सरस्वतीले औंल्याइन् । ‘सबैभन्दा पहिले घरका ज्येष्ठ नागरिकको पाउमा रंग हालेर आशीष लिएपछि हाम्रो होली सुरु हुन्छ,’ उनले भनिन्, ‘देवरभाउजुका लागि यो विशेष दिन हो, एक अर्कालाई रंग दल्ने मौका गुमाउँदैनन्, हामी नन्द र उनको श्रीमानलाई समेत रंग र अबीर छ्याप्दै धुम मचाउँछौं ।’

तराई–मधेसका विभिन्न जिल्लामा बसोबास गर्ने जनजाति, आदिवासी, दलित, मधेसी र मारवाडीले आफ्नै मौलिक संस्कृति एवं परम्पराअनुरूप फागु मनाउने गरेको संस्कृतिका जानकार सुरेश मिश्रले बताए । ‘कतै महफिल सजिन्छ, कतै गाउँदै हिडेको देखिन्छन्, कतै संगीतमय सांस्कृतिक झाँकी निकालिन्छ,’ उनले भने, ‘सबैले आ–आफ्नै संस्कृतिअनुरूप मनाउने यो पर्व अन्ततः विविध रंगहरूकै मेल त हो ।’

प्रकाशित : चैत्र २, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?