१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ब्याडमिन्टन खेलमा आकर्षण

तेह्रथुम — बिहान ४ नबज्दै खेलाडी ब्याडमिन्टन कोर्टमा पुगिसकेका हुन्छन् । ढिलो भए पालो पाउन मुस्किल हुन्छ । हरेक बिहान सदरमुकाम आसपासका कोर्टमा कम्तीमा पनि १ सय ५० भन्दा बढी खेलाडी निस्कन्छन् ।

ब्याडमिन्टन खेलमा आकर्षण

‘व्याडमिन्टन खेल यति बेला तेह्रथुमेहरूको नसा बनेको छ,’ म्याङलुङका व्याडमिन्टन खेलाडी गोपाल खापुङले भने, ‘खेल महँगो भए पनि धेरैको आकर्षण यो खेलमा बढेको छ ।’ केही वर्षअघिसम्म ४० वर्ष उमेर काटेकाको रोजाइमा मात्र यो खेल पर्थ्यो । तर, अहिले युवा खेलाडीको पनि व्याडमिन्टन खेलमा आकर्षण बढ्दो छ ।


इन्डोरमा खेलिने यो खेल तेह्रथुममा भने खुला चौरमा खेलिन्छ । व्याडमिन्टन खेलका लागि सरकारी स्तरबाट छुट्टै हल बनाउन नसक्दा हावा, पानी, घाम र प्रतिकूल मौसम यो खेलका लागि बाधा बन्ने गरेको छ । जिल्लामा २ सय बढी खेलाडी उत्पादन भइसकेको जिल्ला व्याडमिन्टन संघले जनाएको छ । व्याडमिन्टन खेलप्रति आकर्षण देखेर म्याङलुङमा ५० लाख खर्चेर व्याडमिन्टन हल निर्माण गरिएको छ । खेलाडी धेरै भएकाले एउटा हलमा खेलाउन नसकिएको महेश आचार्यले बताए ।


व्याडमिन्टन खेल्न सरकारी कार्यालय र स्थानीय संघसंस्थाका कर्मचारी, स्थानीय व्यापारी, होटल व्यवसायी र अन्य पेसा व्यवसायका युवाको समेत उपस्थिति हुने गरेको छ । पहिलो पटक सरुवा भएर यहाँ आएका सरकारी कर्मचारी र स्थानीयको चिनजान समेत व्याडमिन्टन कोर्टमै हुने गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लिलानाथ पोखरेलले बताए ।


व्याडमिन्टन खेलप्रति खेलाडीको आकर्षण बढ्दै गएपछि जिल्ला समन्वय समिति अगाडि रहेको पुरानो कोर्ट साँघुरो हुँदै गएको छ । म्याङलुङमा मात्र कोर्टको संख्या ७ पुगेको छ । एउटा कोर्ट निर्माणका लागि ८० हजारदेखि १ लाखसम्म खर्च भएको छ ।


जिल्ला खेलकुद विकास समिति अध्यक्ष केशव भट्टराईका अनुसार व्याडमिन्टन खेलको विकासका लागि इन्डोर कोर्ट बनाउने र प्रशिक्षक ल्याउने तयारी भइरहेको छ । त्यसका लागि जिल्ला खेलकुद विकास समितिको नाममा सदरमुकाम म्याङलुङमा रहेको ८ रोपनी जमिनको तारघेर गरी संरक्षण गर्ने काम भइसकेको छ ।


व्याडमिन्टन खेलप्रति धेरैको आकर्षण बढदै गएपछि स्थानीय नविन लिम्बूले र्‍याकेटको जाली बुन्न झन्डै २ लाख रुपैया लगानी गरेर मेसिन नै खरिद गरी ल्याएका छन् । र्‍याकेटको जाली बुन्ने कामबाट लिम्बूले रोजगारी र आम्दानी दुवै पाएको बताए । महँगो खेलका रूपमा लिइने यो खेल खेल्न खेलाडीले ७ देखि १५ हजारसम्मको र्‍याकेट बोकेका छन् ।


र्‍याकेट जस्तै महँगो भए पनि २/३ महिनाभन्दा बढी नथाम्ने गरेको खेलाडी सभा पौडेलले बताए । दैनिक एउटा कर्क चाहिन्छ । कर्कचाहिँ खेलाडीबीच आपसमा रकम संकलन गरी किन्ने गरे पनि र्‍याकेटचाहिँ खेलाडी आफैंले किन्ने गर्छन् ।

प्रकाशित : चैत्र ४, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?