कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोपोन्मुख सामग्री पढ्दै

भिन्न संस्कृति, बढ्दो सहरीकरणले नयाँ पुस्तामा पुराना सामग्रीप्रति चासो घट्दै गएको छ
विनोद भण्डारीे

विराटनगर — सीमावर्ती जहदा गाउँपालिका १ को जनता बाल आधारभूत विद्यालयमा तराईका सिमान्तकृत दलित समुदायका सरबरिया र केवट, आदिवासी समुदायका राजबंशी समुदायका बालबालिका अध्ययनरत छन् । उनीहरू नेपाली खासै प्रस्ट बोल्न र बुझ्न सक्दैनन् । आफ्नै भाषा फरर बोल्छन् ।

लोपोन्मुख सामग्री पढ्दै

उनीहरूलाई विभिन्न समुदायले प्रयोग गर्ने लोपोन्मुख अवस्थाका सामग्रीबारे भने जानकारी छ । पहाडी क्षेत्रका किराँत बस्तीबाट लोप हुँदै गएका बिनायो र मुर्चुङगा भोटे समुदायको लोप हुँदै गएको भोटे ताल्चा लोपोन्मुख नेपाली बाद्यवादन, नेपाली पहिरन ढाका, टोपी, दौरा, सुरुवाल, चौबन्दी चोली र सारीबारे जानेका छन् । यस्तै, सन्थाल जातिले प्रयोग गर्ने ढाकी र मधेसमा डोरी बाटा प्रयोगमा ल्याइने टेरुवा बिर्सिर्दै गएको डोली, हलो, पेरङगो, ढिकी, जाँतो, मानो र पाथीको उनीहरूलाई जानकारी छ ।


विद्यालयले शैक्षिक संग्रहालय स्थापना गरेर लोपोन्मुख त्यस्ता सामग्रीको संरक्षण गरेपछि त्यहाँ अध्ययनरत बालबालिकाले कला र संस्कृति, प्रयोगमा ल्याइएका सामग्री र पहिरनबारे जानकारी पाएका हुन् । ‘यस्ता पुराना सामानको नाम सुनेको पनि थिएन ।’ कक्षा ७ मा अध्ययतरत चन्द्रीकाकुमारी सरवरियाले भनिन्, ‘हेर्दा अनौठो रहेछन् ।’


हराउँदै गएका हलो, पेरङगो, विनायो, मुर्चुङगा, भोटे ताल्चा, ढिकी, जाँतो, ओखल, पुराना हतियार, ढाका टोपी, डोली, विराट राजाको दरबारका इँटा, ओदान, ठेकी, हर्पे, मादल, भड्डु, करवा, दियो, ढाकी, डोको, दौरा सुरुवाल, माना पाथी, टेरुवा, डोलीलगायत वस्तुबारे विद्यालयले बालबालिकालाई व्यावहारिक ज्ञान दिँदै आएको छ ।


पाठ्यक्रमका विषयवस्तुबारे ज्ञान र अवधारणा बालबालिकलाई बुझाउने र सम्झन सक्ने आधार तयार गर्न शैक्षिक संग्रहालय स्थापना गरेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद मण्डलको भनाइ छ । गाउँपालिकाले उपलब्ध दिएको १ लाख २० हजार र स्थानीय स्तरमा संकलन गरिएको रकमले यो संग्रहालय स्थापना गरिएको हो । प्रअ मण्डलले भने संग्रहालयमार्फत शैक्षिक गुणस्तर सुधार्न सकिने उद्देश्य राखिएको छ ।


कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा ३ सय ६५ बालबालिका अध्ययनरत छन् । तीमध्ये २५८ जना दलित सरवरिया समुदायका बालबालिका छन् । बालबालिकालाई कहिलेकाहीँ प्रोजेक्टर र कम्प्युटरबाट अध्यापन गराउनका लागि विद्यालयमा प्रोजेक्टर र सातवटा कम्प्युटरको व्यवस्था गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?