कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसीमा जेटबोट : डुंगा चलाउन ढुंगाको चुनौती

देवनारायण साह

मोरङ — सप्तकोशी नदीमा जेट बोट सञ्चालन गर्दा अनेकौं समस्या झेल्नुपरेको लगानीकर्ताले गुनासो गरेका छन् । बराह क्षेत्र मरिन एन्ड रिसोर्ट प्रालिले सप्तकोशीमा ४ वटा जेट बोट सञ्चालन गरेको छ ।

कोसीमा जेटबोट : डुंगा चलाउन ढुंगाको चुनौती

प्रदेशसभा सदस्यहरूले सोमबार विराटनगरमा आयोजना गरेको सप्तकोशी नदीमा पानीजहाज सञ्चालन विषयक अन्तर्क्रियामा प्रालिका सञ्चालक बराहक्षेत्र नगरपालिका ६ का नवीनकुमार पौडेलले जेट बोट सञ्चालनमा देखिएका समस्याबारे जानकारी गराए ।


‘सप्तकोशी नदीमा पानी जहाज सञ्चालन चुनौतीपूर्ण छ,’ पौडेलले भने, ‘नदीमा भएको ठूला ढुंगा, ज्यानमारा ढुंगा, बग्ने ढुंगा, छाल, नदीमा बहाब र पानीको समस्या पानी जहाजका लागि चुनौती हो ।’ नदी बग्दै आउने ढुंगा लागेर बोटको पंखा भाच्ने गरेको छ । बराह क्षेत्र मन्दिर नजिक रहेका दुइटा छालका कारण बोट सञ्चालन चुनौतीपूर्ण भएको उनले सुनाए ।


स्थानीयले बोट चढ्ने यात्रुहरूको जबर्जस्ती टिकट काटेर १० प्रतिशत कमिसन असुल्न सिन्डिकेट लगाएको पौडेलले गुनासो पोखे । ‘बोटका चालकहरू दक्ष भए पनि बोट चालक अनुमति पत्रको व्यवस्था मुलुकमा नभएकाले बीमा गर्न समस्या भएको छ,’ उनले भने, ‘बोट र यात्रुको बिमा गराएबापत वर्षेनी ५ लाख ६० हजार तिरिसकेको तर दुर्घटनामा भएको क्षति बिमा कम्पनीबाट लिनका लागि बोट चालक अनुमतिपत्र नभइ नहुने अवस्था छ ।’


उनले बराह क्षेत्र नगरपालिका १ का वडाध्यक्षले बोटमा यात्रु चढाउने ठाउँमा विद्युत मिटर जडानका लागि सिफारिससम्म दिन नमानेको अवस्थामा कसरी जलयातायात सञ्चालन गर्न कठिनाइ भएको गुनासो पोखे ।


‘हालसम्ममा ८० सिट, २५ र १०/१० सिट क्षमताका ४ वटा बोट सञ्चालन गरेका छौं,’ उनले भने, ‘भोजपुरको सिम्लेसम्म ३ सय सिट क्षमताको पानी जहाज पुर्‍याउने लक्ष्य छ ।’ सप्तकोशीमा पानी जहाज सञ्चालनका लागि कोशी ब्यारेजदेखि दुधकोशीमा घुर्मी, नेपालटार, अरुण खोला हुँदै संखुवासभासम्म तमोर नदीमा सरकारले जलमार्ग निर्माण गरिदिनुपर्ने पौडेलले माग गरे । पानी जहाज र रिसोर्टका लागि हालसम्ममा ६ करोड बढी लगानी पानीमा गरिसकेको उनले सुनाए ।


उनले ताप्लेजुङको काबेली नदीसम्म मोटर बोट लग्न सकिने अवस्था रहेको बाए । त्यसका लागि राज्यको तर्फबाट जलमार्गमा भएको ढुंगा हटाउने पानीको सतह र आवश्यक पानीको बहाब निर्माण गरी व्यवस्थित जलमार्ग निर्माण गर्नुपर्ने पौडेलको भनाइ थियो । काबेलीसम्म जल यातायात १० सिट क्षमताको जहाज अहिले सञ्चालन गर्न सकिने उनले सुनाए ।


जेट बोटबाट जल यातायातमात्रै सञ्चालन मात्रै नभई त्यसले रोजगारी सिर्जना, जैविक विविधता संरक्षणका लागि पनि काम हुने पौडेलको भनाइ छ । चीनको छिन्ताओबाट अध्ययन गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका ४ वटा मोटरबोट ल्याइएको हो । सप्तकोशीमा जेट बोट १ वर्षदेखि सुरु गरिए पनि अनेकौं समस्या छ । बराह क्षेत्रको दर्शन जेट बोटबाट सहजै गर्न सकिन्छ । चतरादेखि हिँडेर बराह मन्दिर पुग्न २ घण्टा लाग्छ तर बोटमा ३ मिनेटमा पुगिन्छ ।


नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जल यातायातका लागि आवश्यक संरचना निर्माणका लागि सांसदहरूले दबाब समूह गठन गरेर अघि बढ्नुपर्ने बताए । ‘प्रदेश १ का नदीहरूमा जल यातायात सञ्चालनका लागि सरकारलाई हामी प्रदेशसभा सदस्यले दबाब सृजना गर्नुपर्छ,’ उनले भने, ‘मिर्चैया–घुर्मीसम्मको सडक बनाउनभन्दा समेत अटेर गरेको सरकारले अहिले नै जल मार्गको अध्ययन गर्ला भन्ने आफूलाई विश्वास नलागेकाले दबाब समूह बनाएर जाँदा काम चाँडो अघि बढ्ने थियो ।’


प्रदेशसभा सदस्य उषकला राईले सरकारले संरचना बनाएर पानी जहाज सञ्चालनका लागि आह्वान गर्नुपर्ने अवस्थामा निजी क्षेत्रले पानी जहाज चलाएर जलमार्गलगायतको संरचना निर्माण गर्न माग गरिरहेको अवस्था रहेको बताइन् ।


उनले सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरिरहेको अवस्थामा पहिले स्वदेशी लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने बताइन् । नेकपा नेता गुरु बरालले स्थल यातायात भन्दा जल यातायत २७ गुणा सस्तो रहेको बताए । ‘यस क्षेत्रको गुण्डागर्दी रोकिनुपर्छ,’ उनले भने, ‘राज्यले ५ वर्षसम्म इन्सेन्टिभ दिएर यस्ता लगानीकर्तालाई हौस्याउनुपर्छ ।’

प्रकाशित : चैत्र ५, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?