कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद सकियो सडक अधुरै

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडकको अवधि सकिए पनि काम पूरा भएको छैन । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने यो सडक खण्डको (८८ किलोमिटर) काम अवधि सकिँदा पनि पूरा हुन नसकेको हो ।

म्याद सकियो सडक अधुरै

यो सडकको चारवटा प्याकेजमा ठेक्का लागेको थियो । एक र दुई नम्बर प्याकेजको २०७२ बैशाख २ मा, तीनको असार १६ मा र चारको चैत १६ मा दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यसमध्ये एक र दुई नम्बरको प्याकेजको अवधि थपेर आगामी असारसम्म पुर्‍याइएको छ ।

तीन र चार नम्बर प्याकेजको अवधि आगामी चैतसम्मका लागि थपिएको छ । तर यो अवधिभित्र पनि नसकिने अवस्थामा पुगेको निर्माणमा संलग्न साङ्गे सेर्पाले बताए । सेर्पाका अनुसार एक नम्बर च्यानडाँडा–पेलुङसम्मको (१० किलोमिटर) ३५ प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ४० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ६० प्रतिशत र चार नम्बर प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) ७० प्रतिशत मात्र काम सकिएको छ ।

त्यसो त करिब एक अर्ब, नौ करोड, १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाइ भएको सेर्पाले बताए ।

यस सडक खण्डमा आठ वटा पुलमध्ये दुई वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । चारमध्ये कालिखोला र लप्से खोलाको सकिएको छ । दाम्दे र साप्सुखोलाको पुल भने चैत्रभित्रै सकिने सेर्पाले सुनाए । भुल्के खोला पुलको ठेक्का लागे पनि धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले निर्माण रोकिएको छ । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन ।

यो सडक गुणस्तरहीन भएको समेत गुनासा आएका छन् । निर्माण सामग्री गुणस्तरहीन भएकाले यसको गुणस्तरमा गुनासा आएका हुन् । निर्माणमा संलग्न कम्पनीले पेटी ठेक्कामा काम गराएकाले गुणस्तरहीन भएको निर्माण सम्बद्ध एकले बताए । यसबाहेक पर्खाल र पुल समेत गुणस्तरहीन बनेको स्थानीयले बताएका छन् । यसबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।


प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गुणस्तरहीन काम भएको र बेलामा नसकेकाले यसप्रति सदनमा समेत कुरा उठाउने बताए । ‘गुणस्तर र औचित्यहीन म्याद थप्ने विषय आपत्ति जनक छ,’ भट्टराईले भने, ‘जानाजान ढिलासुस्ती र गुणस्तरहीन कामबारे सदनमा कुरा उठाउँछु,’ उनले भने, ‘अब म्याद थप्ने कल्पना पनि नगरे हुन्छ ।’



प्रकाशित : चैत्र १०, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?