कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

मदिरा नियन्त्रण गर्न माग

इलाम — भारतसँगको सीमावर्ती क्षेत्रमा भारतीय मदिरा खुला बिक्री हुने गरेको छ । जिल्लाका उत्तरी र पूर्वी गाउँमा अवैध रूपमा आउने भारतीय मदिराको बिक्री नियन्त्रण नहुँदा समस्या भएको छ । भारतको सिक्किममा निर्माण हुने यस्तो मदिरा स्वास्थ्यका लागि हानिकारक भएको भन्दै प्रशासनले प्रतिवन्धित गरेको छ । त्यस्तै नेपाल सरकारालाई कुनै पनि राजश्व नबुझाई एकलौटी बजार सिर्जना गरेका यस्ता मदिरालाई नियन्त्रणमा सरोकारवालाले कडा पहल गर्नुपर्ने स्थानीयले माग गरेका छन् । 

सन्दकपुर ५ जमुनाका बासिन्दाले आमभेला गर्दै यस्ता मदिरा नियन्क्रण गर्न माग गरेका छन् ।

शुत्रबार जनप्रतिनिधिसहित, व्यवसायी, सामाजिक अगुवा, सञ्चारकर्मी, प्रहरीलगायत ठूलो संख्यामा भेला भएका स्थानीयले सम्बन्धित निकायले कडाइ गर्नुपर्ने जनाएका हुन् ।


त्यस क्षेत्रको पर्यटन विकासका लागि चैत्र २४ देखि ३० गतेसम्म आयोजना हुने ढापपोखरी पर्यटन महोत्सवलाई लक्षित गर्दै वैठकले यस्तो मदिराको बेचविखनमा पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने निर्णय गरेका हुन् । ‘गाउँपालिकाले यसअघि नै यस्ता भारतीय मदिरा नियन्त्रणका लागि पहल जारी राखेको छ,’ सन्दकपुर ५ का वडाध्यक्ष जितबहादुर साँवाले भने, ‘अब यो महोत्सवको अवसर पारेर थप प्रभावकारी रूपमा लागिने छ ।’ राजस्व बुझाउनु नपर्ने भएकाले वैध मदिराभन्दा सस्तो हुने हुनाले पनि यसको प्रयोग बढेको हो ।


सीमावर्ती नाकाबाट लुकिछिपि भित्र्याइने यस्तो मदिराका कारण सामाजिक र पारिवारिक सन्तुलनमा पनि असहजता आएका थुप्रै उदाहरण भएकाले स्थानीय दिक्क भएका हुन् । ‘यस्तो मदिरा बेचविखन र सेवन गर्न नपाइने भएकाले हामीले कडाइका साथ नियन्त्रणको प्रयास गरिरहेका छौं,’ जमुना प्रहरी चौकीका इन्चार्ज हर्क सुब्बाले भने, ‘तर एक्लो प्रयासमात्र सम्भव नभएकाले सरोकारवाला सवैले पहल गर्नुपर्छ ।’ चाडपर्व सहित गाउँमा हुने खेलकुद गतिविधि, मेला महोत्सवलगायतमा यस्तो मदिराको धेरै प्रयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्रमा केही स्थानमा प्रहरी चौकी भए पनि चोर बाटो प्रयोग गरेरै भए पनि यस्ता मदिरा छिराइने गरेको छ । लुकीचोरी रूपमा ल्याइएका भारतीय मदिरा सदरमुकामसहित जिल्लाका ठूला बजार क्षेत्रमा समेत पुग्ने गरेका छन् ।

प्रहरीले विभिन्न समयमा मदिरा बरामद गरेको भए पनि बिक्री वितरण र प्रयोगमा कमी आउन सकेको छैन । सिक्किममा उत्पादित हिट वियर, मक्स, हनिबी जस्ता मदिरा नेपाली बजारमा भित्रने गरेका हुन् । वर्षौंदेखि यस्ता मदिरा प्रयोग गरेका कतिपय उपभोक्ता पनि मूल्य कम परेसँगै बानी परेकाले माग बढी हुने गरेको पाइन्छ ।



प्रकाशित : चैत्र १०, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?