कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक गुणस्तरहीन

धनकुटा — धनकुटा नगरपालिकाबाट निर्माण गरिएका सडक निर्माण कार्य गुणस्तरहीन भेटिएको छ । अनुगमनमा गएकी धनकुटा नगरपालिका उपप्रमुखले निर्माण भइरहेको सडक भत्काएकी छन् । 

सडक गुणस्तरहीन

नगरपालिका ७ स्थित तमोरभ्याली सडक खण्डमा निर्माण भइरहेको सडकको निर्माण गुणस्तहीन भेटिएको हो । उक्त सडक मापदण्ड विपरीत काम भइरहेको जनगुनासोका आधारमा नगरपालिकाका उपप्रमुख एव अनुगमन समितिका संयोजक शकुन्तला बस्नेतले शुक्रबार अनुगमन गर्दा सडक स्तरहीन भएको पाइएको थियो ।


नगरपालिकाले ७ र ५ स्थित मदन चोकदेखि विष्णुस्मृती चोक रिङरोड हुँंदै तमोर भ्याली, सव्जी बजार, माथिल्लो कोप्चे तल्लो कोप्चे सडक मर्मत गर्नको सल्टर कन्स्ट्रक्सन तेह्रथुमलाई सडक निर्माणको जिम्मा दिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रको वडा ५ र ७ मा भत्किएका कालपत्रे सडक र नाला निर्माणका लागि कुल लगात ९१ लाख ५१ हजार ९ सय १३ रुपैयाँ बराबरको ठेक्का आहवान गरेको थियो ।


ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्दा झन्डै ४० प्रतिशत कममा सल्टर कन्स्ट्रक्सनले भ्याट बाहेक ५३ लाख ९० हजार ९ सय ६६ रुपैयाँमा ठेक्का सम्झौता गरी हाल निर्माण कार्य थालेका नगरपालिकाले जनाएको छ ।


निर्माण कम्पनीले ढल तथा नाली निर्माण गर्दा न्यूनतम मापदण्ड नै नपुर्‍याई निर्माण कार्य झारा टार्ने गरेको स्थानीय देउराली टोलबस्ति संगठनका अध्यक्ष इन्द्रमणी मिश्रले गुनासो पोखे । स्थानीयको गुनासोका आधारमा स्थलगत रूपमा गएको टोलीले करिव २ सय मिटर निर्माण सम्पन्न गरिएको नाली तथा ढल भत्काइदिएको छ ।


अनुगमनका क्रममा देउराली टोलबस्ती संगठनका अध्यक्ष मिश्रले नालीको फाउन्डेशन मापदण्डअनुरूप नगरिएको, ढलको जमिनको भागमा सोलिङ नगरी ढलाइ गरिएको, नालीको भित्तामा मेसिनरी वाल नलगाई माटो कटिङ गरेको भित्तामै सिमेन्टले पोतिएको र मेसिनरी वालमा मापदण्डअनुसारको सिमेन्ट, बालुवाको मात्रा नमिलाएको र किउरिङ समेत नियमित नगरेको बताए ।


‘चरम लापरवाही गरिएको छ, उनले भने, स्थानीयबासी तथा उपभोक्तालाई हेपायति व्यवहार गरेर यस्तो कमसल काम गरिएको हो । नगरपालिकाको योजना शाखाका प्रमुख एवं इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले तोकिएको मापदण्ड नपुर्‍याई काम गरिएको भेटिएकाले भत्काउनु परेको बताए । निर्माण व्यवसायी आफैं जिम्मेवार भएर काम नलगाएको कारण सडक निर्माण कार्य गुणस्तरहीन भएको इन्जिनियर शेर्पाको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?