कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरीयामा बढ्दो विदेशी मोह

जितेन्द्र साह

विराटनगर — विपन्न र दलित समुदायका युवक सूर्य ऋषिदेवले कक्षा–४ सम्म पढ्न पाए । विराटनगर महानगरपालिका–४, खार्जीका ऋषिदेवको घरायशी अवस्था कमजोर भएकाले १८ वर्ष नकाट्दै भारत पुग्नुपर्‍यो । केही वर्ष उतै च्याउ खेतीमा काम गरेर परिवारलाई सघाए ।

सहरीयामा बढ्दो विदेशी मोह

यतिले मात्र गास, बास र कपास जोड्न कठिन भयो । कमाउने आशामा ऋषिदेव दुबई जाने भएका छन् । ‘आफन्त दाइ पनि दुबईमा हुनुहुन्छ, राम्रो कमाइ हुन्छ भन्ने सुनेर जान लागेको हुँ,’ उनले भने ।


महानगर नजिकैको मोरङको ग्रामथान गाउँपालिका–६ का २२ वर्षीय घनश्याम खवासको स्नातक पढ्ने चाहना थियो । थारु समुदायका उनी अब विदेश जाने तयारीमा छन् । ‘प्लस टुपछि ब्याचलर पढ्ने मन थियो, परिवारबाट खर्च गर्ने अवस्था छैन,’ खवासले भने, ‘कतार, मलेसिया, दुबई वा इजरायल जाने सोचमा छु ।’ विदेसिन खोज गर्दै रहेको उनले सुनाए ।


सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यत्रमका लागि स्थानीय निकायमार्फत बेरोजगारलाई फाराम पनि भराइरहेको छ । ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले न्यूनतम रोजगार कार्यक्रम कहिलेसम्म लागू गर्ने हो भन्ने नै टुंगो छैन,’ खवासले भने, ‘त्यो कार्यान्वयन हुँदासम्म म केही आय आर्जन गरी विदेशबाट फर्किसक्छु होला ।’ यस्तो कार्यक्रममा दलका नेताको भनसुन चाहिने हुनाले आफूहरू जस्ताको छनौट हुने सम्भावना कम भएको अर्का युवक ऋषिदेवको ठम्याइ छ ।


राहदानी बनाउनेमा वैदेशिक रोजगारमा जाने पुरुष बढी भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनले भने, ‘विदेश घुम्न वा छोरानातिको हेरचाहका लागि जानेको संख्या निकै कम छ ।’ जिल्ला प्रशासन कार्यालय मोरङमा दैनिक औषत ४० जनाले यहींबाट र २० जनाले काठमाडौंबाट निकाल्ने गरी द्रुत सिफारिस लिने गरेको प्रमुख (अधिकृत) कमलेश कोइरालाले बताए ।


उनका अनुसार १५/१५ दिनको फरकमा मासिक झन्डै ५ सय आवेदकको फारम काठमाडौंस्थित राहदानी विभागमा पठाउने गरिएको छ । दिनहुँ औषत ६० जना राहदानी लिन आउने गरेको कोइरालाले जानकारी दिए । उक्त कार्यालयका अनुसार पूर्वाञ्चलबाट विदेश जानेमा तुलनात्मक रूपमा पहाडका बढी भए पनि गत वर्ष भन्ने राहदानी लिनेमा महानगर विराटनगरका बढी छन् । गत वर्ष ९ सय ४० महिला र १ हजार ८ सय ६९ पुरुष गरी २ हजार ८ सय ९ जनाले विराटनगरबाट राहदानी बनाएको उक्त कार्यालये जनाएको छ ।


त्यसपछि मोरङको उर्लाबारी नगरपालिकाका ४ सय ४६ महिला र ७ सय ५४ पुरुष गरी १ हजार २ सय जनाले, बेलबारी नगरपालिकाबाट ३ सय २७ महिला र ७ सय ६३ पुरुष गरी १ हजार ९० जनाले, पथरी शनिश्चरे नगरपालिकाबाट ३ सय ७९ महिला र ६ सय ८९ पुरुष गरी १ हजार ६८ जनाले राहदानी लिएको अभिलेख छ ।


जिल्ला प्रशासन कार्यालय मोरङले भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, सप्तरी र उदयपुरको राहदानी आवेदन फारम समेत संकलन गरी विभाग पठाउँछ । विभागबाट राहदानी आइसकेपछि ती जिल्लाका प्रशासन कार्यालयले लिएर जाने गरेको फाँटका अधिकृत कोइरालाले बताए ।


राहदानी बनेर आइसके पनि लिन नआउनेको संख्या पनि ठूलै छ । कोइरालाका अनुसार २०६८ देखि हालसम्म करिब ७ सय जना सेवाग्राहीले राहदानी लगेका छैनन् । ‘किन आएनन् भन्ने थाहा भएन,’ उनले भने, ‘यो खोजीकै विषय हो ।’ जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ दस्तुर बुझाएपछि सेवाग्राहीले ३५ दिनभित्रमा राहदानी पाउँछन् । विभागमा भने १५ हजार रुपैयाँ दस्तुर बुझाएमा एकै दिनमा पाइन्छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?