कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला आपराधिक घटना ओझेलमा

विनोद भण्डारी

विराटनगर — प्रदेश १ प्रहरी कार्यालय विराटनगरको वेबसाइटमा हरेक दिन हत्या, लुटपाट, तस्करी, डकैती, ज्यान मार्ने उद्योगलगायत आपराधिक घटनाको विवरण उल्लेख हुन्छ  । दैनिक उल्लेख हुने गरेका ती घटनामा संलग्न प्रायलाई पक्राउ समेत गरेको प्रहरीको विवरणमा उल्लेख हुन्छ  ।

तर विभिन्न समयमा भएका आधा दर्जन ठूला घटनाबारे भने प्रहरीले केही उल्लेख गर्दैन । किनभने ती घटनाको अनुसन्धानमा प्रहरी अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान भइरहेको प्रहरीले बताउँदै आएको छ । तर अहिलेसम्म कुनै उपलब्धि हात पर्ने सकेको छैन ।


भोजपुरको अरुण गाउँपालिका ३, प्याउलीमा २ वर्षअघि भएको घटनामा संलग्नबारे प्रहरीले केही जनाएको छैन । अघिल्लो असार १० गते साँझ त्यहाँका ३ बालबालिका बेपत्ता भएको भोलिपल्ट नजिकको पोखरीको डिलमा तीनै जनाको शव फेला परेको थियो । त्यो घटनाका दोषीको प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । चेतनाथ फुयालकी १४ वर्षीया सुष्मा, ८ वर्षीय प्रदीप र छिमेकी रविन्द्र सापकोटाका १५ वर्षीय रन्जीतको सामूहिक हत्या भएको थियो । उनीहरू घरदेखि करिब सय मिटर टाढा रहेको छिमेकी तोरणबहादुर कार्कीको पोखरीको डिलमा मृत फेला परेका थिए । बालबालिका हराएलगत्तै स्थानीयले पोखरीमा डुबेको आशंकाले पानीभित्र पनि खोजी गर्दा फेला परेका थिएनन् । खोजी गर्ने क्रममा अगाडि केहीपरसम्म पुगेर फर्कदा त्यही पोखरीको डिलमा तीनै जना बालबालिकाको शव भेट्टिएका कारण घटना नियोजित भएको स्थानीयको दाबी छ । शव फेला पर्दा सुष्माको खुट्टामा चप्पल थिएन । प्रदीप र रन्जितको खुट्टामा चप्पल थियो । बीपी प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा र सुष्मा र रन्जितको घाँटीमा चुइगम फेला परेको उल्लेख भए पनि कुनै चोट पटक, दाग र विषादी फेला नपरेको उल्लेख थियो ।


स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटकपटक टोली पुगरे घटनाबारे अनुसन्धान गर्‍यो । तर मृत्युको कारण र घटनामा संलग्नबारे केही पत्तो लगाएन । घटनाबारे प्रहरीले सुरुदेखि नै अनुसन्धानमा गम्भीर रूपले ध्यान नदिँदा वास्तविकता बाहिर आउन नसकेको पीडित चेतनाथको आरोप छ । उनी भन्छन्, प्रहरीका टोली पटकपटक घटना स्थलमा आए पनि आफूहरूसँग भेट्ने र बुझने काम कहिल्यै गरेन । उनी घटनापछि विस्थापित भएर हाल सुनसरीको इटहरी १ हलगडामा बस्दै आएका छन् । मोरङको कानेपोखरी ३, हरकपुरमा मध्यरातमा घरमा आगोलागी हुँदा परिवारका चारै जना डढेर परिवारै सखाप भएको घटनाको वास्तविकता पनि प्रहरीले अझै सार्वजनिक गर्न सकेको छैन । त्यो घटना पनि स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अघिल्लो वर्षको असोज ४ गते राति २ बजे भएको घटनामा ८६ वर्षीया गंगामाया राई, उनका ५६ का छोरा, चन्द्रकुमार राई, छोरी ४९ की पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारीको ज्यान गएको थियो । दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र घरमा रहेका चारै जनाको मृत्यु हुनु रहस्यमय भएको आफन्त र स्थानीयको भनाइ छ ।


मृतकका आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी ४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसै बेला नियन्त्रणमा लिएर सोधपुछ गरी केही समयमै छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । पथरीका तत्कालीन प्रहरी निरीक्षक राजन कार्की सरुवा भएपछि घटनाको अनुसन्धान फितलो भएको पीडित परिवारजनको गुनासो छ । आफन्तजनले नियोजित रूपले चारै जनाको हत्या गरी घरमा आगो लगाएको हुन सक्ने आशंका गरेका थिए । स्थानीयवासीका अनुसार घरमा एकैपटक चारैतिरबाट आगो लागेको थियो ।


आगलागीमा घरसँगै किराना पसल, गोठ, मिनी ट्याक्टर, मोटरसाइकल, साइकल, पम्पिङसेट मेसिनलगायत सुनचाँदीलगायत धनमाल जलेर नष्ट भएको थियो । करिब १ करोड ५० लाख बराबरको क्षति भएको थियो । घटनाबारे पीडितका तर्फबाट इलाका प्रहरी पथरीमा जाहेरी दिइएको थियो । केही शंकास्पद व्यक्तिबारे जानकारी समेत दिइए पनि अनुसन्धान गम्भीर रूपले हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको पीडित परिवारको भनाइ छ । मृतकमध्ये चन्द्रकुमारको शव रहेको स्थानमा खोस्रने क्रममा भुइँमा रगत जमेको टाटा भेटिएको थियो । इलाका प्रहरीको टोलीले उक्त रगतको टाटाको फोटो खिचेर लगेको मृतक गंगामायाकी छोरी इन्दिरा राईले बताइन् । घटनाबारे गम्भीर रूपमा अनुसन्धान नभएको भन्दै मृतका आफन्तहरूले मोरङ प्रशासन, जिल्ला प्रहरी मोरङ, अञ्चल प्रहरी, क्षेत्रीय प्रहरी कार्यालय हुँदै काठमाडौंको अपराध अनुसन्धान ब्युरोसम्ममा निवेदन दिइएको थियो । यसैगरी गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गराइएका थिए । घटना भवितव्य नभई नियोजित षडयन्त्र भएको इन्दिरा र पीडित परिवारका अन्य सदस्यको भनाइ छ । घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनीहरूले माग गरेका छन् । गत मंसिर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका ७, लालझोडामा घरमा आगो लाग्दा परिवारका चारै जनाको मृत्यु हुँदा परिवार नै सखाप भएको थियो । त्यो घटनाको पनि प्रहरीले वास्तविकताबाहिर ल्याउन सकेको छैन । घटनामा संलग्न आशंकामा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । घटनामा आगोले जलेर ३४ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको मृत्यु भएको थियो । ट्याक्टर र थ्रेसरका व्यवसायी खनालको काठको दुईतले घरको चारैतर्फबाट एकैपटक आगो दन्किएको स्थानीयको भनाइ छ ।


शिवसताक्षी नगरभित्र डेढ दशकमा यस्तै खाले ३ घटना भएका भएका छन् । तीनवटै घटनाको वास्तविकता प्रहरीले बाहिर ल्याउन सकेको छैन । २०६१ मा साविक शिवगञ्ज गाविसको चन्द्रडाँगीका संग्राम खडकाको घरमा आगलागी हुँदा उनीसहित परिवारका ५ जनाको जलेर मृत्यु भएको थियो । ०६९ मा साविक शतासीधाम गाविसको दूधे बजारमा मनिका खरेल भट्टराईको घरमा आगलागी हुँदा उनीसहित दुई छोराको जलेर मृत्यु भएको थियो । त्यसैगरी बोक्साको आरोपमा पटक–पटक अपमानित हुँदै आएका एक बृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको डेढ वर्ष वित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन । रंगेली नगरपालिका ९ साविकको दर्वेशा बनकोलका ६३ वर्षीय पहाडचन राजबंशीलाई अज्ञात सूहले अघिल्लो असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेरवीभत्स हत्या गरी सडकमा फ्यालेको अवस्थामा शव फेला परेको थियो ।


घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । घटनामा पीडित परिवारका छिमेको संलग्नता रहेको र रुढीवादी सोचले पुरानो रिसइबीका कारण हत्या गरिएको प्रहरीले पुष्टि भइसकेको र घटनामा संलग्न भारत छिरेकाले पक्राउ गर्न नसकिएको इलाका प्रहरी रंगेलीका तत्कालीन निरीक्षक सञ्जीवबावु खडकाको भनाइ थियो । घटना ससदीय निर्वाचनको अघिल्लो दिन भएका कारण प्रहरीले तत्काल गम्भीरतापूर्वक अनुसन्धान नगर्दा घटनाको वास्तविकता सार्वजनिक हुन नसकेको स्थानीयको भनाइ छ । हालका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार पुरानो रेकर्डका आधारमा घटनामा संलग्नको खोजी भइरहे पनि सफलता पाउन नसकिएको अवस्था छ । उनका अनुसार भारतमा लुकेको आशंकामा प्रहरी परिचालन गर्दा पनि पक्राउ गर्न सकिएको छैन । घटनाबारे परिवारका सदस्य र छरछिमेकका कसैले पनि तत्काल केही नबोलेका कारण घटनामा संलग्नको पहिचान गर्न ढिलाइ भएको प्रहरीको भनाइ छ । परिवारका सदस्य र समाजको कोही पनि मानिसले घटनाको समयमा केही बोलेनन् । समाजै मौन बस्नु र परिवारजनले दिएको जाहेरीमा पनि कसैलाई किटानी नगरे पनि प्रहरीको सूक्ष्म अनुसन्धानले अपराधी र घटनाको कारण पुष्टि भइसकेको तत्कालीन प्रहरी निरीक्षक खडकाको भनाइ थियो ।


विगतमा पहाडचनलाई स्थानीयले पटकपटक बोक्साको आरोपमा अपमान गरी घर निकालासमेत गरेका थिए । स्थानीयका अनुसार २०६९ सम्म उनको बस्ती वरपर कोही बिरामी पर्दा वा मृत्यु भएमा पहाडचनले तन्त्रमन्त्र गरेको गरेको आरोप लगाउथे । बस्तीमा लामो समय बिमारले थलिएर कोहीको मृत्यु भएपछि उनलाई समाजका केहीले बोक्सो भन्दै मानव मलमूत्र खुवाएर कुटपिट गर्दै गाउँबाट विस्थापित समेत गरेका थिए । पहाडचन र उनकी पत्नी अंशु गाउँबाट विस्थापित भएपछि उनले दिएको उजुरीका आधारमा प्रहरीले २०६९ मा स्थानीय शिवनारायण राजबंशी, श्रवण राजबंशी, जितलाल राजबंशी, हरिप्रसाद राजबंशी, चम्पादेवी राजबंशी, सुधलीदेवी राजबंशी, उर्मीलादेवी र रविलाल राजबंशी पक्राउ गरी अनुसन्धानपछि मिलापत्र गरेर जनही २ हजार धरौटीमा छाडेको थियो । प्रदेश १ प्रहरी प्रमुख डीआईजी केदार रिजालले उल्लेखित घटनाको वास्तविकता अहिलेसम्म प्रहरीको हात पर्न नसकेको स्वीकार गरे । ‘सबै घटनाको विशेष टोली गठन गरेर सूक्ष्म अनुसन्धान भइरहेको छ,’ डीआईजी रिजालले भने, ‘अन्य अधिकांश घटनाको वास्तविकता प्रहरीले पत्ता लगाइसकेको छ तर भोजपुरको प्याउली, मोरङको कानेपोखरी र रंगेली तथा झापाको शिवसताक्षी घटनाको अझै विशेष टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।’


चालु वर्षको साउनदेखि फागुनसम्ममा प्रदेश १ मा ४ हजार २ सय ३१ वटा सवै प्रकारका आपराधिक घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङक छ । तथ्यांकअनुसार झापामा ७ सय ८० इलाममा २ सय १० पाँचथरमा १ सय ३२ ताप्लेजुङमा ९६ मोरङमा १ हजार १ सय ६ सुनसरीमा ९ सय ३८ धनकुटामा १ सय १ तेह्रथुममा ७९ भोजपुरमा ६५ संखुवासभामा १ सय ७४ उदयपुरमा २ सय ५७ खोटाङमा १ सय २५ ओखलढुंगामा १ सय १ र सोलुखुम्बुमा ६७ घटना भएका छन् । त्यसमध्ये कर्तब्य जानका ७२ र ज्यान मार्ने उद्योगका १ सय १८ वटा छन् ।

अनुसन्धानमै रहेका घटना

भोजपुरमा अघिल्लो असार १० मा बेपत्ता ३ बालबालिकाको शव भोलिपल्ट पोखरीको डिलमा भटिनु रहस्यमय
मोरङको कानेपोखरीमा अघिल्लो असोज ४ मा परिवारका चारै जनाको ज्यान जाने गरी घरको चारैतिरबाट एकसाथ भएको आगलागी
गत मंसिर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका लालझोडामा घरमा आगो लाग्दा परिवारका चारै जनाको मृत्यु
२०६१ मा शिवगञ्जको चन्द्रडाँगीका संग्राम खडकाको घरमा आगलागी हुँदा उनीसहित परिवारका ५ जनाको जलेर मृत्यु
०६९ मा शतासीधामको दूधे बजारमा मनिका खरेल भट्टराईको घरमा आगलागी हुँदा उनीसहित दुई छोराको जलेर मृत्यु
रंगेली नगरपालिका दर्वेशा बनकोलका ६३ वर्षीय पहाडचन राजबंशीलाई अज्ञात सूहले अघिल्लो असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटी हत्या

प्रकाशित : चैत्र २०, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?