कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

आत्मरक्षा कला सिक्दै किशोरीहरू

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाले किशोरीहरूलाई परिचित र अपरिचितबाट हुनसक्ने लैङ्गिक हिंसा र यौन दुर्व्यहारको प्रतिकार गर्नका लागि आत्मरक्षासहित यौन तथा प्रजनन स्वास्थ्य र व्यक्तित्व विकास प्रशिक्षण दिन सुरु गरेको छ । 

आत्मरक्षा कला सिक्दै किशोरीहरू

पहिलो चरणमा धरानका ९० किशोरीलाई धरान–१३ अमरहातस्थित कभर्डहलमा पाँचदिने आत्मरक्षा सामुहिक प्रशिक्षण दिन सुरु गरेको छ ।


उपमहानगरपालिकाका लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्फर्क व्यक्ति हेमा थलङका अनुसार समाजमा हुने यौन हिंसाबाट मुत्त गर्न उनीहरूको मानसिक, शारीरिक र बौद्धिक स्तरबाटै प्रतिकार गर्न किशोरीहरूलाई सबैखाले तालिम एकिकृत रूपमा दिन सुरु गरिएको हो । उनले भनिन्, ‘घरपरिवारदेखि बाहिर समाजमा पनि किशोरीहरूले सधैं आफूलाई सुरक्षित महसुस गरुन् भनेर उपमहानगरपालिकाले भरसक धरानका सवै किशोरीलाई यो तालिम प्रशिक्षणमा सहभागी गराउने प्रयास गरेको छ ।’


प्रशिक्षणमा आत्मबल बढाउँदै आत्मरक्षा गर्नेदेखि जीवन उपयोगी सीप, सकारात्मक सोच, लागूपदार्थ सेवनबाट हुने असर, किशोरी अवस्थामा हुने शारीरिक परिवर्तन र त्यसको व्यवस्थापन, प्रजनन स्वास्थ्य, मनोसामाजिक परामर्श, लैङ्गिक हिंसा र सचेतना, नाइ कसरी भन्ने, तत्काल प्रतिकार गर्ने उपायलगायत विषयमा विज्ञहरूबाट तालिम प्रदान गरिंदै छ ।


संयोजक थलले भनिन्, ‘पछिल्लो समयमा अधिकांश किशोरीहरू ‘ब्रोइलर’ जस्ता भए । उनीहरूमा स्कुलले पढाउने अभ्यास पुस्तिकाकोमात्र उत्तर लेख्न सक्ने भए तर ‘आउट नलेज’ र सृजनशील अतिरक्ति गतविधिमा ध्यान दिनबाट पन्छिन थालेकाले यस्ता तालिम गराइएको हो ।’


संयोजक थलङले १२ वर्षका बालिकादेखि १९ वर्ष किशोरीहरूले लैंगिक हिंसा विरुद्धको प्रतिकार तथा आत्मरक्षा तालिममा सहभागिता जनाएको बताइन् । उनले भनिन्, ‘लैङ्गिक हिंसा विरुद्धबारे किशोरीहरूलाई विस्तृत जानकारी दिंदै उनीहरूको मानसिक, शारीरिक र बौद्धिक रूपमा शसक्त बनाउन धरानमा पहिलो पटक सुरु गरिएको यस्तो एकीकृत तालिमले दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन सहयोग पुग्छ ।’


किशोरीहरूलाई आत्मरक्षा तालिम दिइरहेका धरानका तेक्वान्दो प्रशिक्षक गोपाल राईले महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउनु मुख्य उद्देश्य रहेको बताए । उनले समाजमा हुने यौन दुर्व्यवहारका घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न जानकारीमूलक खेल सिकाइरहेको बताए । उनले भने, ‘गलत नियत राखेर कसैले आक्रमण गरेमा मानिसको कुन संवेदनशील अङ्गमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अङ्गको सुरक्षाका लागि के गर्ने भन्नेबारे आत्मरक्षा तालिममा शारीरिक प्रशिक्षणमार्फत सिकाउने गरिएको छ ।’


भर्खरै एसईई परीक्षा सकेर बसेकी धरान–६ पानबारीकी पुष्प कटाल, धरान–१२ चतरालाइनकी विनीता राई, धरान– ४ बस्ने बालसंजाल धरानकी उपाध्यक्ष सुजाता राईलगायत किशोरीहरूले समाजमा हुने यौन दुर्व्यवहारबाट बच्ने र आत्मरक्षामात्र तालिममा नसिकेर अन्य जीवन उपायोगी प्रशिक्षण पनि पाइरहेको बताए ।


बालसंजालकी सुजाताले भनिन्, ‘उपमहानगरपालिकाले प्रदान गरेको यो खाले प्रशिक्षणबाट किशोरीहरू लाभान्वित हुने छन् । हामीजस्ता कैयौं किशोरीहरू मानसिक, शारीरिक र बौद्धिक प्रतिकारको अभावमा बलात्कृत भइहरेका छन् । शोषित पीडित भइरहेका छन् । यस्ता एकीकृत तालिमले आत्मविश्वास बढाउँदो रहेछ ।’


उपमहानगरपालिकाका समाजिक विकास समितिका संयोजक तथा वडा १३ का अध्यक्ष नेत्र काफ्लेले छुटेका अन्य किशोरीहरूलाई पनि समेटेर धरान स्टेडियम र अमर सेवासमाजको कभर्डहलमा निःशुल्क तीनमहिने तेक्वान्दो प्रशिक्षण फेरि आउँदो आइतबारदेखि सुरु गर्ने बताए । उनले भने, ‘किशोरीहरूलाई आत्मरक्षा तालिम पनि हुने, खेलकुद पनि हुने, उनीहरूको शारीरिक स्वास्थ्य पनि तन्दुरुस्त हुने र आइपरेको बेला आत्मविश्वासका साथ प्रतिकार गर्न पनि सक्नेछन् ।’

प्रकाशित : चैत्र २८, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?