कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो (अपडेट)

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । शुक्रवार राति साढे ११ बजे धरान प्रवेश गर्ने कोसी राजमार्गमा तीन वटा सवारी आपसमा ठोक्किदा घाइते भएका मध्ये एक जनाको उपचारका क्रममा शनिवार दिउँसो मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । तीन जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो (अपडेट)

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले मृतक चारै जनाको सनाखत भइसकेको जानकारी दिए ।


मृत्यु हुनेमा कारमा सवार पाँचथरको याशोक-३का २८ वर्षीय मदन लावती लिम्बु, मोरङको केराबारी-९ घङगरुका २७ वर्षीय अनिल श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४का २७ वर्षीय जनक बुढाथोकी र कार चालक मोरङको सुन्दर हरैंचा निवासी गोविन्द बस्नेत रहेका छन् । मृत्यु हुनेहरू सबै कारमा सवार थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्रगतिमा रहेको कारले ट्रयाक्टरलाई ओभरटेक गरेर अगाडि जानेक्रममा कार पहिले पछाडिको डालीमा ठोक्किएको थियो । कार र ट्रयाक्टर ठोकिएसँगै विपरीत दिशाबाट आइरहेको बससँग कार फेरि ठोक्किएको थियो ।


इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान-इटहरी सडक खण्डमा धरानबाट इटहरीतिर गइरहेको बा २० च ४०७६ नम्बरको कार, इटहरीतिर जाँदै गरेको मे १ च ६६९२ नम्बरको ट्रयाक्टर र खनारस्थित अरिहन्त उद्योगबाट मजदुर लिएर आइरहेको को १ ख ४७६२ नम्बरको बस एकापसमा ठोकिएर दुर्घटना भएको थियो ।


गम्भीर घाइते भएका कार चालक बस्नेतको विराट नर्सिङ होममा उपचारका क्रममा शनिवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?