कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन मेला सुरु

तेह्रथुम — नयाँ वर्षको अवसरमा पर्यटकीय नगर वसन्तपुरदेखि तीनजुरे डाँडास्थित पाथीभरा मन्दिरसम्मको क्षेत्रमा धार्मिक पर्यटन मेला सुरु भएको छ । आइतबार सुरु मेला तीन दिनसम्म चल्नेछ । पहिलो दिन ५० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकको सहभागी भएको मेला आयोजक समितिले जनाएको छ । 

२ हजार ८ सय मिटरको उचाइमा रहेको मन्दिरमा आएर दर्शन गर्दा चिताएको मनोकामना पूरा हुने जनविश्वास छ । गुराँस जंगलबीचमा रहेको मन्दिरमा दर्शन गर्न र गुराँसे जंगलमा वनभोज खान आउनेहरूका कारण सातायतादेखि नै वसन्तपुरदेखि तीनजुरे मन्दिरसम्मको क्षेत्रमा भीड बढेको छ ।


मेला भर्न र दर्शन गर्नका लागि भारतको बिहार, दार्जीलिङ, विराटनगर, धरान, इटहरी, झापालगायत क्षेत्रका दर्शनार्थीको बाक्लो उपस्थिती छ । मेलामा पूर्वी पहाडी जिल्ला तेह्रथुमसहित संखुवासभा, धनकुटा, भोजपुर लगायत पहाडी जिल्लाका आन्तरिक पर्यटकको भीड छ ।


मेलामा विभिन्न क्षेत्रका आगन्तुक भेला भएको मन्दिर व्यवस्थापन समितिका सचिव छत्रबहादुर कार्कीले बताए । तीनजुरे क्षेत्रमा पर्यटकको चाप अत्यधिक बढेकाले सुरक्षाकर्मीको संख्या समेत थपिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । मन्दिरमा मेला भर्न आउनेहरूका कारण बसन्तपुर, टुटे, देउराली, डाँडपानी, घुर्मिसे, पाँचपोखरी, चौकी, मंगलबारे, कालापानी, चित्रे, पटेकडाँडा र गुफा बजारका सबैजसो होटल भरिभराउ भएका छन् ।


मेलाको पहिलो दिन ५० लाख बढीको आर्थिक कारोबार भएको मेला अयाोजक समितिले जनाएको छ । आन्तरिक पर्यटक बाक्लिएकाले वसन्तपुरदेखि गुफा बजारसम्मका सवै जसो होटल भरीभराउ भएका छन् । आगामी एक सातासम्मका लागि होटलका सवै कोठा बुक भैसकेको होटल याकका सञ्चालक पेम्वाछिरिङ भोटियाले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?