टोलटोलमा स्ट्रेचर

कान्तिपुर संवाददाता

संखुवासभा — सिलिचोङ गाउँपालिका मांतेवाका जयकुमार राई गाउँमै बिरामी बोक्ने स्ट्रेचर राख्न पाउँदा खुसी छन् । आफन्त बिरामी परे सदरमुकामसम्म डोकामा ल्याएर उपचार गरिरहेका यहाँका स्थानीय अहिले ढुक्क बनेका छन् । 

संखुवासभा सिलिचोङ गाउँपालिकाको बुधबारे बजारमा स्ट्रेचर लिन भेला भएका स्थानीय ।तस्बिर : दीपेन्द्र शाक्य/कान्तिपुर

दुर्गम सिलिचोङमा जनस्तरबाट रकम संकलन गरेर १ सय ३८ स्ट्रेचर खरिद गरी वितरण गरिएको छ । ‘प्राथमिक उपचार गर्नसमेत एक दिन धाएर ताम्कु केन्द्र आउनुपर्ने बाध्यता थियो,’ जयकुमारले भने, ‘डोकामा बोकाएर बिरामी लैजानु परिरहेको थियो । हातखुट्टा भाँच्चिएका बिरामीलाई डोकामा लैजान समस्या थियो ।’ सदरमुकाम खाँदबारीसम्म पुग्नलाई अर्को एक दिन हिँड्नुपर्छ । सीधा सडक सञ्जाल जोडिएको छैन । यही समस्या देखर स्थानीय युवाले रकम संकलन गरेर स्ट्रेचर संकलन गरेका हुन् ।

Citizen

बुधबारे बजारमा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्ट्रेचर वितरण गरे । सिलिचोङमा स्वास्थ्यसेवा पुर्‍याउन उनले सहयोग गरेका थिए । नैतिक, भौतिक र सकेको आर्थिक सहयोग गरेको पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङले बताए । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु भए पनि गाउँपालिकाभित्रका पाँचवटै वडाका सर्वसाधारणलाई पायक पर्ने बुधबारे बजारमा कार्यक्रमको आयोजना गरेर वितरण गरिएको हो ।

गाउँपालिकाभित्रका पाँच वडाअन्तर्गत प्रत्येक टोलमा एक–एकवटा स्ट्रेचर वितरण गरिएको बृहत् स्ट्रेचर अभियानका अध्यक्ष संयोगान्त कुलुङले बताए। तीन महिनाको अवधिमा संकलन भएको साढे आठ लाखबाट स्ट्रेचर खरिद गरेर गाउँमा वितरण गरेका हौं, उनले भने, सडक सञ्जाल नहुँदा बिरामीलाई उपचारका लागि सहरका अस्पतालसम्म लैजान असहज थियो ।

अब स्ट्रेचरमा राखेर गाउँलेले सहजै स्वास्थ्य केन्द्र लैजान सक्ने छन् । बृहत् स्ट्रेचर अभियान वितरण कार्यक्रममा समितिको तर्फबाट १ सय २३ थान र पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको विशेष पहलमा स्वास्थ्य मन्त्रालयबाट १५ थान संकलन भएको थियो । गुरुङले दश हजार १ सय १५ रुपैयाँ व्यक्तिगत सहयोग गरे ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले काठमाडौं बस्दै आएकासँग अभियान सञ्चालन गर्ने विषयमा छलफल सुरु भएपछि अभियानले सफलता पाएको बताए । २० हजारभन्दा बढी जनसंख्या रहेको सिलिचोङको ताम्कुमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर, कहिले औषधि त कहिले उपकरण अभाव हुन्छ ।

उपचारका लागि स्थानीयहरू खाँदबारी नै आउनुपर्छ । अरुण–३ जलविद्युत् परियोजनाले प्रभावित क्षेत्रलाई एम्बुलेन्स दिने भने पनि सडक नभएकाले सिलिचोङ गाउँपालिका यो अवसरबाट वञ्चित भयो ।

प्रकाशित : वैशाख ५, २०७६ ११:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गर्मीलाई चनाको सातु

बिहान र साँझको लस्सी व्यापारबाट दैनिक २ हजारभन्दा बढी आम्दानी हुन्छ
शिव पुरी

रौतहट — चन्द्रपुर ४ का अनील कार्कीलाई बिहान भ्याइनभ्याइ हुन्छ । चनाको सातुको पारखीहरू उनको ठेलामा एकाबिहानै पुग्छन् । गर्मीमा सातु पिउनेको भीड लाग्छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा उनको ठेला बिहानै पुगिसकेको हुन्छ । ठेलामा कागती, प्याजका दाना, खुर्सानी तयारी अवस्थामा राख्छन् । नुन, मसलाका स–साना बट्टा छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा चनाको सातु बेच्दै अनील कार्की । तस्बिर : शिव/कान्तिपुर

झट्ट हेर्दा चटपटे बेच्न लागेको जस्तो लाग्छ । यी परिकार राखेर सातु बनाउँछन् उनी । पिउँदा निकै स्वादिष्ट हुन्छ । गर्मीको समयमा सातुले स्वास्थ्यलाई फाइदा पुग्ने हुँदा यसका पारखी पहिलो रोजाइ यही हुन्छ । त्यसपछि उनलाई भ्याइनभ्याइ हुन्छ । कार्कीको दिनचर्या सातुबाट सुरु हुन्छ । उनको सातु लोकप्रिय छ ।

निकै मेहनत गरी सातु बनाउँछन् । ग्राहकले थपीथपी पिउँछन् । पिउँदा स्वादिष्ट हुने ग्राहकको भनाइ छ । मोरङको बयनगर गाउँबाट दुई दशकअघि चन्द्रनिगाहपुर आएका कार्कीले ठेलामा चनाको सातु बेच्न थालेकै ११ वर्ष पुगिसक्यो । सानो व्यवसाय गरेंछु भन्ने उनलाई कहिल्यै पछुतो भएन । हेर्दा सामान्य देखिए पनि उनको व्यापार ठूलो छ । बिहान सातु बेच्छन् । बेलुकी लस्सी ।

दुवै परिकार लोकप्रिय छन् । ‘सातुबाट बिहान एक हजारभन्दा बढी कमाउँछु,’ उनले भने, ‘लस्सीतबाट त्यहीअनुसारको आम्दानी हुन्छ ।’ पैसा कमाउन विदेश जानुपर्छ भन्ने सोचाइ गलत भएको कार्की बताउँछन् । ‘थोरै लगानीमा मेहनत गरे पैसा नेपालमै कमाउन सकिन्छ,’ उनले भने, ‘मानिसले ठेलाको व्यवसाय भन्छन् होला तर यसैबाट मनग्गे कमाएको छु ।’

उनले झण्डै ९ वर्षजति यहाँका लाइन होटलमा खाना पकाउने काम गरे । त्यसबाट सन्तुष्ट भएनन् । खाना पकाउने काम छाडेर पुरानो ठेला किनेर चनाको सातु बेच्न थाले । ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने उनले सोच बनाएका थिए । पछि यही पेसामा उनी रमाउन थाले । एक दशकको अवधिमा यहाँ नयाँ व्यापारिक पसल खुले । तर उनको ठेला फेरिएको छैन । त्यही ठेलाले उनको जीवन फेरिदिएको छ । समयअनुसारको व्यवसायमा रमाएको छ कार्की परिवार ।

बिहान सातु बेचेर दिउँसो राजमार्ग छेउमा त्यही ठेलामा विभिन्न प्रकारको खाजा पनि बनाउँछन् । त्यसपछि बचेको समयमा लस्सी बिक्री गर्छन् । साकाहारीखाजा खान उनको ठेलामा भीड लाग्छ ।

बिहान सातु पिउन स्थानीय रैथाने पारखीहरू ठेला खोज्दै पुग्छन् । स्वादअनुसारको सातु घोल्न लगाउँछन् । मुख मिठ्याउँदै बाटो लाग्छन् । गर्मी मौसममा उनको ठेला वरिपरि सातु पिउनेहरूको भीड देखिन्छ । सातु घोलेर ग्राहकलाई दिन भ्याइनभ्याइ हुन्छ । सातुका पारखीहरू स्वादअनुसार काँचो प्याज, कागतीको रस, मसला, बिरेनुन राख्न लगाउँछन् । दैनिक १० केजीभन्दा बढी सातु यही ठेलाबाट बिक्री हुन्छ । ‘उनको हातमा सातु बनाउने जादु नै छ,’ कार्कीका नियमित ग्राहक आशिष पर्साईँ भन्छन्, ‘जिम गरेर चोक आएपछि एक गिलास सातु नपिई सुखै छैन ।’ उनको बोली नम्र छ ।ग्राहकलाई लोभ्याउने कला छ ।

१० वर्षअघि तीन रुपैयाँ गिलासमा बिक्री हुन्थ्यो । अहिले ३० रुपैयाँ पुगेको छ । यहाँ राम्रो चनाको सातु पाइँदैन । भारतको बैरगनिया बजारका व्यापारीले घरमै चनाको सातु ल्याइदिन्छन् । एक पटकमा सय किलोसम्म किन्छन् । ठेलाको व्यापारमा उनकी श्रीमतीले सघाएकी छन् । दुवैजना बिहानदेखि बेलुकासम्म ठेलामै व्यस्त हुन्छन् । ग्राहकको हाउभाउ अनुसारको कुरा गर्न कार्की खप्पिस छन् । बसका यात्रुसमेत उनको सातु मन पराउँछन् । सातु बेचेरै करोडपति बनेका छन् । अहिले २ तले पक्की घर बनाइसके । गाउँमा केही जमिनसमेत जोडेका छन् ।

कार्कीका २ छोरामध्ये एउटाले १२ कक्षा उत्तीर्ण गरे । अर्कोले १० कक्षाको परीक्षा दिएर बसेका छन् । दुवैलाई राम्रै विद्यालय पढाए । आफूले पढ्न नपाए पनि छोरालाई पढाउन पाएकोमा उनलाई ठूलो सन्तुष्टि मिलेको छ । अहिले मासिक ५० हजारसम्म आम्दानी हुने गरेको उनले बताए । विदेश जान्छु भन्नेलाई राम्रो सल्लाह दिन्छन् । आफ्नै भूमिमा मेहनत गर्न सुझाव दिन्छन् । सानो पुँजी लगाएर मेहनत गर्नेलाई सम्मान र माया गर्नेको संख्या समाजमा थोरै छ ।

प्रकाशित : वैशाख ५, २०७६ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT