जिप दुर्घटनामा एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर
उदयपुर — उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
आइतबार राति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामसम्म जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ ।
बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिए ।
प्रकाशित : वैशाख ९, २०७६ ०७:५४