कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्नलाई निःशुल्क औषधि

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले सहयोग जुटाएर विपन्न बालबालिकाका लागि निःशुल्क रूपमा औषधि दिने गरेका छन् ।

प्रतिष्ठानको बालरोग विभागका विशेषज्ञ चिकित्सक असिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंहले विपन्न परिवारका बालबालिकाका लागि औषधि उपलब्ध गराउने गरेका छन् ।


उनले प्रतिष्ठानको बाल आकस्मिक कक्षमा बालबालिकालाई लक्षित गरी औषधिको स्टोर नै राखेका छन् । उनले भने, ‘प्रतिष्ठानमा पेइङ गरेबापत आएको रकमको २५ प्रतिशत र औषधि उत्पादक कम्पनीबाट सहयोगमा प्राप्त औषधि स्टोरमा छन् ।’ उनले ती औषधिहरू गरिब र असहाय बालबालिकाको उपचारमा मात्र प्रयोग गर्ने बताए ।


प्रतिष्ठानको बालरोग विभागमा नयाँ वर्ष ०७६ सुरु भएसँगै बाल आकस्मिक कक्षको छेउमा सानो ‘मेडिसिन स्टोर’ राखेका हुन् । नयाँ वर्षमा केही नयाँ कामको थालनी गरौं भनेर यसो गर्न थालेको बताए । उनले नाम कमाउन वा चर्चामा आउन यस्तो नगरेको बताए । उनले भने, ‘मलाई चर्चा कमाउनु छैन । उपचारका लागि आएका बालबालिका हेर्दैमा फुर्सद छैन । दाम कमाउन चाहेको भए निजी हस्पिटलमा गइसक्थें । प्रतिष्ठानले जति तलब सुविधा दिएको छ त्यसैमा चित्त बुझाएको छु ।’


जनकपुर स्थायी घर भएर चार वर्षदेखि प्रतिष्ठानमा कार्यरत उनले भने, ‘रोग लागेर कतिपय अभिभावकले आफ्ना नानीहरू अस्पतालमा ल्याउँछन् तर चिकित्कले जाँच गरिसकेपछि लेखिदिएको प्रेस्क्रिप्सनअनुसारको औषधि किन्न नसक्नेहरू मैले धेरै देखें । त्यस्ता विपन्नका लागि मात्र हो यो मेडिसिन स्टोर ।’


उनले बढ्दो जनसंख्या र बिरामीसँगै औषधिको मूल्य पनि दिनदिनै महँगिँदै गएको अवस्थामा आर्थिक सम्पन्न परिवारका बालबालिकाले सहजै उपचार सेवा पाए पनि सुकुम्बासी, सडक बालबालिका, अनाथ टुहुरा बालबालिकाका लागि भने कुनै व्यवस्था नभएकाले एक्लो प्रयासमा मानवीय सेवाका लागि निःशुल्क औषधि वितरण गर्ने प्रयास गरेको बताए ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?