बर्सेनि सताउँदै त्रियुगा नदी
उदयपुर — त्रियुगा नदीका कारण जिल्लाको आधा भाग बर्सेनि प्रभावित हुन्छ । नदीमा आउने बाढीले सयौं परिवार विस्थापित भइसकेका छन् । बाढीले आसपासका ठूलो क्षेत्रफल खेतीयोग्य जमिनलाई बगर बनाएको छ ।
पहिले ३० बिघाभन्दा बढी धान फल्ने खेत भएकाहरू अहिले सुकुम्बासी भएका छन् । उनीहरू जंगल अतिक्रमण गरेर बसेका छन् । वनबाट दाउरा काटेर बिक्री गर्नुबाहेक अन्य विकल्प उनीहरूको छैन । उदयपुरका ८ स्थानीय तहमध्ये झन्डै आधा भूभाग त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाले ओगटेको छ ।
त्रियुगा नगरपालिकको शिरदेखि सुरु भएको त्रियुगा नदी सदरमुकाम गाईघाट हुँदै चौदण्डीगढीको मध्य भाग भएर नगरपालिकासम्म बगेको छ । मुख्य अन्नबाली हुने ठूलो क्षेत्रफल भएको जग्गा पनि यी ३ नगरपालिका नै हुन । ती क्षेत्रका ७५ प्रतिशत भूभागलाई त्रियुगा नदीले क्षति पुयाएको छ । त्रियुगाका कारण चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका ५ हजार जग्गा धनीमध्ये अधिकांशको जग्गामा अहिले खोला कुदिरहेको छ ।
सुरुमा कटानले प्रभाव पारेका जग्गा अहिले बालुवाले पुरिएको छ । जग्गा कटान र बालुवाले पुरी दिएपछि छेदिलाल चौधरी, ललकु चौधरी, मिश्रीलाल, मगलु चौधरी लगायतका दुई दर्जनभन्दा बढी जमिनदारका परिवार अचेल गुजाराका लागि थातथलो छाडेर हिँडेका छन् ।
यी जमिनदारको त्रियुगा धारमा एकजनाको ३० विघाभन्दा बढी राम्रो अन्नबाली उत्पादन हुने खेत थियो । तर अहिले उनीहरूका सन्तानको एक बिघा पनि खेत नहुँदा गुजाराका लागि थातथलो छोडेर हिँडेको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।
‘३० बिघाभन्दा बढी खेतीयोग्य जमिन भएकाहरूको अहिले एक बिघा पनि छैन’ वडाध्यक्ष चौधरीले भने, ‘श्रेस्तामा अहिले पनि ३० विघा जग्गा छ, तर मुस्किलले एक बिघामा खेती हुन्छ ।’ नदीबाट उकास हुन्छ कि भनेर बर्सेनि ३० बिघा जग्गाको मालपोत तिरे पनि अहिलेसम्म अवस्था उस्तै रहेको उनले बताए । ३० विघा जग्गा खोलाले बगाएपछि अहिले धेरै युवा गुजाराका लागि काठमाडौदेखि भारतको पन्जाबसम्म मजदुरी गर्न पुगेका छन् । वैदेशी रोजगारमा जानेको संख्या पनि उस्तै रहेको स्थानीयले बताए ।
राणाशासनका बेला बनेको चन्द्रनहरका कारणले पनि जोखिम बढेको हो । किसानको हितमा नहर बने पनि नहरकै कारण उदयपुरका किसानको हजारौं हेक्टर खेतीयोग्य जमिन बालुवामा परिणत हुँदा उनीहरू पीडित भएका हुन । त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिकाका किसानको धान फल्ने खेत बगरमा परिणत भएको छ । छिमेकी सप्तरी जिल्लाका सप्तकोसी, कंचनरुप, राजविराज नगरपालिकाका किसान भने चन्द्रनहरबाटै सिँचाइ गरेर गहुँ र धान उत्पादन गरेर उकासिएका छन् ।
नदीको सतह बर्षेनी बढ्दै जाँदा खेतबारी पुरिदै गएको छ । बढ्दो वन विनाशसँगै चुरे र महाभारत पहाडबाट बग्ने खोला खहरेले बालुवा बगाउँदा त्रियुगा नदीको सतह बढेको हो । त्रियुगाका सहायक मानिने खोला खहरले बगाएर ल्याएको माटो र बालुवाले नदीको तल्लो तटीय क्षेत्र सुन्दपुर, हडिया र तपेश्वरीको हजारौं हेक्टर खेतीयोग्य जमिन पुरिएको छ ।
जसका कारण उदयपुरको अन्न भण्डारको मानिने यो क्षेत्र बढी प्रभावित भएको छ । चन्द्र नहरमा नदीले माथिबाट बगाएर ल्याएको बालुवा र माटोका लेदो सहजै बगेर जाने गरी ढोका छैन । त्यसैले माथिबाट बगेर आउको बालुवा र माटोको लेदो रोकिदिँदा त्रियुगा नदीको सतह बर्सेनि बढ्दै गएको छ ।
खेतबारी पुरिदा र कटान हुदाँ वर्षमा ३ महिना बाहेकका खरिद गरेर अन्नपात जोरजाम गर्नु परेको छ । नदिकै कारण हजारभन्दा बढी परिवार विस्थापित भएको स्थानीय तहको तथ्यांकले देखाउँछ । सयौ किसान नदीकै कारण अहिले पनि वन क्षेक्र अतित्रमण गरेर बसेका छन् । नदी नियन्त्रण गर्न ठोस योजना बनाउन नसक्दाँ बर्सेनि किसना सुकुम्बासी बन्दै जाँदा वन अतिक्रमण पनि बढ्दै गएको सरोकारवालाले बताए ।
त्रियुगा नदीबाट विस्थापितहरू चौदण्डीगढी नगरपालिका ५ को जुटपानी, धामीचाप, टोकनीलगायत चुरे वन क्षक्रेमा अतित्रमण गरेर बसेका छन् । झन्डै १ हजार १ सय ५० परिवार जंगल क्षेक्र अतित्रमण गरेर बसोबास गरिरहेको वडा कार्यालयले जनाएको छ ।
चुरे वन विनाशसँगै वर्षात्मा हुने भूक्षयले खहरेमा पानीको साटो लेदो र बालुवा बग्ने गरेको पूर्वजनप्रतिनिधि राधाकृष्ण प्रसाईंले बताए । ‘भएको खेतबारी नदिले ल्याएको बालुवाले पुरी दिएपछि झन्डै यस क्षेत्रका ७० प्रतिशत किसान ज्याल मजदुरी गरेर गुजारा गरिरहेका छन्,’ उनले भने, ‘माथिल्लो चुरे क्षेत्रबाट झरेका खहरे खोलाले बस्ती र तल्लो क्षेत्रको त्रियुगाले खेत पुरेपछि किसान ज्याल मजदुरी गर्न बाध्य भएका छन् ।’ अचेल चौदण्डीगढी, बेलका र त्रियुगा नगरमा मजदुरी गर्ने ९० प्रतिशत मजदुर पहिले जग्गाको मालिक रहेको उनको भनाइ छ ।
चौदण्डीगढी नगरपालिकाको ५ नम्वर वडामात्रै ५ हजार ७ सय जग्गाधनीले मालपोत बुझाउने गरेका छन् । तीमध्ये ७० प्रतिशतको खेतमा अहिले त्रियुगाको बालुवामात्रै छ । अन्न उब्जनी नगरेको झन्डै २० वर्ष भएको किसानले बताए । लेदो र बालुवाले पुरिँदै जाँदा गाईघाट, जोगिदह, हडिया र सुन्दरपुरमा हजारौं हेक्टर खेत पुरिएको छ । यस्तै अवस्था रहेमा अन्न उत्पादनमात्रै होइन यस क्षेत्रको बस्तीको समेत अस्तित्व मासिने तत्कालीन गाविसका पूर्वउपाध्यक्षसमेत रहेका प्रसाईँले बताए ।
नियन्त्रण प्रयास
नदी नियन्त्रणको अल्पकालीन प्रयास भए पनि अहिलेसम्म दीर्घकालीन योजना बन्न सकेको छैन । हाल आएर बृहत् त्रियुगा नदी नियन्त्रण गुरु योजना बनेको छ । त्यसका लागि सरकारले बजेटको व्यवस्था गरी काम अगाडि बढाउने बताए पनि चैत बित्न लाग्दा पनि काम सुरु भएको छैन ।
क्रमागत योजनामा नदी नियन्त्रणको काम हुने भनिएको छ । तर यसअघि पनि जलउत्पन प्रकोपले मोटो रकम खर्चेको थियो । तर अवस्था उस्तै छ । त्रियुगा नदी नियन्त्रणका लागि कस्ले कति खर्च गर्यो भन्ने अहिलेसम्म लेखाजोखा छैन ।
भारतीय दूतावासको सहयोगमा नदी नियन्त्रणका लागि पटक पटक खर्च गरिएको छ । दूतावासले सुरुमा ३ करोडभन्दा बढी खर्चेको जिल्ला समन्वय समितिको रेकर्डमा उल्लेख छ ।
त्यसैगरी जलउत्पन प्रकोप नियन्त्रणले ५ करोड खर्चेको देखिए पनि अहिले त्यसबाट भएको कामको नामनिसान छैन । यसैबीच सरकराले त्रियुगा रिभर ट्रेनिङ वर्क्स नामको आयोजनामार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढाएको छ । त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरुयोजना तयार पारेर काम अघि बढाएको हो ।
त्रियुगा नदी एकीकृत विकास परियोजनाअन्तर्गत नदी नियन्त्रणका लागि त्रियुगा नगरपालिका ७ कालीखोलाको तोरीबारीदेखि बेलका नगरपालिका २ सप्तकोशी दोभानसम्म (त्रियुगाको शिरदेखि तीर) सम्म ४२ दशमलव ५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिंचाइ, विद्युत र खानेपानी सुविधाजस्ता बहुउपयोगी उपलब्धि हासिल गर्न डीपीआर निर्माण गरी काम थालिएको हो ।
नदीको कालीखोला देखि तपेश्वरीसम्म ४२ दहमलव ५ किलोमिटर दुवै किनारामा ८५ किलोमिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डीपीआर निर्माण गरी स्वीकृत भइसकेको छ । खाँडो नदि व्यवस्थापन आयोजनाले तयार पारेको डिपिआरमा त्रियुगा नदि नियन्त्रणका लागि करिब ६ अरब ८४ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
डीपीआर निर्माण तथा स्वीकृतपछि त्रियुगा नदी नियन्त्रणका लागि यस वर्ष १० करोड रुपैयाँ विनियोजन भएको छ । डीपीआर निर्माणपछि त्रियुगा नदी नियन्त्रण आयोजना राष्ट्रिय योजनामा परेकाले आगामी वर्षदेखि बृहत् रूपमा काम हुने त्रियुगा नदी नियन्त्रण आयोजनाका डिभिजन इन्जिनियर विष्णुदेव यादवले बताए ।
सरकारले १० वर्षभित्र त्रियुगा नदी नियन्त्रण गरिसक्ने लक्ष्य लिएको छ । अहिले तयार गरिएको डीपीआरमा ५० वर्ष पछिसम्म बाढीलाई थेग्न सक्ने क्षमता रहेको इन्जिनियर यादवले बताए । त्रियुगामा मिसिने सहायक खोलाको ३० किलोमिटर काम गरिने डीपीआरमा उल्लेख गरिएको छ । त्रियुगाको कालीखोलामा २ सय ८२ मिटरको चौडाइमा खोला हुनेछ भने तीरमा ७ सय ५ मिटर चौडाइको खोला हुने छ । बाँधको उचाइ भने ९ मिटरको हुने डीपीआरमा उल्लेख छ ।
डीपीआरका अनुसार नदिको भुइँमा १७ मिटर चौडाइको बाँध निर्माण हुने उल्लेख गरिएको छ । बाँध निर्माणपछि नदीको दुवैतर्फ ग्राबेल सडक हुने छ । तर अहिले तयार भएको गुरु योजनाले पनि नदीको दीर्घकालीन समाधान हुनेमा विश्वास गर्न नसकिने प्रदेश न १ संसदका सदस्य विमल कार्कीले वताए ।
‘अहिले तयार गरिएको गुरुयोजनाअनुसार नै नदी नियन्त्रण गर्ने सर्वप्रथम त ढुगा नै पुग्दैन,’ सदस्य कार्कीले भने, ‘त्रियुगा, वरुवा र अन्य खोलामा भएको ढुगा पहिले नै सकियो ।’ अब तटबन्धका लागि आवश्यक पर्ने ढुगा कहाँबाट ल्याउने ? त्यसैले यसको विकल्पमा बायो इन्जिनियर र बेलुन बाँधको अवधारणा लाउनुपर्ने उनले सुझाए ।
प्रकाशित : वैशाख ९, २०७६ ०९:१४